बैंकिङ क्षेत्रमा प्रोफेसनलको बढ्दो सहभागिताः कार्यकारी तहबाट अवकाश पाएपछि नीति निर्माणमा

  २०७८ असार ८ गते १३:०९     विकासन्युज

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रले सही गति समाएको छ । कुनै बेला बैंकको उच्च व्यवस्थापन तहमा पनि कोर बैंकिङको अनुभव हासिल गरेका व्यक्तिहरु भेट्टाउन कठिन हुन्थ्यो । तर, अहिले संचालक समितिमा बैंकको उच्च व्यवस्थापन तहबाट धेरै वर्षको अनुभव हासिल गरेका व्यक्तिहरु सहभागी हुने क्रम बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनको नेतृत्व गरिसकेका तथा उच्च व्यवस्थापन तहमा बसेर काम गरिरहेका व्यक्तिहरु अहिले विभिन्न बैंकहरुको संचालक समिति सदस्य तथा अध्यक्ष बन्न थालेका छन् । उमेरका कारण बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका व्यक्तिहरु अहिले बैंकमा संचालक समिति अध्यक्ष तथा सदस्य बन्न थालेका हुन् ।

उच्च व्यवस्थापन तहमा बसेर दैनिक बैंकिङ गतिविधिमा संलग्न बैंकरहरु बैंक संचालक समितिमा पुगेर नीति निर्माण कार्यमा संलग्न हुँदा त्यसले बैंकिङ क्षेत्रलाई नै सकारात्मक योगदान पुग्ने पूर्व बैंकर पर्शुराम कुँबर क्षेत्री बताउँछन् ।

‘बैंकको उच्च व्यवस्थापन तहमा बसेर काम गरिसकेको व्यक्तिले व्यवसाय पनि बुझेको हुन्छ र सिद्धान्त पनि बुझेको हुन्छ, यसो हुँदा व्यवस्थापनलाई बोर्ड कन्भिन्स गर्न पनि सहज हुन्छ, बैंकले राम्रो र छिटो निर्णय गर्न सक्ने सम्भावना रहन्छ,’ पूर्व बैंकर क्षेत्रीले विकासन्युजसँग भने ।

उनले विकसित देशहरुमा बैंकको उच्च व्यवस्थापन तहबाट अवकाश पाएका व्यक्तिहरुलाई राम्रो सेवा सुविधा दिएर बैंकको संचालक समितिमा लाने गरेको उदाहरण पनि सुनाए ।

‘केही समयअघि भारतको एसबीआई बैंकका पूर्व कार्यकारी अध्यक्षलाई धेरै सेवा सुविधा दिने गरी स्ट्याण्डर्ड चार्टर्ड बैंक ग्रुपले संचालक समिति सदस्य बनाएको थियो, बैंकको उच्च व्यवस्थापनबाट अवकाश पाएपछि अर्काे बैंकको संचालक समितिमा गएका यस्ता उदाहरण धेरै छन्, हाम्रो देशमा पनि पछिल्लो समय बैंकको उच्च व्यवस्थापन तहबाट अवकाश पाएका व्यक्तिहरु बैंकको संचालक समितिमा जाने क्रम बढेको छ, यो राम्रो कुरा हो,’ क्षेत्रीले थपे ।

ज्ञान र अनुभव दुबै भएका बैकर्सहरु सञ्चालक समितिमा बसेर नीति बनाउँदा ती नीति बढी प्रभावकारी र नतिजामूखी हुने सिजिटन्स बैंक इन्टरनेशनल नेपालका सञ्चालक समिति सदस्य अनिल ज्ञवाली बताउँछन् ।

‘बैंकको सञ्चालकमा कलेजको प्राध्यापक तथा अर्थविद्हरु विज्ञ सदस्य भएर आउने अभ्यास छ, उहाँहरुमा सैद्धान्तिक ज्ञान राम्रो हुन्छ, लगानीकर्तामा व्यवसायिक ज्ञान राम्रो हुन्छ, २÷३ दशक बैंक अपरेशनमा बसेका बैंकर्सलाई अपरेशन, रेगुशेलन, विजनेश सबैको ज्ञान हुन्छ, तीनै थरी मानिसहरुको प्रतिनिधित्व भएको सञ्चालक समितिले राम्रो नतिजा दिन सक्छ’ विभिन्न बैंकमा प्रमुख कार्यकारी अधिकृत भई अनुभव समालेका ज्ञवालीले भने ।

कुन बैंकको संचालकमा को छन् पूर्व बैंकर ?

