गाउँपालिकामा उपचार हुन नसक्ने अवस्थाका संक्रमितलाई काठमाडौं रेफर गर्ने व्यवस्था मिलाएका छौं – अध्यक्ष पौडेल

  २०७८ जेठ ३० गते १७:४८     विकासन्युज

अहिले विश्व नै कोभिड १९ को महामारीको चपेटामा छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण प्रदेश १ अन्तर्गतको ओखलढुंगा जिल्लामा पर्ने लिखु गाउँपालिका पनि यस महामारीको रोकथाम तथा नियन्त्रण गर्नमा तथा संक्रमितको उपचारमा जुटिरहेको छ ।

नेपालमा पनि सामाजिकस्तरमा कोरोना भाइरसको महामारी व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । मुलुक निषेधाज्ञामा छ । तर, पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको आभाष छ ।

महामारी नियन्त्रणमा गाउँपालिकाले कस्तो भूमिका खेल्दैछ, महामारी नियन्त्रणमा पालिकाले कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर पौडेलसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तपाईंको गाउँपालिकाले के कस्ता कार्य गरिरहेको छ ?

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकामा यस महामारी न्यूनीकरण गर्नको लागी विभिन्न काम गरिरहेका छौं । नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । गाउँपालिकामा संक्रमण नफैलियोस् भनेर हामीले थुप्रै प्रयासहरू गरिरहेका छौं । हालसम्म ६ सय ६६ जनाकोे पीसीआर परीक्षण गरेमध्ये २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकामा हाल १ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १ सय ३६ जनाले दोस्रो लहरको कोरोना जितेका छन् । कोभिडका २ जना बिरामीलाई उपचारको लागी काठमाडौं पठाएका थियौं भने उनीहरू पनि हाल निको भइसकेका छन् ।

कोभिडको महामारी नियन्त्रण गर्नको लागी आवश्यक जनचेतना नै देखियो । जनचेतना सामुदायिकस्तरमा व्यापकरूपमा प्रचारप्रसार गरिरहेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ भने ९ ओटै वडामा माइकिङ पनि गर्दै आएका छौं । सेवा समाजले पनि स्वास्थ्य सामाग्रीको सहयोग गरेको छ ।

कोरोनाबाट नागरिकहरू संक्रमित भए भने पालिकाले तयार गरेको आइसोलेसनमा ल्याई उपचार गर्छौँ । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागी सबै लागिपरेका छौं भने महामारीलाई नियन्त्रण गर्नको लागी स्वास्थ्यकर्मीको ठुलो भूमिको छ ।

पालिकामा उपचार हुन सकेन भने काठमाडौं रेफर गर्ने व्यवस्था मिलाएका छौं भने एम्बुलेन्सको व्यवस्था पालिकाले गरिदिँदै आएको छ । पालिकामा कोरोना महामारी फैलिन नदिनको लागी उच्च सतकर्ता अपनाएका छौं । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं ।

कोरोनाको संक्रमण पालिकामा बढेसँगै विभिन्न स्वास्थ्य सामाग्रीको खरिद गरेका छौं । एन्टिजेन परीक्षण गर्ने ७ सय किट नेपाल सरकारबाट प्राप्त भएको छ । भिटियम ८ सय खरिद गरेका छौं भने २ सय सहयोग मिलेको छ । १७ सय जनालाई एन्टिजेन र पीसीआर परीक्षण गर्न सक्ने अवस्थामा छौं भने हामीले जम्मा ५७ जनाको एन्टिजेन परीक्षण गरेका छौं । पालिकामा ३२ बेडको क्वारेन्टिन पनि स्थापना गरेका छौं तर, यो क्वारेन्टिनमा कसैलाई पनि राख्नु पर्ने अवस्था आएको छैन ।

होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनु भएको छ ?

हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । स्वास्थ्यकर्मीहरुले कोभिडको अन्तर सम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर वा एन्टिजेन परीक्षण गर्दै आउनु भएको छ । परीक्षण गरी सकेपछि कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागी आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले बुझ्दै आउनु भएको छ । पालिकामा स्वास्थ्य सञ्जाल पनि रहेको छ । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्श दिइरहनु भएको छ । औषधि इत्यादि उपलब्ध गराउनु हुन्छ । प्रत्येक वडामा स्वास्थ्यकर्मी हुनुहुन्छ ।

अहिले गाउँपालिकालाई मुख्य चुनौती के छ ?

पालिकमा चुनौतीहरू धेरै छन् । हाम्रो अहिलेको चुनौती भनेको विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोना नै हो । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई विकसित देशहरूले पनि नियन्त्रण गर्ने नसकिरहेको अवस्थामा हाम्रो पालिकाले नियन्त्रण गर्न सक्ने कुरै भएन । पालिकामा बजेट पनि सिमित हुन्छ । पहाडि क्षेत्रमा आवश्यक स्वास्थ्यकर्मीहरू पाइँदैन । अक्सिजनको आपूर्ति, गम्भीर बिरामीलाई कसरी समयमै उपचारका लागि पुर्याउने भन्ने नै प्रमुख चुनौती रहेको छ । आवश्यक पर्ने स्वास्थ्य सामाग्री जुटाउनमा पनि चुनौती रहेको छ । तर, यी सबै चुनौतीको सामना गरी अगाडि बढिरहेका छौं ।

निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ?

