अक्सिजन उद्योग सञ्चालनमा सेनाले खटायो जनशक्ति

  २०७८ वैशाख २४ गते १७:१४     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । नेपाली सेनाले कोभिड-१९ संक्रमणका कारण अस्पतालमा देखिएको अक्सिजन समस्या सुल्झाउनका लागि बन्द अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग पुर्याएको छ । कोरोनाका कारण मुलुकका विभिन्न अस्पताल पुर्याइएका बिरामीलाई समेत अक्सिजन उपलब्ध गराउन कठिनाइ भएपछि कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) मार्फत अनुरोध भएपछि सेनाले जनशक्ति पठाएर उद्योग सञ्चालनमा सहयोग गरेको हो ।

काभ्रेपलाञ्चोकको पनौतीस्थित नवज्योति अक्सिजन उद्योग अपरेटरका अभावमा बन्द रहेको र काठमाडौं उपत्यकाभित्रकै ठूला अस्पतालमा अक्सिजनको अभाव भएको गुनासो आएपछि विज्ञ प्राविधिक जनशक्ति पठाएर उद्योग सञ्चालन सहयोग गरिएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

उक्त उद्योगमा जडित दुई प्लान्टबाट ४० लिटर क्षमताका दैनिक एक हजारदेखि एक हजार २०० सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने जनाइएको छ । सिसिएमसीमार्फत अनुरोध भएका खण्डमा सेनाले उत्पादित अक्सिजन अस्पतालसम्म ढुवानीका लागि ट्रकसमेत तयारी अवस्थामा राखेको प्रवक्ता पौडेलले जानकारी दिए ।

उक्त उद्योगबाट आजै(बैशाख २४ गते) अक्सिजन वितरण शुरु भइसकेको बताइएको छ । सेनाले उद्योग चलाउन अहिले चार दक्ष अपरेटर खटाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.