नविल बैंक

नविल बैंकमा अध्यक्ष उपेन्द्र पौड्याल, मलय मुखर्जी, उदय कृष्ण श्रेष्ठ, आशा राणा अधिकारी पूर्व बैंकर्स हुन् । ६१ बर्षीय उपेन्द्र पौड्याल सन् १९८६ देखि २००० सम्म स्ट्यान्डर्ड चार्टर्ड बैंक (नेपाल) मा काम गरेका थिए । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरेका पौड्यालसँग बैंकिङ्ग तथा परियोजना लगानी र अन्तर्राष्ट्रिय बैंकिङ्गका सबै पक्षहरुको ज्ञान छ । उनी नेपाल बैंकर्स एसोसिएसनको पूर्व अध्यक्ष पनि हुन् । पौड्यालले अहिले नबिल बैंक संचालक समितिको अध्यक्षको जिम्मेवारी वहन गरिरहेका छन् ।

६४ वर्षीय मलय मुखर्जी कर्जा विश्लेषण, जोखिम व्यवस्थापन र प्रविधि विकासको क्षेत्रमा ज्ञान हासिल गरेका बरिष्ठ बैंकिङ्ग कार्यकारी हुन् । उनी आइएफसिआई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक र आइएफसिआई अन्तर्गतका विभिन्न कम्पनीहरुको अध्यक्ष थिए । उनी सेप्टेम्बर २०१२ देखि डिसेम्बर २०१३ सम्म भारतको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया) को कार्यकारी निर्देशक पनि थिए । उनी अहिले नविल बैंकको संचालक समिति सदस्य छन् ।

नविल बैंकमा कुमारी बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्याय, सनराइज बैंकमा कामु सीईओ भएको आशा राणा अधिकारी पनि सञ्चालक समिति सदस्य छन् । नविल बैंकको सञ्चालक समितिमा पूर्व गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठ, पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धर, पूर्व बैंकर्स शम्भु पौडेल लगायत लामो समय बैकिङ क्षेत्रमा काम गरेका व्यक्तिहरुले पनि धेरै समय काम गरेका थिए । प्रोफशनल बैंकहरुहरु निरन्तर सञ्चालक समितिमा रहेकोले पनि यो बैंकले राम्रो गर्न सकेको जानकारहरु बताउँछन् ।

ग्लोबल आइएमई बैंक

प्रोफेशनल सञ्चालकलाई महत्व दिएर नयाँ तरिकाबाट अगाडि बढिरहेको देखिन्छ ग्लोबल आईएमई बैंक पनि । यसमा भेट्रान बैंकर्सहरु देवेन्द्रप्रताव शाह, कृष्णप्रसाद शर्मा, सुदर्शन कृष्ण श्रेष्ठ सञ्चालक समितिमा छन् ।

ग्लोबल आईएमई बैंकको संचालक समिति सदस्य कृष्णप्रसाद शर्मासँग बैंकिङ क्षेत्रमा ३२ वर्षभन्दा बढीको अनुभव छ । उनले राष्ट्रिय वाणिज्य बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका हुन् । उनीसँग नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कर्मचारी संचयकोष, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, कर्जा सुचना केन्द्र, कर्जा तथा निक्षेप सुरक्षण कम्पनी जस्ता कम्पनीको संचालक समिति सदस्यको अनुभव छ ।

देवेन्द्र प्रताप शाह बैंकिङ क्षेत्रमा ३५ वर्षभन्दा बढीको अनुभव भएका चार्डर्ट एकाउन्टेन्ट हुन् । कृषि विकास बैंक र नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरिसकेका शाह बीमा क्षेत्रको नियामक नियका बीमा समितिका पूर्व कार्यकारी अध्यक्षको पनि अनुभव हासिल गरेका व्यक्ति हुन् । त्यस्तै,
ग्लोबल आईएमई बैंकको संचालक समिति सदस्य सुदर्शन कृष्ण श्रेष्ठसँग बैंकिङ क्षेत्रको ३० वर्षभन्दा लामो अनुभव छ ।

