सेयर बजारका लागि ऐतिहासिक २०७७ सालः कस्तो होला यो वर्ष ?

  २०७८ वैशाख ३ गते १०:१०     मञ्जरी पौडेल

काठमाडौं । गत वर्ष (२०७७ साल) नेपाली पुँजी बजारको लागि सुखद वर्षको रुपमा रह्यो । पुँजी बजार मापक नेप्से इन्डेक्सले अहिलेसम्मकै उच्च विन्दु हासिल गर्यो भने कारोबार रकममा पनि उल्लेख्य सुधार देखियो । दैनिक १० अर्ब रुपैयाँसम्मको हाराहारीमा कारोबार भयो ।

गत वर्ष पुँजी बजारमा प्रविधि भित्र्याउन पनि महत्वपूर्ण कामहरु भए । लगानीकर्ताले आफू बसेकै स्थानबाट सेयर खरिद विक्रीको आदेश दिन सक्ने गरी अनलाइन कारोबारले व्यापकता पायो । आईपीओ भर्ने प्रयोजनकै लागि भएपनि डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेख्य मात्रामा बढ्यो । सिडिएसले आफ्नो क्षमता बढाएका कारण पुँजी बजारमा सुधारका लागि बलियो जग हाल्ने काम भयो ।

यी त गत वर्षका उपलब्धी र आधारहरु भए । अब यो साल नेपाली पुँजी बजारको लागि कस्तो रहला ? सरोकारवालाहरुले गत वर्षको समीक्षा कसरी गरेका छन् भन्ने लगायत विषयमा केन्द्रीत भएर यो सामग्री तयार पारिएको छ ।

पहिला गाली गर्नेहरुले स्यावासी दिन थालेः इन्भेष्टर फोरम

छोटेलाल रौनियार- अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम

२०७६ सालको अन्तिममा कोरोना शुरु भयो । बजार बन्द गर्ने कुरा भयो । हामी लगानीकर्ताले हडताल गर्याैं । २ दिनमा भएको ४ करोडको कारोबारबाट ६४ अर्ब रुपैयाँ नोक्सानी भएछ । हामीले विज्ञप्ति निकालेर करिब डेढ महिना बजार बन्द गर्न लगायौं र बजार बन्द भयो । बजार बन्द भएको अवधिमा नेप्से र वाईको कम्पनीले धेरै काम गरे । अनलाइन प्रणालीमा धेरै सुधार आयो । मेरो सेयरमा पनि सुधार भयो । र, विस्तारै बजारमा प्रवेश हुने लगानीकर्ताको संख्या बढ्दै गयो ।

बजार बन्द गराउनको लागि नेपाल धितोपत्र बोर्डको अन्यत्तै ठूलो साथ रहेको छ । त्यतिबेला सबैले गाली गरेका थिए । त्यो बेला गाली गर्नेले आज स्यावासी दिन थालेका छन् । हामीले बजारको हित होस् भनेरै त्यतिबेला गाली खाई खाई पनि सुधारको लागि नै भनेर पनि निरन्तर अघि बढीरहेका थियौं । बजार बन्द गराउनको लागि नेपाल धितोपत्र बोर्डले अन्यत्तै ठूलो साथ दिएको थियो र बजारमा यत्तिको सुधार आएको हो ।

यो वर्षमा नेपालको पुँजीबजारका सरोकारवालाहरुले पनि धेरै ठूलो काम गरेका छन् । पुँजीगत लाभकर ५ प्रतिशत नै अन्तिम करको रुपमा लागू भयो । ब्रोकरको व्याजदर घट्यो । मौद्रिक नीतिपनि बजारमाप्रति सकारात्मक नै थियो । ब्याजरेट पनि घट्यो । अहिले लगानीकर्ताले औशतमा ८ देखि ८.७२ प्रतिशत भित्रमा व्याज पाइरहेका छन् । यसले पुँजीबजार बढ्नलाई ठूलो मद्दत गर्यो ।

