दमौली अस्पतालले तयार पार्यो ७ आईसीयू र ४ वटा भेन्टिलेटर कक्ष

  २०७८ वैशाख २० गते १९:५३     विकासन्युज

दमौली । तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पतालले सात आईसीयू र चार वटा भेन्टिलेटरसहितको शय्या तयार पारेको छ । नयाँ भेरियेन्टसहितको कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा अस्पतालले आईसीयू र भेन्टिलेटर कक्ष तयार पारेको हो ।

स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा अस्पतालले आईसीयू र भेन्टिलेटरको व्यवस्थापन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । उक्त आईसीयू र भेन्टिलेटर व्यवस्थापनका लागि मन्त्रालयले अस्पताललाई दुई करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

आईसीयू र भेन्टिलेटरको व्यवस्था भएपछि अब कोभिडका गम्भीर प्रकृतिका बिरामीलाई पनि बाहिर पठाउनु नपर्ने दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले जानकारी दिए । नयाँ उपकरणको जडान गरिए पनि जनशक्ति भने साविककै दरबन्दीबाट मिलाउनुपरेको उनले बताए ।

दमौली अस्पताल परिसरमा अक्सिजन प्लान्ट निर्माण प्रक्रिया पनि शुरु भएको छ । गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि चालु आर्थिक वर्षमा ७५ लाख रूपैयाँ बजेट उपलब्ध गराएको छ । उक्त प्लान्ट निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भई सम्झौता भइसकेको छ । ढिलोमा जेठ महिनाभित्र अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन थालिने अस्पतालले जनाएको छ ।

जिल्लास्तरीय अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौं पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आइरहेको छ । पछिल्लो समय अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ । अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयासस्वरुप थाइराइड, आँखा र दाँत सेवा शुरु भइसकेको छ ।

दमौली अस्पतालबाटै थाइराइड सेवा शुरु भएपछि सर्वसाधारण यसको उपचारका लागि महङ्गो शुल्क तिरेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ पर्ने थाइराइड परीक्षण उपकरण उपलब्ध गराएको थियो ।

त्यस्तै अस्पतालमा नयाँ दाँत हाल्ने सेवा पनि थप गर्न लागिएको छ । हाल उक्त सेवा बाहेक सबै दाँतका सेवा अस्पतालबाट प्रदान भइरहेको छ । दाँतको उपचारका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । उक्त मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएको थियो । उक्त मेसिनको करिब ५० लाख रुपैयाँ पर्छ ।

विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन माग गरिएको छ । विसं २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।

समन्वय प्रमुखको नेतृत्वमा अनुगमन

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण फैलिइरहेको अवस्थामा दमौली अस्पतालले गरेको पूर्वतयारीको बारेमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा आज अस्पतालको अनुगमन गरिएको छ । कोभिड व्यवस्थापनका लागि दमौली अस्पतालले गरेको तयारीका बारेमा जानकारी लिन वाग्लेको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधिले अस्पतालको अनुगमन गरेका हुन् ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलगायत सहभागी थिए । अनुगमन टोलीलाई दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिल पौडेलले अस्पतालले गरेको तयारीका बारेमा जानकारी गराए ।

तनहुँमा निषेधाज्ञा जारी गर्न पालिकाहरुको अनुरोध

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिएपछि तनहुँमा पनि निषेधाज्ञा गर्न स्थानीय तहहरुले अनुरोध गरेका छन् । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा आज दमौलीमा सम्पन्न दशवटै स्थानीय तहका प्रमुखहरु सहभागी बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा गर्न अनुरोध गरेको हो ।

बैठकले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई निषेधाज्ञा गर्न अनुरोध गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । बैठकमा तनहुँ जिल्लाबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु कोभिड अवधिभर आफ्नो पारिवारिक कार्यक्रम (विवाह, ब्रतबन्ध, धार्मिक कार्यक्रम आदि) बाहेकको कार्यक्रममा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् ।

जिल्लाका सबै पालिकाहरुले अक्सिजनलगायतका अत्यावश्यक स्वास्थ सामग्री औषधिलगायत अन्य सामानहरु खरिद गरी भण्डारण गरी मौज्दात राख्ने, विकास निर्माणमा जिल्लाका सबै पालिकाहरुले बाहिरबाट आउने जनशक्ति रोक्ने, नल्याउने साथै स्थानीय जनशक्ति मार्फत विकास निर्माणका कामहरू सुचारु गर्ने, जिल्लाका सबै शिक्षण संस्थाको पठनपाठन र परीक्षा पूर्णरूपमा स्थगित गर्ने निर्णय बैठकले गरेको छ ।बैठकमा दशवटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको सहभागिता थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.