एनसीसी बैंक

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको संचालक समिति सदस्य राजाराम खड्का बैंकिङ क्षेत्रको लामो अनुभव हासिल गरेका व्यक्ति हुन् । खड्कासँग राष्ट्रियस्तरको विकास बैंक तत्कालिन इन्फ्रास्टक्चर डेभलपमेन्ट (आईडी) बैंकको प्रमुख कार्यकारी अधिकृतको अनुभव पनि छ ।

बैंक अफ काठमाण्डू

यस बैंकको सञ्चालक समिति सदस्यमा बैंक अफ काठमाण्डूकै पूर्व प्रमुख कार्यकारी अधिकृतको अनुभव हासिल गरेका राधेश पन्त रहेका छन् । उनले कुमारी बैंकको पनि पूर्व प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरेका थिए । बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव भएका पन्त लगानी बोर्डको पूर्व प्रमुख कार्यकारी अधिकृतको पनि हुन् ।

सिटिजन्स बैंक इन्टरनेसनल

सिटिजन्स बैंक इन्टरनेसनलको संचालक समितिको नेतृत्व राजनसिंह भण्डारीले संहालेका छन् । ६० वर्षीय भण्डारी वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) बाट अवकाश पाएका भण्डारी सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक प्रमुख कार्यकारी अधिकृत पनि हुन् । नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका भण्डारी अहिले सिटिजन्स बैंकको संचालक समिति अध्यक्ष छन् ।

अनिल ज्ञवाली अहिले सिटिजन्स बैंकको संचालक समिति सदस्य छन् । उनीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षभन्दा बढीको अनुभव छ । ग्लोबल आईएमई बैंक र नविल बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत तथा विदेशमा पनि बैंकिङको अनुभव ज्ञवालीसँग छ । उनी इन्फ्रास्टक्चर बैंकको पनि पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।

हिमालयन बैंक

हिमायलयन बैंकको संचालक समितिमा लामो समयदेखि नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर राणाको उपस्थिति छ । हिमालयन बैंकको संचालक समितिमा रहेका राणा नेपालले मात्रै होइन, अन्तराष्ट्रिय क्षेत्रले पनि सम्मान गर्ने व्यक्तित्व हुन् । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर (वि.सं. २०१३ साल) हिमालय शमशेर राणा हिमालयन बैंकको संचालक समितिको मुख्य सल्लाहकार छन् ।

हविब बैंक अफ पाकिस्तानको प्रतिनिधिका रुपमा हिमालयन बैंकको संचालक समिति सदस्य रहेका फैसल ललानीसँग पाकिस्तानी बैंकिङ क्षेत्रमा लामो अनुभव छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाली बैंकिङ क्षेत्रमा ४० वर्षभन्दा बढी समयको अनुभव हासिल गरेका पृथ्बीबहादुर पाँडेले नेपाल राष्ट्र बैंकबाट बैंकिङ क्षेत्रको कार्य आरम्भ गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट पाँडे राष्ट्र बैंकको जागिर छोडेर राष्ट्रिय वाणिज्य बैंकको महाप्रबन्धक बनेका थिए भने हिमालयन बैंकको स्थापनापछि सो बैंकको कार्यकारी निर्देशक बनेका थिए । आफ्नै पहलमा तत्कालिन नेपाल इन्डोस्वेज बैंकको विदेशी सेयर खरिद गरेर नेपाल इन्भेष्टमेन्ट बैंकमा हात हालेका पाँडे लामो समयसम्म सो बैंकको कार्यकारी अध्यक्ष बने । अहिले पनि पाँडे सो बैंकको संचालक समिति अध्यक्षको जिम्मेवारीमा छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको संचालक समिति सदस्य रहेका विकास थापासँग नेपाली बैंकिङ क्षेत्रको १८ वर्षभन्दा लामो अनुभव छ ।

प्रभु बैंक

नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय काम गरेका लिलाप्रकाश सिटौला राष्ट्र बैंकको कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) बाट अवकाश पाएका व्यक्ति हुन् । उनी राष्ट्र बैंकबाट बाहिरिएपछि कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि पूरा गरिसकेका व्यक्ति हुन् । सिटौला अहिले प्रभु बैंक संचालक समितिको अध्यक्ष छन् ।

