चीन र भारतसँग सीमाना जोडिएका पालिकाहरु कोभिड नियन्त्रण र रोकथाम कसरी गर्दैछन् ?

  २०७८ असार ८ गते १२:११     राजिव न्यौपाने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले अहिले विश्व नै आक्रान्त छ । नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसका विरुद्ध लड्न संसार एकजुट भएको छ । विभिन्न देशले लकडाउन गर्ने तथा अन्य विशेष सावधानी अपनाउँदै आएका छन् ।

कोभिडको महामारी अझै न्यूनीकरण हुन नसक्दा अन्य नयाँ रोग पत्ता लागेको पनि हामी सुनिरहेका छौं । दोस्रो लहरको कोरोना भाइरसले त यो अवस्था पुर्यायो छ झन् तेस्रो लहर पनि आयो भने त्यसको क्षति अनुमान गरेभन्दा भयावह हुने आकलन स्वास्थ्य विज्ञले गरेका छन् ।

कोरोना विरुद्धको खोप पत्ता लागिसकेपनि आवश्यकता अनुसार उत्पादन हुन नसक्दा धेरै मानिसहरूको मृत्यु भइसकेको छ । विश्वमा हालसम्म ३८ लाख ८८ हजार ८ सय ९४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि समुदायस्तरमा कोरोना भाइरसको महामारी व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । मुलुक निषेधाज्ञामा छ । पछिल्लो समयमा संक्रमितहरू संख्या कम भएको आभाष छ । तर, परीक्षणको दायरालाई पनि घटाइँदै गएको छ ।

सङ्घीय र प्रदेश सरकारको तुलनामा स्थानीय सरकार कोरोना नियन्त्रणमा सक्रियताका साथ लागिपरेको अवस्था छ । पछिल्लो समयमा कोरोनाको संक्रमण घट्दै गएको कारण धेरै स्थानीय तहमा पनि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी हुँदैछ । बिस्तारै विकास निर्माणको काम सञ्चालन गर्ने योजना बनिरहेको छ । महामारी नियन्त्रण गर्नको लागि सरकारले कतिपय कुराहरूमा ढिला सुस्ती गरेकै कारण महामारी व्यापक फैलिएको आरोप पनि लागिरहेको छ ।

स्थानीय सरकारका थुप्रै कमजोरी होलान् । तर यो महामारीको समयमा भने सक्रियता बढेकै छ । कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिका प्रशंसनीय छ । आम नागरिकको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । पछिल्लो समयमा दुर्गम स्थानीय तहमा कोरोनाको संक्रमण फैलिरहेको छ । कतिपय स्थानीय तहहरूमा त बिरामी राख्न सक्ने अस्पताल समेत छैनन् । कतै एम्बुलेन्स गुड्ने बाटो छैन । अति दुर्गमका स्थानीय तहमा तपाई हामीले व्याख्या गरेजस्तो सहज अवस्था छैन । तर, पनि उनीहरूले कोरोना नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेकै छन् । दुर्गमका ठाउँमा आवश्यक स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीका अभावले अकालमा नै धेरैले ज्यान गुमाएका छन् ।

भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरूको संख्या बढेको छ । पीसीआर परीक्षण नगरिएका तर संक्रमणको सम्भावना भएका व्यक्तिको छेउमा जोखिम मोलेरै जनप्रतिनिधिहरू पुगेका छन् । यसरी नै भारत र चीनसँग सिमना जोडिएका पालिकाले कोभिड रोकथाम र नियन्त्रण गर्नको लागि गरेका प्रयास यस्ता छन् भनेर यो सामग्री तयार पारिएको छ ।

भोटखोला गाउँपालिका

यो गाउँपालिका प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लामा पर्छ भने यस पालीकाको सिमाना चीनसँग जोडिएको छ । यो गाउँपालिकामा अन्य पालिका जस्ता कोरोनाको प्रभाव परेको छैन । महामारी नियन्त्रण गर्नमा आवश्यक तयारी गरेको र पातलो बस्ती रहेको कारण कोरोनाको प्रभाव नपरेको गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बताउँछन् ।

गत वर्ष नै तयारी गरेको क्वारेन्टिन तथा स्वास्थ्य सामाग्रीको र संरचनाको प्रयोग यो वर्ष पनि पालिकाले गरेको पनि अध्यक्ष भोटे जनाए । हालसम्म पालिकाका ३ जना संक्रमित भएका छन् भने हाल उनीहरू पनि संक्रमणमुक्त भएका छन् । चीनको सिमाना किमाथाङ्का हेल्थडेस्क, क्वारेन्टिन व्यवस्थापन गरी सशस्त्र प्रहरी बल र स्वास्थ्यकर्मीहरु रहको पनि भोटेले जानकारी दिए ।

