राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब कुन बैंकको सेयर धितो राखेर कति ऋण पाइन्छ ?

  २०७८ जेठ ५ गते १३:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ ४ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो समीक्षा गर्यो । समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा दिने कर्जामा केही नीतिगत व्यवस्था गर्यो ।

राष्ट्र बैंकले यसअघिको व्यवस्थालाई परिमार्जिन गर्दै अब बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर धितो कर्जा प्रयोजनको लागि सेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औषत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा ऋण दिँदा १२० दिनको औसत मूल्य गणना गरी कर्जा दिन पाउने व्यवस्था थियो ।

नयाँ व्यवस्थासँगै लगानीकर्ताले अब १८० दिनको औषत मूल्यको आधारमा ७० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । यद्यपि, केही बैंक वित्तीय संस्थाहरुले सेयरधितो कर्जा नै दिने गरेका छैनन् भने केही कम्पनीको सेयर धितोमा ऋण दिने गरेका छैनन् । केही बैंक वित्तीय संस्थाहरुले भने राष्ट्र बैंकले तोकेको ७० प्रतिशतभन्दा कम ऋण दिने गरेका छन् ।

पछिल्लो समय दोश्रो बजारमा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी मूल्य नबिल बैंकको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार जेठ ४ गते नबिलको सेयर प्रतिकित्ता १३०८ रुपैयाँमा किनबेच भएको थियो ।

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार लगानीकर्ताले नबिल बैंकको सेयर धितो राखेर प्रतिकित्ता ८६४.६६१ रुपैयाँसम्म ऋण पाउन सक्छन् ।

बढी ऋण लिन चाहेको अवस्थामा नयाँ व्यवस्थाको नकारात्मक असर एनआईसी एसिया बैंकका सेयरधनीलाई भएको छ । पहिलाको व्यवस्था अनुसार १२० दिनको औसत मूल्यका आधारमा एनआईसी एसिया बैंकको सेयरमूल्य ९०६ रुपैयाँ ५ पैसा हुन्थ्यो । अब १८० दिनको औसत मूल्य गणना गर्दा सो बैंकको औसत सेयरमूल्य ८४२ रुपैयाँ ३० पैसा हुन आउँछ । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले एनआईसी एसिया बैंकको सेयर धितो मूल्यांकन गर्दा प्रतिकित्ता ६३ रुपैयाँ ७५ पैसा कम मूल्यांकन हुन्छ ।

यस्तै, प्रभु बैंकको सेयर धितो राख्दा प्रतिकित्ता ४१ रुपैयाँ ७९ पैसा कम मूल्यांकन हुने अवस्था राष्ट्र बैंकको नयाँ व्यवस्थाले गरेको छ ।

नयाँ व्यवस्थाको बढी फाइदा हिमालयन बैंकका सेयरधनीले पाउन सक्थे । हिमालयन बैंकको १२० दिनको औसत मूल्य ५२८ रुपैयाँ १५ पैसा हुन्थ्यो भने १८० दिनको औसत मूल्य ५८५ रुपैयाँ ७६ पैसा हुन आउँछ । त्यसैले नयाँ व्यवस्था अनुसार हिमालयन बैंकको सेयर धितो राख्दा प्रतिकित्ता ५७ रुपैयाँ ६१ पैसा बढी मूल्यांकन भएर सोही अनुसार ऋण लिन पाइन सक्थ्यो । तर, नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भइसकेको कारण हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार अहिले बन्द छ ।

नयाँ व्यवस्थाको लाभ कृषि विकास बैंकका सेयरधनीलाई भएको छ । सो बैंकको १२० दिनको औसत मूल्य ४४२ रुपैयाँ ४२ पैसा छ । जबकि १८० दिनको औसत मूल्य ४७२ रुपैयाँ ४१ पैसा छ । नयाँ व्यवस्था अनुसार कृषि विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँ ९९ पैसा बढी मूल्यांकन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.