प्रभु बैंककै संचालक समिति सदस्य रमेशसिंह खड्काले सरकारी लगानी पनि रहेको कृषि विकास बैंकमा ३१ वर्षभन्दा बढी समय काम गरेको अनुभव हासिल गरेका छन् । उनले समृद्धि विकास बैंकमा साढे १ वर्ष काम गरेका थिए ।

शंकर प्रसाद कालिकोटेले बैंकिङ क्षेत्रको लामो अनुभव हासिल गरेका छन् । उनी तत्कालिन नेपाल विकास बैंकको १० वर्ष जति डेपुटी म्यानेजर भएका थिए भने भिवोर क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको अनुभव पनि उनीसँग छ । उनी अहिले प्रभु बैंकको संचालक समिति सदस्य छन् ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेका ऋषिराम गौतम राष्ट्र बैंकबाट कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) बाट अवकाश पाएका व्यक्ति हुन् । उनले नागरिक लगानी कोषको कार्यकारी निर्देशकको अनुभव पनि हासिल गरेका छन् । गौतम अहिले प्रभु बैंक संचालक समितिको सदस्य छन् ।

प्रभु बैंकको संचालक समिति सदस्य अञ्जु अधिकारीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेकी छन् । अधिकारी विगत २ वर्षदेखि प्रभु बैंकको संचालक छन् ।

सिद्धार्थ बैंक

मिनाकुमारी सैंजुसँग बैंकिङ क्षेत्रको ३० वर्षभन्दा बढीको अनुभव छ । उनी नेपाल बैंकको डेपुटी जनरल म्यानेजर पदबाट अवकाश पाएकी व्यक्ति हुन् । सैंजुसँग पश्चिमाञ्चल ग्रामीण विकास बैंक, नागरिक लघुवित्त वित्तीय संस्था र जनता बैंक संचालक समिति सदस्य बनेको अनुभव पनि छ । सैंजु अहिले सिद्धार्थ बैंक संचालक समिति सदस्य छन् ।

मेगा बैंक

शिवादेवी काफ्ले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर निर्देशक पदबाट अवकाश पाएकी व्यक्ति हुन् । उनीसँग राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरेको अनुभव पनि छ । उनी राष्ट्रिय वाणिज्य बैंकको संचालक समिति सदस्य पनि भइसकेकी व्यक्ति हुन् । काफ्ले अहिले मेगा बैंकको संचालक समिति सदस्य छन् ।

कृषि विकास बैंक

लक्ष्मी प्रपन्न निरौला नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) बाट अवकाश पाएका व्यक्ति हुन् । उनले राष्ट्र बैंकमा ३० वर्ष सेवा गरेका छन् । उनी अहिले कृषि विकास बैंक संचालक समिति अध्यक्ष छन् ।

विनोदकुमार गुरागाँईं नेपाल बैंकबाट अवकाश पाएका पूर्व बैंकर हुन् । उनले युवा स्वरोजगार कोषको कार्यकारी निर्देशकको अनुभव पनि हासिल गरिसकेका छन् । उनी अहिले कृषि विकास बैंक संचालक समिति सदस्य छन् ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकको संचालक समिति सदस्यको जिम्मेवारी वहन गरिरहेकी रोमिला ढकाल उप्रेती एभरेष्ट बैंकमा २० वर्षभन्दा बढी सयम काम गरेको अनुभव प्राप्त गरेकी बैंकर हुन् । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक संचालक समितिमा निजी क्षेत्रको बैंकमा लामो अनुभव हासिल गरिसकेकी रोमिला ढकाल उप्रेती संचालक समिति सदस्यको रुपमा कार्यरत छन् ।

लक्ष्मी बैंक

नेपाल राष्ट्र बैंकबाट अवकाश पाएका रमण नेपाल अहिले लक्ष्मी बैंकको संचालक समिति अध्यक्ष छन् । उनी नागरिक लगानी कोषको कार्यकारी निर्देशक पनि हुन् । नेपालसँग बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकको संचालक समिति सदस्य मुकुन्द महत नेपाल राष्ट्र बैंकको निर्देशक पदबाट अवकाश पाएका व्यक्ति हुन् । चार्टर्ड एकाउन्टेन्ट महतसँग राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.