बाँकेमा घट्यो कोरोनाको सङ्क्रमण र मृत्युदर, अस्पतालमा चाप पनि कम

  २०७८ जेठ ११ गते १६:२२     विकासन्युज

राँझा । कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ ।

तीव्र गतिमा सङ्क्रमण फैलिएपछि रोकथामको लागि जिल्ला प्रशासनद्वारा जारीे निषेधाज्ञाको एक महिनापछि अहिले बाँकेमा कोरोना सङ्क्रमण र विरामीको मृत्युदर घटेको हो । वितेको दुई दिनको अवधिमा बाँकेका सङ्क्रमित बिरामीको मृत्यु भएको छैन भने केही दिन यता सङ्क्रमित हुने भन्दा जित्नेको सङ्ख्या बढ्दै गएको छ ।

कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा सङ्क्रमण दर घटेसँगै अस्पतालमा उपचारको लागि आउने विरामीको सङ्ख्यासमेत घट्दै गएको नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए।

‘दैनिक सात/आठ सय लक्षणसहितका सङ्क्रमित फेला पर्ने गरेको बाँकेमा यो एक महिनाको अवधिमा सङ्क्रमित दर ह्वात्तै घटेको छ । लकडाउन र सचेतनाका कारण सङ्क्रमण घट्दै गएको हुनुपर्छ’, डा थापाले भने,’पछिल्लो केही दिनयता बाँकेमा कोरोना सङ्क्रमण र मृत्यु दर घटेको छ, यो हामी सबैको लागि खुशीको कुरा हो । तर पनि सजक भई अरुलाई पनि सजकता अपनाउन छोड्नु हुँदैन ।’

उनले कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आउँदैमा कुनैपनि लापर्वाही गर्न नहुने बताउँछन् । एक महिनादेखि जारी निषेधाज्ञाले कोरोना सङ्क्रमणको चक्र तोड्न सफल भएकोले घट्दो सङ्क्रमणदरलाई शून्यमा झार्न अव पनि सबैले उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने डा. थापाको भनाइ छ ।

अस्पतालमा घट्यो विरामीको चाप

बाँकेमा कोरोना सङ्क्रमण दर घटेसँगै कोरोना उपचार केन्द्रको रुपमा रहेको भेरी अस्पताल नेपालगञ्जमा कोरोनाका विरामीको चाप घट्दै गएकोे छ । अहिले बाँके जिल्लाभन्दा धेरै अन्यत्र जिल्लाबाट ‘रिफर’ भई आउने विरामीको सङ्ख्या बढि हुने गरेको डा. थापाले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोनाको लागि निर्माण गरिएको १८० शय्या पुरै भरिएर अस्पतालले इमरजेन्सी कक्ष र त्रिपाल टाँगेर अस्थायी शय्यामा समेत गरी करिब तीन सय सङ्क्रमितलाई उपचार गर्दै आएकोमा अहिले शय्याहरु खाली हुँदै गएका छन् ।

‘अहिले बाँकेका भन्दा पहाडी जिल्लाबाट आउने विरामीको सङ्ख्या बढी छ, पहिलेको तुलनामा अहिले अवस्था सामान्य हुँदै गएकोे छ’, डा.थापाले भने,’अहिले भेरी अस्पतालमा बेडको अभावका कारण भुईंमा सुतेर उपचार गराउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

बाँकेमा आइतबार चार सय ५२ जनाले कोरोना जितेर निको हुँदा एक सय १४ जना सङ्क्रमित थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पतालमा तीन सय ६८ जनाको परीक्षण गर्दा दुई सय ६५, शिक्षण अस्पताल कोहलपुरमा एक सय १२ जनाको जाँच गर्दा ३६ र बागेश्वरी ल्याबमा एक सय ९० जनाको जाँच गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.