कोभिडले गर्दा विदेशमा बसेका नागरिक अर्थात एनआरएनले पनि नेपाली पुँजीबजारमा लगानी गर्न पाए । यसबाट पनि दिनको ९/१० अर्ब रुपैयाँ दिनको व्यापार भइरहेको छ । नागरिक स्टक डिलरले पनि ब्रोकर लाइसेन्स पाएर हालै बजारमा प्रवेश गरी कारोबार गर्न थालेको छ ।
अहिले लगानीकर्ताको मनोबल पनि उच्च भएको छ । त्यसैले आईपीओमा मात्रै पनि १६ लाख बढीको आकर्षण बढेको छ ।

२०७८ मा पनि बजारमा नयाँ तरङ्ग आउँछ

यो आर्थिक वर्षभरी व्याजदर बढ्ने सम्भावना छैन । राजनितिक अवस्था सामान्य छ । अब जे भएपनि दुई वर्ष बजारमा प्रभाव पार्ने खासै केहि देखिँदैन । वाणिज्य बैंकका सब्सिडजलाई पनि ब्रोकर लाइसेन्स दिने विषय फेरि उठेको छ । एनआरएन भित्र्याउने । यी सबै सकारात्मक पक्षले गर्दा अबको बजारलाई माथि पुग्न धेरै सहयोग पुग्छ । त्यसैले, २०७८ सालमा कारोबार रकम १० अर्ब होइन १५ देखि २० अर्ब रुपैयाँको हाराहारीमा पुग्नु पर्छ । किनभने बजारलाई प्रभाव पार्ने सबै पक्ष राम्रो छ । बजारमा बुलिस ट्रेन्ड शुरु भएको बल्ल एक वर्ष भयो । जुन अझै ३ वर्षको समय बाँकी छ ।

बजार बुलिसभएसँगै लगानीकर्ताको मनोबल पनि बलियो भएको छ । नियामकहरुले पनि लगानीकर्ता लगायत बजारका सरोबारहरुसँग हातेमालो गरेर बजार विस्तारको गृहकार्यलाई फाष्ट ट्रयाकमा अगाडी बढाउँदै लगेको छ । र, अन्तर्राष्ट्रिय लेभलमा जाने कुरा भइरहेको छ । साथै, रियल सेक्टरका कम्पनीहरु बुक बिल्डिङ्ग मार्फत बजारमा आउँदै छन् । यिनै कारण हुन् जसले अबको बजारलाई थप उचाईंमा पुर्याउने छन् ।

अहिले निर्जीवन र जीवन बीमा कम्पनीको अघोषित तरिकाले पुँजी बढाउनु पर्छ भन्ने बजारमा आइसकेको छ । र, माइक्रोफाइनान्सको पनि पुँजी बढाउनु पर्छ भन्ने भइरहेको छ । त्यस्तै, नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ्ग भएका मर्जर गराउने तथा कमजोर बैंकलाई बलियो बनाउने रणनीति बनाएको छ । सोहिअनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्ज हुने प्रक्रियामा रहेका छन् । त्यसैले, बलियो सब्बल तथा ५०औं अर्ब रुपैयाँ बराबरको कोर क्यापिटल भएका बैंकहरु आउने हल्ला भइरहेको छ । यसले गर्दा बजारमा नयाँ तरङ्ग आउने छ ।

एक वर्षको अवधिमा नेप्से परिसूचक १८२१ बाट २७१४ अंकमा पुग्यो । यो अवधिमा परिसूचक ९ सय अंक बढी बढेको छ । परिसूचकमा यति धेरै सुधार आएपनि वाणिज्य बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य बढेको छैन । अन्य बीमा समूह लगायत होटलसमूहहरु पनि बढेका छन् । अहिले बढेको त हालै बजारमा भित्रिएका नयाँ कम्पनीहरु मात्र हुन् । ३५ खर्बको मार्केटमा २४/२५ खर्बको मार्केट त बढेकै छैन ।
यी सबै विषयको पछाडी एउटै के छ भने लगानीकर्ताको मनोबल उच्च भएन भने यी सबै कुरा भएपनि बजार बढ्दैन ।

