हामीले गाउँपालिकामा बालमैत्री शासन लागू गरेका छौं- अध्यक्ष सिलवालसँगको कुराकानी

  २०७७ चैत २० गते १८:०३     विकासन्युज

नेपालको बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाँउपालिका हो सिद्धलेक गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक किसिमको विशेषता बोक्न सफल पनि छ ।

७ ओटा वडा रहेको यो गाउँपालिका १ सय ६ दशमलव ९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकाको पूर्वतर्फ निलकण्ठ नगरपालिका र गल्छी गाउँपालिका, पश्चिममा गोरखा जिल्ला, उत्तरमा ज्वालामुखी गाउँपालिका र निलकण्ठ नगरपालिका एवं दक्षिणमा गजुरी र बेनिघाट रोराङ गाउँपालिका रहेका छन् ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ?

गाउँपालिकाकै ठुलो योजनाका रूपमा खानेपानीको योजना रहेको छ । गाउँपालिकामा ८ ओटा डिप बोरीेङ पनि सञ्चालनमा आएका छन् । गैर सरकारी निकाय र गाउँपालिकाको साझेदारीमा खानेपानीको काम भएको छ । डिप बोरिङ खानेपानी योजनामा १४ करोड रुपैयाँ बराबरको बजेट खर्च भएको छ । गाउँपालिकाको सडकको स्तरोन्नती गरेर ७० किलोमिटर सडकलाई पिच गर्न सुरु पनि गरेका छौं । ३ ओटा साविकको गाविस मिलेर हाम्रो गाउँपालिका बनेको छ । ३ ओटा सडकको स्तरोन्नती गर्नको लागि १२ करोड रुपैयाँ खर्च भएको छ । गाउँपालिकाको वडामा मात्र नभएर टोल टोलमा पनि सडक पुगेको छ । गाउँपालिकाको थोरै घर वाहेक बिजुली पनि पुगि सकेको छ ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । कृषि प्याकेजका कार्यक्रमहरु पनि संघ र प्रदेशबाट परेको छ । कृषि गर्ने कृषकको लागि ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर पनि वितरण गर्दै आएका छौं । अहिलेसम्म हामीले करिब ३ सय ओटा हाते ट्«याक्टरहरु वितरण गरिसकेका छौं ।

किसानलाई मौरीका घार पनि वितरण गरेका छौं । भँैसी पालन गर्न कृषकको लागि नगद अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । कृषक महिला समुह पनि गाउँपालिकामा गठन भएको छ । समुहगत रूपमा ४० हजार बाख्रा महिला समूहले पालन गरेका छन् । महिलाहरुले दशैँमा मात्र ८ हजार खसी बिक्री गर्ने गरेका छन् । हाम्रो गाउँपालिकामा कृषि उपज सङ्कलन केन्द्र पनि स्थापना भएको छ ।

कुखुरापालन पनि गाउँपालिकामा उत्साहजनक छ । व्यवसायिक रूपमा गाउँपालिकामा कृषि खेतीको पनि सुरुवात भएको छ । गाउँपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र धेरैजसो ५० प्रतिशत अनुदानको बिउ वितरण गर्दै आएका छौं । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं ।

आधुनिक कृषि प्रणालीलाई पनि हामीले विशेष जोड दिएका छौं । कृषकलाई कृषि सम्बन्धी तालिमको पनि व्यवस्था मिलाएका छौं । गाउँपालिकामा मकै ब्लक क्षेत्र पनि छुट्याएका छौं । वडा नं. ६ लाई बाख्रा ब्लक क्षेत्रको रूपमा छुट्याएका छौं । भँैसीपालन गर्नको लागि २५ लाख रुपैयाँ प्रदेश र संघबाट आएको बजेट वडा नं ३ र ४ लाई छुट्याएका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँको नागरिकहरु वैदेशिक रोजगारीको लागि पनि गएका छन् । प्रतिशतमै भन्नुपर्दा करिब ७५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । यो वर्षबाट कृषकलाई अनुदानको रूपमा नगद पुरस्कार दिने पनि भनेका छौं । साना किसान सहकारीलाई पनि गाउँपालिकाले प्रवद्र्धन गराउने र सहकारीले उत्पादनको आधारमा नगद दिने व्यवस्था मिलाएको छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । वडा नं. २ मा सिद्धबाबाको मन्दिर रहेको छ । सिद्धबाबाको नाम बाट नै हाम्रो गाउँपालिकाको नाम सिद्धलेक राखिएको हो । यहाँ बेला बेलामा मेला पनि लाग्ने गरेको छ । शिवरात्रीको समयमा सिद्धबाबा भएको ठाउँमा हजारौं मानिसको उपस्थिती रहेको थियो । हाम्रो गाउँपालिका बुढिगण्डकी आयोजना सफल भएको खण्डमा पर्यटकीय क्षेत्रको लागि ठुलो महत्वपुर्ण पनि हुन सक्छ ।