यसबारे यकिनसँग भन्न सकिँदैन । ठाउँ अनुसार हेर्ने हो भने निषेधाज्ञा जरुरी पालिकामा छैन । ठाउँ ठाउँमा मात्र कोरोना भाइरस फैलिएको छ । यो महामारी पालिकामा न्यूनीकरण हुँदै आएको छ । निषेधाज्ञा पालिकामा खुकुलो नै छ । स–साना विकास निर्माण र कृषिको कामहरू सञ्चालन भइरहेको छ । अनावश्यक बाहिर हिँड्न पनि मानिसहरूलाई दिएका छैनौं । कोरोनाको संक्रमण बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास छ । हुन त निषेधाज्ञा जारी गरेर, पुरै लकडाउन गरेर समस्या समाधान हुने होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागी सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो ।

कति संक्रमित धान्न सक्छ त अब गाउँपालिकाले ?

पालिकामा ५ बेडको आइसोलेसन सहितको कोभिड अस्पताल छ । ५ जना भन्दा बढि सङ्क्रमितहरू भए भने रेफर गरेर काठमाडौंसम्म पुर्याउँछौं । जिल्लामा २० बेडको आइसोलेसन छ तर, यस आइसोलेसनको पनि धेरै ठुलो क्षमता छैन । यो भन्दा भयावह स्थिति आयो भने गाउँपालिकाले बनाएको सिमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन ।

कोरोना नियन्त्रणका लागी बजेटको प्रबन्ध कस्तो छ ?

औषधी खरिदको लागि बजेट पालिकामा प्रर्याप्त छ । महामारी नियन्त्रण गर्नको लागी करोडौं रकम बजेट छुट्याउन हामी सक्दैनौं । हाल नै कोरोना महामारी नियन्त्रणको लागी पालिकामा बजेटको अभाव भएको छैन ।

गाउँपालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ कि छैन ?

पालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ । विशेष गरी विकास निर्माणका काम गर्ने र बाहिरी जिल्लाबाट आउने धेरै नागरिकहरु कोरोनाबाट संक्रमित भएका छन् । पालिकाका सबै वडामा नै सङ्क्रमितहरू भोटिएको छ । पछिल्लो समयमा कोरोना महामारी पालिकामा धेरै न्यूनीकरण भएको छ । बजारी इलाकाहरूमा कोरोनाको संक्रमण बढि फैलिने सम्भावना देखिन्छ ।

कमजोर आर्थिक अवस्था भएकाहरूका लागि खाद्यान्न र राहातका कार्यक्रमहरू ल्याउनु भएको छ ?

पालिकामा हालै राहातका कार्यत्रमहरु ल्याउनु पर्ने आवश्यकता छैन । किसानहरूलाई आफ्नो खोतीबाट खान पुगि रहेको छ भने सामान्य विकास निर्माणको काम पालिकामा चलिरहेको छ । क्वारेन्टिन र आइसोलेसनमा बसेका बिरामीहरूलाई हामी निःशुल्क खान खुवाउँदै आएका छौं । हाल राहातमा भन्दा कोभिड नियन्त्रणमै सबैको चिन्ता र चासो रहेको छ ।

पालिकामा भ्याक्सिन लगाउनेको संख्या के छ ?

पहिलो डोज लगाएका मानिसले दोस्रो डोज लगाउनु भनेको थियो तर, दोस्रो डोजको खोप कम आएको थियो । ८० जनाले दोस्रो डोज लगाएका छन् । ६० देखी ६५ वर्ष सम्मकालाई खोप लगाउनको लागी खोप पालिकामा आएको छ ।

संक्रमण थप नफैलिओस् भन्नका लागि के उपाय अपनाउनुभएको छ ?

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबैजना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । बाहिरी जिल्लबाट आएका मानिसहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी आग्रह गरेका छौं । पालिका भित्र प्रवेश गर्ने नाकामा हेल्थडेक्सको स्थापना गरेका छौं । संक्रमित छ भने होम आइसोलेसनमा बस्नेलाई स्वयंसेविका र स्वास्थ्यकर्मीमार्फत आवश्यक परामर्श दिन्छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । कान्छी कोशी नदीमा पुल निर्माणको लागी बहिरी ठाउँबाट कामदारहरू आउने भएको कारण सहजता गर्नु परेको छ । पालिकामा २ ओटा हाइड्रोपावर प्रोजेक्टको काम पनि सञ्चालन हुने तयारीमा छ । अहिलेसम्म हामीले कोरोना रोकथाम र संक्रमितको उपचारमा सकेजति गरिरहेका छौं ।

प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागी के कस्तो सहयोग मिलेको छ ?

प्रदेश र केन्द्रबाट जोखिम न्यूनीकरण गर्नको लागी बजेट चाहिँ सहयोग मिलेको छैन तर, स्वास्थ्य सामाग्रीहरू प्राप्त भएको छ । यस महामारीको समयमा पनि स्वास्थ्य सामाग्रीको सहयोग मिलेको छ ।

कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चहनुहुन्छ त ?

लिखु गाउँपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगरीदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफू मात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारी पालिकमा नियन्त्रण भएको छ तर फेरी यो संक्रमण पालिकामा फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.