साथै, नयाँ वर्षको अवसरमा सबै लगानीकर्ताहरुलाई उच्च मनोबलका साथ राम्रो राम्रो कम्पनी छानेर लगानी गर्न शुभकामना छ । राम्रो कम्पनी भन्नाले हरेक वर्ष वार्षिक साधारणसभा गर्ने, हरेक वर्ष लाभांश वितरण गरिरहेको, प्रतिसेयर आम्दानी राम्रो भएको, पीई रेसियो कम भएका कम्पनीमा लगानी गर्नको लागि आग्रह गर्दछु ।

समग्र बजार राम्रो हुँदा हामीलाई पनि राम्रै भयो- ब्राेकर

भरत रानाभाट- पूर्वअध्यक्ष, स्टक ब्रोकर एशोसिएशन

२०७७ सालमा पहिलाको तीन महिना बजार पुरै बन्दै थियो । त्यतिखेर अन्य क्षेत्रलाई जस्तै हामीलाई पनि ठूलै असर थियो । जब असार १५ गतेपछि बजार खुल्न थाल्यो त्यसपछिका दिनहरु ब्रोकरको लागि मात्रै नभएर समग्र बजारलाई नै राम्रो भयो । यो बीचमा कारोबार रकम र नेप्से परिसूचकमा धेरै रेकर्डहरु तोडिएका छन् ।

त्यसैले समग्र बजार राम्रो हुँदा हामीलाई पनि राम्रो नै भयो । घटेर आईसकेको कमिशनलाई पुनः नघटाएको भए हुन्थ्यो भन्ने थियो । अहिले यसलाई सामान्य रुपमा लिएका छौं । कमिशनमा भन्दा पनि हामील समग्र बजार सुधार गर्नतर्फ लाग्यौं र अब पनि लाग्ने छौं ।

लक्षण हेर्दा २०७८ साल अझ सुखमय बन्छ

अब नयाँ वर्ष २०७८ सालमा ब्रोकरको नयाँ टीएमएस (टेडिङ्ग म्यानेजमेन्ट सिस्टम) आउँदै छ । जुन आएपछि ब्रोकरलाई त राम्रो हुने भइहाल्यो यससँगसँगै समग्र बजारलाई राम्रो हुने छ । यसलाई सबै सरोकारवालाहरुले सकारात्मक रुपमा लिएर यथाशिघ्र छिटो ल्याउनु पर्छ भनेर लागिरहेका छौं ।

नयाँ र पुरानो टीएमएसमा फरक के छ ?

यसमा दुई तीन वटा कुराहरु फरक हुन सक्ने छ । पुरानोमा सामान्यतः बाई सेल अडर राख्छौं भने नयाँमा अन्य विशेषताहरु जस्तै, २०० सयको सेयर कुनै दिन ५०० रुपैयाँमा बिक्री होस् भनेर राखेका छौं भने त्यो सेयर केही समयमा बिक्री हुन सक्ने छ । जुन अहिलेको सिष्टममा छैन ।

त्यस्तै, समय परिवर्तनसँगै हामी कम्प्युटरबाट मोबाइल एप्समा आईसकेका छौं । यसको मतलब लगानीकर्ताले अब मोबाइलबाटै पनि सजिलैसँग सेयर किनबेच गर्न सक्ने छन् ।