गाउँपालिकाको वडा नं ५ मा होमस्टे पनि सञ्चालन भएको छ । पर्यटकका लागि गाउँपालिकामा खानेबस्ने सुविधासहितका होटलहरु पनि सञ्चालनमा छन् । गाउँपालिकामा कफि डाँडा पनि रहेको छ जहाँ अर्गानिक कफि खान पनि पाइन्छ । पर्यटन विकासका लागि पर्यटन सम्बन्धि योजनाहरु पनि तयार पारेका छौं । हामीले गाउँपालिकाको पर्यटन पूर्वाधारमा पनि विशेष जोड दिईरहेका छौं । नेचरक्याम पनि गाउँपालिकामा सञ्चालन भएको छ ।

स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

आधारभुत स्वास्थ्य चौकीहरु गाउँपालिकाको सबै वडामा छन् । गाउँपालिकामा ३ ओटा स्वास्थ्य चौकी, ४ ओटा आधारभूत स्वास्थ्य चौकी तथा ५ ओटा स्वास्थ्य विन्दुहरु रहेका छन् । कोभिडको प्रभाव फेरी प¥यो भने कोभिड नियन्त्रण गर्ने सामान्य व्यवस्था पनि मिलाएका छौं । गाउँपालिकामा आवश्यकता अनुसार स्वास्थ्य भवनहरु रहेका छन् । स्वास्थ्यसम्बन्धी जानकारी पनि स्वास्थ्यकर्मीहरुले दिइरहनुभएको छ ।

यसै वर्षबाट हामीले ६० वर्ष पुगेका बृद्ध बाआमालाई स्वास्थ्य स्याहारसुसार गर्नको लागि समिति पनि गठन गरेका छौं । गाउँपालिकाका स्वास्थ्यकर्मीहरू परिचालन गरी बृद्ध बाआमाको जानकारी लिने काम पनि भएको छ । बृद्ध बाआमाले बृद्ध भत्ता पनि पाइरहनुभएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलमा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँपालिकामा लागु भएको छ जस अन्तर्गत वडा नं २, ४ र १ मा १५ लाख रुपैयाँ बजेट छुट्याएका छौं । युवाहरुको व्यवसायलाई प्रवद्र्धन गर्नको लागि गाउँपालिकाले युवाले गर्न लागेको व्यवसायको पहिचान गरी युवाको आय दर्ता गरेको खण्डमा उनीहरुलाई सुलभ ऋण दिने व्यवस्था पनि मिलाएका छौं । कृषि व्यवसाय गर्न कृषकलाई धेरै ऋण दिनसक्ने अवस्था त छैन तर पनि गाउँपालिकाको सिफरिसमा कुमारी बैंकबाट युवाले ४ प्रतिशत व्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण पाउँछन् ।

युवाहरु मनोरञ्जन तिर बढि लागेको पाइन्छ । काम गर्ने तथा स्वारोजगार बन्ने युवाहरुको मानशिकता देखिँदैन । खेलकुद तर्फ पनि धेरै युवाहरु लागेका छन् । अहिलेको समयमा युवाहरु कुलतमा पनि फसेको पाइन्छ । बालमैत्री शासन पनि हामीले गाउँपालिकामा लागु गरेका छौं ।

गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ?