केही स्वास्थ्य सामाग्री पालिकालाई चीनले सहयोग पनि गरेको छ । चीन सम्पर्क गरी बोडरसम्म उनीहरूले स्वास्थ्य सामाग्री ल्याइदिएको र पालिकाले स्वास्थ्यको सामग्री बुझेको पनि अध्यक्ष भोटेले बताए । उनका अनुसार १७ महिनादेखि किमाथाङ्काबाट चीन जाने क्रम रोकिएको छ ।

किमाथाङ्कामा विकास निर्माणको काम गर्न पनि समस्या उनले बताए । किमाथाङ्कामा ७० प्रतिशत विकास निर्माणका काम गर्न नसकेको तथा किमाथाङ्का र चीनको सीमा तत्काल खोल्ने कुरा नभएको पनि उनले जानकारी दिए ।

कौडेना गाउँपालिका

प्रदेश २ अन्तर्गत सर्लाही जिल्लामा यो गाउँपालिका पर्छ । यस गाउँपालिकामा पनि कोरोनाको प्रभाव परेको छैन । पालिकामा हालसम्म केही पनि संक्रमित नभएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादवले बताए ।

नागरिकको घर घरमा गई सबैलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने तयारी रहेको पनि अध्यक्ष यादवको भनाई छ । पालिकाले नागरिकको स्वास्थ्यको परीक्षण गर्ने तयारी गर्दैछ । यस पालिका र अन्य ५ पालिका मिलेर सामुिहक रूपमा ४० बेडको आइसोलेसन तयार गरेका छन् । समुहिक रुपमा बनाएको आइसोलेसनमा पनि हालसम्म कुनै बिरामीलाई राख्नु पर्ने अवस्था नआएको पनि अध्यक्ष यादवले जानकारी दिए ।

महामारी नियन्त्रण गर्नका भारतको सिमानाकामा विष्णु गाउँपालिका र कौडेना गाउँपालिका मिलेर हेल्थडेक्सको स्थापना गरेको पनि उनले जानकारी दिए । सिमानाकाबाट मानिसहरू आउने क्रम रोकिएको र नाकामा सुरक्षा व्यवस्था पनि सबै पालिकमा मिलेर कठाई गरेको यादवले जनाए । पालिकाले आवश्यक पर्ने स्वास्थ्य सामाग्री पनि खरिद गरेको छ ।

भीमदत्त नगरपालिका

यो नगरपालिका सुदुरपश्चिमाञ्चल प्रदेश अन्तरगतको कञ्चनपुर जिल्लामा पर्छ । विश्व भर महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले भीमदत्त नगरपालिका पनि ठुलो असर पुर्याएको छ । नगरमा कोरोनाको प्रभाव परेसँगै आइसोलेसन, क्वारेन्टिन र भारतको नाकामा हेल्थडेस्कको स्थापना गरेको नगरपालिकाकी उप–प्रमुख सुशिला चन्द सिंह बताउछिन् । दोस्रो लहरको कोरोनाको प्रभाव पालिकामा परेसँगै १९ ओटै वडामा स्वास्थ्य सेवाको सुचारु गरेको पनि उपप्रमुख सिंहले बताइन् ।

नगरपालिकाले महाकाली अञ्चल अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीको वितरण गरेको छ । नगरले नर्सिङ क्याम्पसमा एक सय बेडको आइसोलेसन कक्षको स्थापना गरेको छ । आवश्यक परे नगरभित्र रहेका भवनलाई पनि आइसोलेसनको रूपमा प्रयोग गर्ने सिंहले जनाइन् ।

यस नगरपालिका भारतसँग सिमाना जोडिएको कारण बोर्डर व्यवस्थापन गर्न पनि लागिपरेको छ । नगरले भारतबाट फर्किनेहरूको सिमानामा प्रहरी र स्वास्थ्यकर्मीले स्वास्थ्य अवस्था बारे बुझ्दै आएका छन् । नगरपालिकाले नै एन्टिजेन किट खरिद गरी कोरोना परीक्षण गरेको पनि सिंहले जनाइन् । नेपाल प्रवेश गर्ने र भारतबाट फर्किनेहरूको संख्या धेरै भएपछि एन्टिजेन परीक्षण गर्न नसक्ने पनि उपप्रमुख सिंहको भनाई छ ।

सिमानाकामा भारतबाट फर्किनेहरूलाई उनीहरूको स्वास्थ्य चेक गरेको र स्वास्थ्यमा समस्या र परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए महाकाली अञ्चल अस्पतालमा उपचार गर्दै आएको पनि सिंहले जनाइन् । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखियो भने महानगरले सञ्चालन गरेको आइसोलेसनमा अथवा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाएको पनि सिंहले जनाइन् ।

