अति भयो राष्ट्रपतिज्यू ! अभिभावकीय भूमिका निर्वाह गरौंः चिकित्सक संघ

  २०७८ वैशाख २९ गते १६:१६     विकासन्युज

काठमाडौं । देशभरका चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले कोभिड महामारीको भयावह अवस्था आएको भन्दै गम्भीर हुन राज्यका जिम्मेवार पदाधिकारीसँग आग्रह गरेको छ ।

संघले आज एक अपील प्रकाशित गरी राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, प्रमुख विपक्षी दल लगायत सबै राजनीतिक दलहरुलाई गम्भीर बन्न आग्रह गरेको हो । संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले हस्ताक्षर गरी त्यस्तो अपील सार्वजनिक गरेका हुन् ।

यस्तो छ संघको अपील

‘जनताको जीवन रक्षा भन्दा ठुलो मुद्दा अरु हुनसक्दैन, कृपया ! सिंगो राष्ट्र एक ठाँउमा उभिएर जनताको जीवन रक्षाका लागि पहल गरौं ।’

सम्माननीय राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यू, प्रमुख प्रतिपक्ष दल एवं सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज एवं सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरु,

स्वास्थ्य मन्त्रालयको मिति २०७८ वैशाख २८ गतेको विवरण अनुसार कोभिड १९ बाट एकै दिन ९४८३ जनामा संक्रमण पुष्टी भयो, २२५ जनाको मृत्यु भयो । सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना रहेका छन् । अहिले १३७४ जना आइसियू र भेन्टिलेटरमा उपचाररत छन् । यो संख्या दैनिक द्रुततर गतिमा वढेको छ । हाम्रो स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अबस्थामा पुगेको छ ।

अस्पताल आउन नपाएका, आएकालाई फर्काउनु परेका, वचाउन सक्ने अवस्था हुँदाहुँदै एक सिलिन्डर अक्सिजन नपाएर आफ्नै आँखा अगाडि मर्नु परेको, परिवारले प्राण जोगाइदिन गरेको अनुनय विनय, अक्सिजन र शैया भन्दै गरेको हारगुहारको हृदय विदारक दृष्यले हाम्रो भोक, निद्रा सवै लगेको छ । अस्पतालको प्राङ्गणमा भएका दृष्य हुन जुन देख्न हामी विवश छौं । तर, जव सामाजिक सञ्जाल, समाचारहरू हेर्छौं तब जनताका यी पिडा र वेदनाभन्दा अन्य विषयहरू प्राथमिकताका विषय छन, मानौं अस्पतालमा तिहृदय विदारक दृष्य अर्कै लोकका हुन् । अनि अस्पतालमा दिनरात खटेको हाम्रो मन खिन्न हुन्छ, उदेक लाग्छ र प्रश्न गर्न मन लाग्छ –के नेतृत्वदायी भूमिकामा रहेकाहरुका लागि जनताको जीवनभन्दा ठुलो कुरा अरु केही हुन सक्छ ?

हामीले कोरोनाको पहिलो लहरदेखि नै जुनसुकै वेला भयावह अवस्था आउन सक्छ, आवश्यक तयारी गरौं भनेर निरन्तर झक्झकाइ रह्यौं । तर समयमा नसुन्दा, तयारी नगर्दा, प्राथमिकतामा नपर्दा आज नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ, सास्ति व्यहोर्नु परेको छ । आज फेरि पनि केही आशा गरेर यो विन्ती गर्दैछौं । अब केही महिनाका लागि तपाईका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता वनाउनु होस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने ।

यस क्षणमा सम्माननीय राष्ट्रपतिज्यूलाई सवै दलहरूलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न अभिभावकको भुमिका निर्वाह गर्न यस संघ हार्दिक अपिल गर्दछ ।

यस्तो भयावहपूर्ण अवस्थामा नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्न, सम्पूर्ण नागरिकहरुको जीवन रक्षाका निमित्त सबैले हातेमालो गर्दै समन्वयात्मक भूमिका निर्वाह गर्नु अपरिहार्य रहेको छ । यस्तो संकटपूर्ण अवस्थामा कोरोना भाइरससँग लड्नका लागि सम्पूर्ण नागरिकहरु स्वास्थ्य सैनिकको रुपमा आआफ्नो स्थानबाट पहल गर्न नितान्त आवश्यक छ ।

हामी चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेका छौ, गरिरहेने छौं । हिम्मत नगुमाइ कन गर्नेछौं । यो हाम्रो कर्तव्य हो, आज कादिनमा सवैभन्दा ठुलो धर्म हो । राज्य संचालनको जिम्मा लिएकाहरूले पनि हामीले जस्तै आफ्नो जिम्मेवारीवोध गर्दै यो वेलामा त्यसरी नै काम गरिरहनु भएको छ त ? हाम्रो प्रयत्नलाई फलिभुत वनाउन सवैले हातेमालो गररहेका छन् भन्ने अनुभुत गर्न पाए मात्र हाम्रो हिम्मत र प्रयासको अर्थ रहन्छ । तर, विडम्वना हामीले त्यो अनुभुत गर्न पाएनौं । यो लडाई स्वास्थ्यकर्मी वा स्वास्थ्य मन्त्रालयको मात्रै होइन । हामी सवै एकजुट भएर राष्ट्रिय संकल्प गर्न सकेमात्र लडाई जित्न सकिन्छ ।

त्यसैले, फेरि पनि विनीत भएर संघ आग्रह गर्दछ– कृपया आजको दिनमा एकमात्र प्राथमिकतामा कोरोना महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई राखौं । सरकारहरू, राजनीतिक दलहरू, निजीक्षेत्र, सहयोगी निकायहरू सवैले जनताको जीवन रक्षाका लागि कहाँ कति योगदान गर्न सकिन्छ, गरौं । हाम्रो स्वास्थ्य प्रणालीलाई थप ढल्न नदिन सवैले भरथेग गरौं । एउटा राष्ट्रिय संकल्पका साथ यो महामारी विरुद्ध लडौं । हामी कोरोना युद्धमा होमिएका छौं, दृढतापुर्वक खटिने छौं, यतिवेला यो लडाईमा तपाईहरूको संकल्प, सत्प्रयास र साथ चाहिएको छ ।

त्यसैले, नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गर्दै नेपाल चिकित्सक संघ देशभर ‘रेड अलर्ट’ घोषणा गर्दै सबैले आआफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण पेशागत संघ संगठनहरु दाजुभाइ दिदी बहिनीहरु यस युद्ध मैदानमा होमिएर हामीलाई सहयोग र सद्भाव उपलब्ध गराउँदै कोभिड–१९ को महामारीको जालोलाई तोड्नका लागि यस संघ सबैमा हार्दिक अपिल गर्दछ । सर्वसाधारण नागरिकहरुले यस बिषमपूर्ण परिस्थितिमा धैर्यता र संयमता अपनाउँदै स्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गरेर आआफ्नो स्थानमा सुरक्षित रहन समेत हामीहार्दिक अपिल गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.