त्यसैगरी, कुनै कम्पनीको प्राविधिक विश्लेषण पनि गर्न सकिन्छ । अहिले लगानीकर्तालाई कुनै कम्पनीको बारेमा सम्पूर्ण विवरण हेर्नुपर्यो भने कम्पनीको वेवसाइट तथा नेप्सेको साइटमा गएर हेर्नुपर्छ । तर त्यहा पनि उनीहरुले खोजेजस्तो विवरणहरु पाउँदैनन् । अबको नयाँ सिस्टममा चाहिँ एकपटक अपडेट गरिदिइसकेपछि सिष्टमले नै अटोमेटिक रुपमा क्यालकुलेट गर्ने फिचर भएकोले सबैलाई सजिलो हुन्छ भन्ने विश्वास छ ।

यसमा प्रशस्त फिचरहरु रहेका छन् । अब हामीले कति लिन सक्छौं, कसरी प्रयोग गर्न सक्छौं । त्यो आफ्नो कुरा भयो सबै सिष्टम टेस्टेड भइसकेकाले हामीलाई एउटा टाइमसम्म मजाले चलाउन मिल्छ ।

समग्रमा २०७७ साल बजारको लागि जति सुखमय बन्यो अब आउने साल अझ राम्रो हुन सकोस् । अहिलेको बजारको लक्षण हेर्दा राम्रै हुन्छ भन्ने संकेत देखिएको छ ।

२०७७ सालको पुँजीबजारले राज्यलाई ठूलो योगदान गर्यो- सीडीएससी 

पूर्णप्रसाद आचार्य- सीईओ, सीडीएससी

२०७७ पुँजीबजारको लागि एकदमै फलदायी भयो । पुँजी बजारमा नयाँ लगानीकर्ताहरु धेरै नै आकर्षित भए । याे क्षेत्रले सरकारलाई ६/७ अर्बको पुँजीगत लाभकर तिर्न सफल भयो । राज्यको लागि यो क्षेत्रबाट उल्लेख्यरुपमा योगदान भएकोले पनि २०७७ साल एकदमै राम्रो भयो ।

सँगसँगै केही चुनौतिहरु पनि थपिएका छन् । हामीले मेरो सेयरको सुधारका लागि काम गर्दा गर्दै पनि बाहिर त्यो देखिएको छैन । र, गुनासाहरु आइरहेका छन् । हामीले मोबाइल एपलिकेशन लञ्च गर्यौं । लगानीकर्ताको सम्पत्तिको सुरक्षाको हक कायम गर्नको लागि व्यवस्थित गर्दै आईपीओ हेर्नको लागि छुट्टै व्यवस्था गर्र्यौं । एपीआईको सफ्टवेयर डेभलपमेन्ट गर्नको लागि एउटा सम्झौता गरेर केवाईसीको पनि ईओआई मागेका छौं । अत्याधुनिक दुई वटा सफ्टवेयर इन्स्टल गर्याैं । ठूला सफ्टवेयर तथा आईटी अबजरभेसनको लागि पनि काम भइरहेको छ ।

अब मेरो सेयरको सर्भरमा भने समस्या आउँदैन, लगानीकर्तालाई बिना समस्या सेवा दिन प्रयासरत हुनेछौं

मेरो सेयरमा केही समस्याहरु अझै छन् । आगामी वर्षमा लगानीकर्ताले बिना समस्या मेरो सेयरको सेवा लिन सकुन् भन्ने हिसाबले हाम्रो साइडबाट सकेजति सुधारका कामहरु गर्ने योजना रहेको छ ।

सँगसँगै, हामीले गभरमेन्ट सेक्युरिटीहरुका डिम्याट गर्ने काम पनि अगाडि बढेको छ । सीडीएससीको नेतृत्वमा एउटा टेक्निकल कमिटी र राष्ट बैंकको नेतृत्वमा कानुन तथा लिगल फ्रेमवर्क बनाउने कमिटी बनाउने निणर्य भएको छ । कस्तो सफ्टवेयर तथा हार्डवेयर चाहिने हो र कानुनी कुरालाई व्यवस्थित गराउनको लागि यी समिति बन्ने भएका हुन् । यसबाट सरकारी ऋणपत्र कारोबार हुने छ र पुँजीबजारलाई राम्रैसँग चलायमान बनाउँछ भन्ने विश्वास छ ।

