प्रभु क्यापिटलले एक अर्बको फण्ड जारी गर्ने, लगानीकर्ताले ३ गुणासम्म प्रतिफल पाउने

  २०७८ वैशाख १४ गते १८:३७     विकासन्युज

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । बोर्डले बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्काशनका लागि स्वीकृति दिएको हो ।

प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटलले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो । यो योजना १ अर्ब रकम बराबरको रहेको छ जसमा १० करोड युनिट रहनेछन् । कुल १० करोड युनिट मध्ये १ करोड ५ लाख युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन् भने बाँकी ८ करोड ५ लाख युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई खरिद गर्न खुला गर्ने तयारी क्यापिटलले गरेको छ ।

प्रभु क्यापिटलले निष्काशन तथा व्यवस्थापन गर्ने यो योजनाको ट्रष्टिको रुपमा प्रभु बैंक रहेको छ ।

प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्ड नाममा व्यवस्थापन गर्न लागेको यो योजना अहिले सम्म सञ्चालनमा आएका सामुहिक लगानी योजना भन्दा पृथक रहने कम्पनीले जनाएको छ । यसले एक पटकमा बढिमा ३० वटासम्म कम्पनीहरुमा लगानी गरी आफ्नो छुट्टै बेन्चमार्क बनाउनेछ जसलाई नेप्से ३० बेन्चमार्कको रुपमा लिएर पनि लगाीकर्ताले यसमा लगानी गर्न सक्नेछन ।

७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणासम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ । आफुसँग रहेको बचतलाई लगानीमा परिणत गर्दै दीर्घकालमा उच्च प्रतिफल चाहने लगानीकर्ताले ढुक्कसँग यो सामुहिक लगानी योजनामा लगानी गर्न सक्ने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले लगानी व्यवस्थापन तथा योजना व्यवस्थापनका लागि नेपाली पुँजी बजारमा उपलब्ध सबैखाले श्रोतहरुको उच्चतम प्रयोग गर्दै आएको छ । हालको अवस्थामा पनि क्यापिटलले विभिन्न श्रोतबाट जुटाएर गएको १ वर्षयता करिब २ अर्ब रुपैयाँ बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ जसको औषत प्रतिफल निकै आकर्षक रहेको छ जुन नेप्सेको औषत प्रतिफलभन्दा उच्च रहेको छ । त्यसैले क्यापिटलले योजना व्यवस्थापकको रुपमा सञ्चालन गर्न लागेको यो पहिलो योजनामा लगानीकर्तालाई ढुक्क भई लगानी गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.