पुष्प व्यवसायमा दैनिक १ करोड नोक्सान, लकडाउनमा पनि स्वदेशमा उत्पादन भएकालाई स्थान छैन

  २०७८ असार २ गते ९:२८     विकासन्युज

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरका कारण पुष्प व्यवसायले अहिले दैनिक करिब एक करोड नोक्सान बेहोर्नुपरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत एक वर्षदेखि आम्दानी गर्न सकेको छैन र उल्टो दैनिक करिब एक करोड नोक्सान बेहोरिरहेको छ ।

त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेका छन् तर यो क्षेत्र कहिले खुल्ने र व्यासायले गति लिने विषय अन्योल नै छ ।

अहिले मठ मन्दिर, होटल, पार्टी प्यालेस र पर्यटन व्यवसाय सञ्चालनमा नआएकाले यस क्षेत्रले नोक्सानको सामना गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । उनका अनुसार कोरोना महामारी नहुँदा सामान्य समयमा फूलको दैनिक एक करोडभन्दा बढीको कारोबार हुने गरेको थियो तर अहिले मुस्किलले दुई लाखसम्मको मात्र कारोबार हुन्छ ।

अध्यक्ष श्रेष्ठले गुनासो पोख्दै भने, ‘अहिले पनि केही फूलहरु भारतबाट ल्याइएका छन् तर लकडाउन भन्दै स्वदेशमा उत्पादन भएका फूललाई स्थान छैन । त्यसका लागि परिचयपत्रको व्यवस्था गरी एक स्थानबाट अर्को स्थानमा सहज आवतजावत गर्ने व्यवस्था गरी व्यवसायलाई सामान्यरूपमा भने पनि सञ्चालन गर्ने व्यवस्था गरिदिनुप¥यो ।’

उनका अनुसार फूलको कारोबार अत्यन्त कम हुने गर्दछ, नहुने नै भन्ने हुँदैन । ‘अहिले जति फूल प्रयोगमा आएका छन् ती सबै स्वदेशी उत्पादनकै प्रयोग हुन पाए थोरै भए पनि व्यवसाय चलायमान हुने थियो’, उनले भने ।

२५ प्रतिशत व्यवसायि अन्य पेशामा पलायन

पछिल्लो समय महामारीका कारण नियमित व्यवसाय गर्न नपाएकाले नोक्सानको सामना गर्नुपरेको भन्दै यस व्यवसायबाट २५ प्रतिशत व्यवसायी अन्य पेशामा पलायन भएको एशोसिएशनले बताएको छ । लामो समयसम्म यस पेशाामा कारोबार नहुँदा बजार लान तयार भएका फूलहरु नष्ट गर्नुपरेको पुष्प व्यापारी राम उप्रेती बताउँछन् ।

उप्रेतीले विगत १० वर्षदेखि कलङ्कीमा पुष्प व्यासाय सञ्चालन गर्दै आउनुभएको थियो । उनका अनुसार महामारीअघि वार्षिक १५ लाखसम्म आम्दानी हुने गथ्र्यो तर अहिले अहिले आम्दानी शून्य छ । ‘दैनिकी चलाउन पनि अन्य विकल्प खोज्नुपरेको छ’, उनले भने ।

पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।

अघिल्ला वर्षमा वार्षिकरूपमा रु दुई÷तीन अर्ब फूलको कारोवार हुने गरेको थियो । तिहार र अन्य मौसममा गरी ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको भए पनि महामारीको कारण अहिले भने सङ्कटमा परेको छ । काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यसायीले यसको खेती विस्तार गरिसकेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.