होल्डिङ सेन्टर र आइसोलेसनमा बसेकालाई नगरले र अन्य विभिन्न संघसंस्थासँग समन्वय गरी खाजा तथा खाना निःशुल्क खुवाउँदै आएको पनि सिंहले बताइन् । सिंहका अनुसार नगरको सिमाना हुँदै नेपाल प्रवेश गर्नको संख्या ४५ हजार नाघिसकेको छ भने दिनमा २ सयभन्दा बढि नेपाल प्रवेश गरेका छन् । यो संख्या नगरको मात्र नभई सामग्री देशभित्र बसोबास गर्नेको नागरिकाको संख्या हो ।

पछिल्लो समयमा नगरका कुनै पनि अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छैन । विभिन्न संघसंथाबाट पनि नगरपालिकालाई स्वास्थ्य सामाग्रीको सहयोग मिलेको छ ।

कन्ट्याक्ट ट्रेसिङको दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिको पहिचान गरी एन्टिजेन परीक्षण र पीसीआर गर्ने व्यवस्था मिलाएको पनि उपप्रमुख सिंहले जानकारी दिइन् । एन्टिजेन र पीसीआर परीक्षण नगरले निःशुल्क गर्दै आएको छ ।

नगरपालिकाले मास क्वारेन्टिन भन्दा होम क्वारेन्टिनलाई जोड दिएका थियो । होम आइसोलेसनमा बसेका कोभिडका बिरामीहरूलाई सम्बन्धित वडाका स्वास्थ्य शाखाले फोन मार्फत उनीहरूको स्वास्थ्य अवस्था बारे बुझिरहेको पनि सिंहले जनाइन् । नगरपालिकाले कोरोनासँग अन्तरसम्बन्धित लक्षण देखिएकाको प्रत्येक वडाका स्वास्थ्यचौकीमा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको छ ।

विकास निर्माणको बजेटबाट नै कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्नका लागि नगरले खर्च गरेको छ । स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको पनि सिंहले जनाइन् ।

पोखरिया नगरपालिका

प्रदेश २ अन्तरतको पर्सा जिल्लामा पर्ने पोखरिया नगरपालिकामा तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले ठूलो असर पुर्याएको छ । नगरले कोरोना रोकथाम र नियन्त्रणको लागि जनचेतनाका कार्यक्रमहरू गर्दै आएको उप–प्रमुख सलमा खातुन बताउँछिन् ।

एन्टिजेन र पीसीआर परीक्षण नगरले निःशुल्क गर्दै आएको छ । आइसोलेसन कक्षको स्थापना पनि गरेको छ । नगरपालिकाभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा अक्सिजनको व्यवस्थापन गरेको पनि उपप्रमुख खातुनले जानकारी दिइन् । वडा तथा समुदाय र नागरिकहरूलाई पनि मास्क, सोनिटाइजर आदि वितरण गरिएको छ । नगरमा उपचार हुन नसकेर केही कोभिडका बिरामीलाई अन्य अस्पतालमा उपचारको लागि रेफर गरेको पनि खातुनले बताइन् ।

नगरपालिकाले बिरामीलाई निःशुल्क एम्बुलेन्सको प्रयोग गर्न दिएको पनि छ । संक्रमित भएका परिवारलाई विभिन्न संघसंस्थाले राहत पनि उपलब्ध गराएको छ । अक्सिजन सहितको ८ ओटा आइसोलेसन बेड नगरमा छ भने क्वारेन्टिनको पनि नगरपाकाले व्यवस्थापन गरेको छ । खातुनका अनुसार नगरपालिकाले ५० जनासम्म कोरोनाका बिरामीहरूलाई उपचार गर्न सक्छ ।

एन्टिजेन र पिसीआर गर्ने किट नगरपालिका आफैले खरिद गरेको छ । स्वास्थ्य सामाग्रीको खरिद गरी वडा कार्यालय, अस्पतालमा वितरण गरिएको पनि खातुनले जानकारी दिइन् । प्रदेश र केन्द्रले पनि स्वास्थ्य सामाग्रीहरू नगरपालिकालाई दिएको छ ।

नगरपालिकामा निषेधाज्ञालाई कायम नै राखेको छ । पछिल्लो समय संक्रमितहरु घट्दै गएको र अक्सिजन, बेडको समस्या नभएको खातुनले बताइन् । नगरपालिकामा हाल सवास्थ्य सामाग्रीको अभाव भएको छैन ।

तेस्रो लहरको संक्रमण आउन सक्ने तर्फ सचेत हुँदै यसले बालबालिकालाई प्रभाव पार्न सक्ने भएकाले यस प्रति मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको जुटाउने योजना रहेको पनि खातुन बताइन् ।

नगरपालिकामा भारतबाट फर्किने संख्या कमै रहेको छ । नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छ । यो रकमबाट नै स्वास्थ्य सामाग्रीको खरिद गरेको छ । पालिकामा भएको विकास बजेटबाट पनि महामारी नियन्त्रण गर्नको लागि खर्च गरेको उपप्रमुख खातुनले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.