हामीले आईटीलाई नै सुधार गर्नको लाग प्रयासरत छौं । अन्य साइडमा समस्या देखिएपनि अब सर्भरको साइडमा भने केही समस्या आउँदैन ।

लगानीकर्तालाई अनलाइन प्रयोग गर्ने बानी बसालिदिएकोमा कोरोनालाई धन्यवाद- नेप्से

चन्द्रसिंह साउद– सीईओ, नेपाल स्टक एक्स्चेञ्ज

२०७७ साल नेपालको पुँजी बजारको लागि उत्साहपद रह्यो । पुँजीबजारको हरेक शीर्षकमा नेप्से परिसूचक, बजार पुँजीकरण, कारोबार, कर, लगानीकर्ताले कमाउनेमा, अनलाइन प्रयोगकर्ताको संख्या बढेको आधार लगायत सबैमा उत्साहजनक भयो । साथै, नेपालमा बसेका लगानीकर्ताले मात्रै नभई विदेशमा बसेका लगानीकर्ताले पनि नेपालको पुँजीबजारमा लगानी गर्नको लागि पहुँच पाए । त्यसैले, लगानीकर्ता, सरकार, नियामक निकाय, नेपालको अर्थतन्त्र लगायत इसेवाको सेवा प्रदान गर्ने भेन्डर कम्पनीहरुलाई पनि उत्साहजनक नै भयो । अरु क्षेत्र खस्किएता पनि पुँजीबजार धेरै माथि उठेको र २०७७ साल पुँजीबजारको लागि सुनौलो रह्यो ।

यसको श्रेय एउटा कोरोनालाई पनि जान्छ । जो जहाँ छ त्यहिबाट कारोबार गर्ने माहोलको सृजना भयो । अनलाइन सिस्टमले गर्दा पनि लगानीकर्ताको संख्या ह्वात्तै बढ्यो । हामीले अनलाइन त कोरोना अघि नै प्रयोगमा ल्याएका थियौं । तर त्यति खेर प्रयोगकर्ता धेरै थिएनन् । कोरोनाले अनलाइन प्रयोग गर्ने लगानीकर्ताको बानी विकास चाहि गरिदियो ।

कोरोनाअघि १० देखि १२ हजार लगानीकर्ता अनलाइनमा आवद्द थिए । अहिले उक्त संख्या बढेर ६ लाख पुगिसकेको छ । नेपालमा अनलाइनबाट कारोबार गर्नेको संख्या नै ८० प्रतिशत बढी नाघिसकेको छ । जुन भारतको तुलनामा बढी हो ।

यो वर्ष लगानीकर्तालाई नयाँ प्रडक्ट ल्याउँदै छौं
नयाँ सालमा पुँजीबजार के होला त्यो भन्न त सकिँदैन । तर पनि हालसम्म हाम्रो बैंकिङ्ग क्षेत्र बढीनसकेकाले आगामी दिनमा उक्त क्षेत्रमा बढी चमक देखिएला की जस्तो लाग्छ ।

२०७८ सालमा हामी लगानीकर्ताको लागि नयाँ प्रडक्ट ल्याउँछौं । हामीसँग भएको प्लेटफर्मलाई थप मोडिफाई गर्छौं । लगानीकर्तालाई मात्र होइन नेपाल सरकारको राजस्व बढाउनको लागि नेप्सेले धेरै कामहरु गरिराखेको छ । अबको वर्षमा बुक बिल्डिङ्को माध्यमबाट सेयर कारोबार गराउने छौं । र, यो सँगसँगै ऐनमा भएका अनुसार इन्ट्रा डे, एक्सन, ल्याडिङ्ग जस्ता पूर्वाधारहरु ल्याउने तरखरमा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.