दुग्ध पदार्थको खपत घट्यो, सरकारले राहत नदिएको व्यवसायीको गुनासो

  २०७८ जेठ २ गते १४:३९     विकासन्युज

काठमाडौं । कोभिड–१९ को दोस्रो लहर सगैँ दुग्ध पदार्थको खपतमा कमी आएको छ । गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागु भएको निषेधाज्ञा सगैँ दुग्ध पदार्थको खपतमा ६० प्रतिशतले कमी आएको व्यवसायीहरु बताउँछन् ।

अन्य समयको तुलनामा निषेधाज्ञा लागुु भएसगैँ दुग्ध पदार्थका खपतमा कमी आएको नेपाल डेरी एसोसिएनले जनाएको छ । एसोसिएनका महासचिव प्रल्हाद दाहालका अनुसार दुग्ध पदार्थको खपतमा कमी आउँदा दैनिक १० करोड रुपैयाँ नोक्सानी भएको छ ।

गत वर्षको बन्दाबन्दीको अवधिमा रहेको स्टक अझैँ खपत हुन सकेको छैन, विस्तारै अवस्था सहज हुँदै जादा पुनः निषेधाज्ञा लागु भएको छ । व्यवसायीसँग ठूलो परिमाणमा दुग्ध पदार्थको मौज्दात हुँदा किसानलाई भुक्तानीमा समस्या भएको उनी बताउँछन् ।

उनका अनुसार दुग्ध पदार्थको खपतमा कमी आउँदा हाल निजी डेरी र दुग्ध विकास संस्थानमा तीन अर्ब बराबरको पाउडर दुध र बटर स्टक रहेको छ ।

‘किसानबाट दैनिक रुपमा दुग्ध संकलन गरिएको छ । उक्त दुधबाट बजारमा माग नभएपनि पाउडर दुध र बटर बनाउन सकिन्थो । गत वर्ष यस्तै गरियो’, उनले भने, ‘हामीसँग गत वर्षकै पर्याप्त पाउडर दुध र बटर स्टक छ, अहिले कता राख्ने । राख्ने ठाउँ समेत छैन ।’

चालु पुँजीको रुपमा रहेको रकम ठूलो मात्रामा सामग्री भण्डारणमा मौज्दात बस्दा धेरै डेरी उद्योगहरु बन्द हुने अवस्थामा पुगेको जनाईएको छ । ‘गत वर्षको बन्दाबन्दी पछि धेरै क्षेत्रले सरकारले अनुदान र राहत उपलब्ध गरायो । तर दुग्ध क्षेत्रले आजसम्म कुनै पनि राहत तथा सहयोग पाएको छैन । सरकारी सहयोग नहुँदा धेरै व्यवसायी तथा किसानको आकर्षण घट्दो क्रममा रहेको छ’, उनले भने ।

उनका अनुसार सरकारले राहत नदिदा किसानलाई भुक्तानी दिनुपर्ने रकम रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.