हाम्रो गाउँपालिकामा १३ ओटा माध्यमिक विद्यालय र ३४ ओटा आधारभूत प्राथमिक विद्यालयहरू रहेका छन् । ५ कक्षासम्म मात्र भएका विद्यालयहरुमा एक दरबन्दी अनुदानको रूपमा थपेका छौं ।

५ कक्षासम्मको विद्यार्थीहरुलाई हामीले ड्रेसको पनि व्यवस्था मिलाएका छौं । शिक्षकले लगाउने ड्रेस पनि नेपाल सरकारले तोकेकोभन्दा फरक र भिन्न बनाएका छौं । विद्यालयको भवनहरू निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिएका छौं ।

गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्राविधिक शिक्षाको लागि पनि विशेष जोड दिएका छौं । जो–जो सरकारी कर्मचारी, जनप्रतिनिधि, शिक्षक हुनुहुन्छ ती सबैका बालबच्चा सामुदायिक विद्यालयमा पढाउनु पर्ने तथा निजी विद्यालयमा पढाउन नपाइने निर्णय पनि गरेका छौं ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताईदिनुस् न

पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । पहिला कर्मचारीहरूले चलाइरहनुभएको थियो । हाल देखिने खालका कामहरू पनि धेरै भएका छन् । संरचना पनि बनेका छन् । अहिले गाउँपालिका भित्र सडकको विकास भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । जनताको आवश्यकता पुरा गर्नमा हामी खटिरहेका छौं । हाल गाउँपालिकाको कुनै पनि सेवा प्रवाहमा समस्या रहेको छैन ।

सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रहरु रहेका छन् । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम अगाडि बढिरहेको छ ।

खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ?

खेलकुद विकासको लागि हामीले खेलकुद समितिको गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रम कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका हुन्छौं । गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् ।

खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । खेल मैदानको व्यवस्था पनि हामीले गरिरहेका छौं ।

यस अवधिमा बजेट के कति खर्च भयो ? खर्च अनुसार उपलब्धि प्राप्त भएको छ ?

पहिलो वर्षमा गाउँपालिकामा ३२ करोड रुपैयाँ बजेट आएको थियो । विकास बजेट भनेर १७ करोड रुपैयाँ आउने गरेको छ । बाढी, पहिरो गएर गाउँपालिकामा सडक बाटो आदि तहसनसह भएका थिए । यसको स्तरोन्नती गर्नको लागि २ करोड ५० लाख रुपैयाँ लाग्यो । विकास गरे अनुसारको खर्च हुने गरेको छ । खर्च गरे अनुसार उपलब्धि पनि राम्रो नै भएको छ । खानेपानीको काम भइरहेको छ । कच्चि सडकहरु पिच हुन थालेका छन् । परिवर्तन भनेको जनताले महशुस गर्ने कुरा पनि हो । गाउँपालिकामा विकास निर्माणको कामहरूको अनुगमन पनि हामी गरिरहेका हुन्छौं ।

केन्द्र र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ?

समन्वय गरेरै काम गर्ने गरेका छौं । प्रदेश र केन्द्र सरकारले व्यवस्था गरेका प्रतिनिधिका कुराहरू अवलम्बन गर्नुपर्छ । विकास निर्माणको कुरामा पनि हाम्रो समन्वय भएको छ । ठुला–ठुला योजनाहरू हामीले प्रदेश र केन्द्र सरकारसँग माग गर्छौं र विकास निर्माणको काम अगाडि बढाउँछौं ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ?

हाम्रो गाउँपालिकामा ठुला उद्योगहरु त छैनन् नै । उद्योग सञ्चालन गर्नको लागि गाउँपालिको क्षमताले भ्याउँदैन । गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योग भने केही मात्रामा छन् । पालिकामा बरु कृषि उद्योग धेरै संख्यामा छन् । कृषकहरूले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायतका काम गर्दै आएका छन् ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ त ?

हामीले सुरु गरेका योजनाहरू सम्पन्न गर्ने हो । बनिरहेका सडक तथा पुलका संरचनाहरू पूरा गर्ने पनि योजना रहेको छ । ४५ सय धरधुरीलाई ‘एक घर एक धारा’ पुगिसकेको छ । बाँकि ठाउँमा पनि पुर्याउने मेरो योजना छ । खानेपानीलाई दिगो बनाउनको लागि खानेपानी परियोजना सञ्चालन गरेर वैकल्पिक व्यवस्थापन गर्ने हो । शिक्षा तथा स्वास्थ्यलाई गुणस्तरीय बनाउने योजना बनाएको छु । कृषिमा कृषकहरुलाई आत्मनिर्भर बनाउने पनि योजना बनाएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.