‘समाजवाद उन्मुख’ राज्यको व्यवहारः ५० हजारभन्दा कम पैसा हुनेले बैंकिङ सेवा नलिनु

  २०७८ वैशाख ३१ गते १२:२१     शिव सत्याल

काठमाडौं । नेपालको संविधानको प्रस्तावनामा ‘…लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण…’ गर्ने भनिएको छ । यस्तै, संविधानको धारा ४ मा नेपाल राज्य समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ ।

संविधानकै धारा ५० को (३) मा ‘…असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ’ भनिएको छ ।

संविधानमा उल्लेख गरिएको समाजवाद के हो ? कस्तो हो ? काँग्रेस नेता प्रदिप गिरीले व्याख्या गर्ने समाजवाद, एमाले नेता घनश्याम भुसालले अथ्र्याउने समाजवाद र माओवादी केन्द्रका नेता राम कार्कीले सुनाउने समाजवादमा भिन्नता छ कि छैन ? छ भने संविधानमा लेखिएको समाजवाद कस्तो हो ? यस्ता प्रश्नहरु नभएका होइनन् ।

संविधानकै मर्म र अक्षर हेर्ने हो भने समाजवादमा भेदभाव हुन्न । भेदभाव रहित समाज निर्माण नै समाजवादको मूल ध्येय हो । तर, ‘नेपाल राष्ट्र बैंकको सहमतिमा’ वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले गरेको हिजोको निर्णयले भेदभावरहित समाज निर्माण भयो ?

हिजो एनबीएले ५० हजार रुपैयाँभन्दा कम निक्षेप राख्न आउने ग्राहकको पैसा नलिने निर्णय गर्यो । यो निर्णयको उद्देश्य के हो ? ५० हजार रुपैयाँभन्दा बढी पैसा बोकेर हिड्नेसँग कोरोना आउदैन ? ५० हजार भन्दा कम रकम हुनेले बैंकमा पैसा राख्न नपाउने यो कस्तो समाजवाद हो ?

एनबीएको हिजोको निर्णय बैंकहरुमा भिडभाड कम गर्नका लागि हो भनियो । हो, भिडभाड बढी भयो भने कोभिड संक्रमणको खतरा बढी हुन्छ । एनबीएको निर्णयको उद्देश्यक बैंकका कर्मचारी र बैंकमा आउने व्यक्तिहरुमा संक्रमण नफैलियोस् भन्ने छ । तर, कुनै व्यक्ति ५० हजार रुपैयाँभन्दा बढी रकम लिएर बैंकमा आयो र सोही व्यक्तिबाट बैंकका कर्मचारीमा कोरोना संक्रमण भयो भने त्यो संक्रमण स्वीकार्य छ भन्ने एनबीएको निर्णय हो ? ५० हजार रुपैयाँभन्दा बढी रकम राख्न आउने व्यक्तिबाट संक्रमण हुन नदिनको लागि अपनाइने स्वास्थ्य सुरक्षाका मापदण्ड ५० हजार रुपैयाँभन्दा कम निक्षेप राख्न आउने व्यक्तिसँग किन अपनाउन सकिदैन ?

अहिले नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) को सरकार छ । अर्थात यो सरकार माक्र्सवाद र लेनिनवादबाट ओतप्रोत भएर र त्यसलाई अंगिकार गर्दै व्यवहारिक कार्यान्वयन गर्न गराउन चाहन्छ । माक्र्सवाद लेनिनवाद कार्यान्वयनका लागि यो सरकार संविधानमा उल्लेख भएको ‘समाजवाद उन्मुख’ भन्ने व्यवस्था समाएर अघि बढिरहेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नर पदमा यही सरकारले नियुक्त गरेको हो । अधिकारी माक्र्सवाद लेनिनवादसँग सहमत वा नजिकको सम्बन्ध भएको कारणले पनि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न पाएका हुन् । राष्ट्र बैंकका दुबै डेपुटी गभर्नरहरु यही सरकारले नियुक्त गरेका व्यक्ति छन् । उनीहरु पनि माक्र्सवाद लेनिनवाद कार्यान्वयन गरी नेपाललाई ‘समाजवाद उन्मुख’ गराउन चाहन्छन् होला । अनि ५० हजार रुपैयाँभन्दा कम रकम हुने व्यक्तिबाट मात्रै कोरोना संक्रमण हुन सक्छ भन्ने कस्तो समाजवाद बुझ्नु भयो होला गभर्नर, डेपुटी गभर्नरज्यूहरुले ?

