पहिलो दिनमै सीईडीबी हाइड्रोको सेयरमा सर्किट, कतिमा भयो अन्तिम कारोबार ?

  २०७८ जेठ २६ गते १५:३०     विकासन्युज

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर सर्किट लागेको हो ।

बुधबारको बजारमा कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर प्रतिकित्ता ४५७ रुपैयाँ पुगेको छ । जुन पहिलो कारोबारको तुलनामा ४१ रुपैयाँले बढी हो । पहिलो कारोबार प्रतिकित्ता ४१६ रुपैयाँमा शुरु भएको थियो । त्यसको २१ मिनेटको अवधिमै कम्पनीको सेयर सर्किट लेभल कारोबार भएको हो । र, बुधबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ४५७ रुपैयाँमा भएको हो ।

कम्पनीको मार्केट देप्थ अनुसार दिनभरको कारोबारमा कम्पनीको ९ लाख ६३ हजार ३०४ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका थिए भने बेच्ने कोही पनि थिएनन् ।

हालै आईपीओ निष्काशन गरी बाँडफाँड गरेको कम्पनीको हिजो अर्थात जेठ २५ गतेमात्रै सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर र कम्पनीका संस्थापकले लगानी गरेको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर समेत गरी कूल ८३ लाख ९४ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

दाेश्राे बजारमा सेयर कारोबारको लागि कम्पनीको सिम्बोल ‘सीएचडीसी’ दिइएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १३८.७९ रुपैयाँ र अधिकतम ४१६.३७ रुपैयाँ तोकेको थियाे । यससँगै कम्पनीकाे पहिलाे काराेबार अधिकतम मूल्यबाट शुरू भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.