व्यवहारिक रुपमा हेर्ने हो भने अहिलेको विषम परिस्थितिमा ५० हजार रुपैयाँभन्दा कम रकम भएको व्यक्ति पैसा राख्न बैंकमा जादैन । कोभिड संक्रमणमा कतिबेला परिने हो भन्ने यकिन छैन । संक्रमण देखियो र अवस्था जटिल भयो भने एम्बुलेन्स मगाउनु पर्छ । बेड पाउने यकिन नभए पनि अस्पतालहरुको चक्कर लगाउनु पर्छ । दैनिक उपभोग्य वस्तु खरिद गर्नुपर्छ । पेशा, व्यवसाय वा रोजगारी गुमेको छ । यस्तो बेलामा आफूसँग भएको ५० हजार रुपैयाँभन्दा कम रकम बैंकमा राख्नेभन्दा पनि आफूसँगै राख्नेहरुको संख्या ठूलो छ । यो अर्कै पाटो हो । तर, नीतिगत रुपमा ५० हजार रुपैयाँभन्दा कम रकम हुनेहरुलाई बैंकमा आउन किन निषेध गरियो ? यो कस्तो समाजवाद उन्मुख राज्य हो ?

केही साता अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका बेडहरु विरामीले भरिएको भन्दै थप विरामीको लागि शैया उपलब्ध गराउन नसक्ने सार्वजनिक अपील प्रकाशित गरेको थियो । अहिले सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौं उपत्यकामा पाटन, बीर, ट्रमा, टेकु, टिचिङ जस्ता एक दर्जनभन्दा कम सरकारी अस्पतालहरुले कोभिड संक्रमितको उपचार गरिरहेका छन् । बाँकी संक्रमितको उपचार निजी क्षेत्रबाट संचालित अस्पतालहरुले गरिरहेका छन् । निजी अस्पतालहरुले एक दिन विरामी राखेको १० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँ शुल्क लाग्ने भनेर सार्वजनिक सुचना नै प्रकाशित गरेका छन् । यो महामारीमा ५० हजार रुपैयाँभन्दा कम रकम बोकेर बैंक आउनेहरुको संख्या निकै कम हुन सक्छ । तर, महामारीको यो विकराल अवस्थामा कम्युनिष्ट सरकारले कम रकम हुनेहरुलाई बैंक छिर्न नदिएर किन ‘बुर्जुवा चरित्र’ देखाएको ?

यो सरकार गरिबलाई चोकमा मकै पोलेर परिवार पाल्न दिदैन । सडकपेटीमा जुत्ता पोलिस गरेर बाँच्न दिदैन । ठेलागाडामा तरकारी बेच्चेर दुईछाक टार्न दिदैन । विहान पसल खोलेर प्राप्त भएको सानोतिनो रकम बैंकमा राख्न चाहने किराना पसलेलाई बैंक प्रवेश गर्न दिदैन । अस्पतालमा बेड छैन भनेर उपचारको लागि अस्पताल जानै दिदैन । कम आम्दानी भएका र गरिबमाथि किन यति धेरै प्रतिशोध साध्दैछ यो सरकार ? राज्यलाई कस्तो समाजवादतिर उन्मुख गराउँदैछ ?

One comment on "‘समाजवाद उन्मुख’ राज्यको व्यवहारः ५० हजारभन्दा कम पैसा हुनेले बैंकिङ सेवा नलिनु"

  • kiran says:

    j ma pani birodh nai garnuparne ho ra, yo ta flow ghataun hola ni limit ko kura pani ta hola., teso bhaye karib 5000 ko mrityu bhayo kaslai karbahi garne ta,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.