राष्ट्र बैंकको एक निर्देशनले १७ बैंकका सेयरधनीको ७ अर्ब रुपैयाँ चैट

  २०७७ चैत १७ गते १६:१५     मञ्जरी पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको एक निर्देशनले १७ बैंकका सेयरधनीको करिब ७ अर्ब रुपैयाँ चैट भएको छ । कोभिड महामारीको कारण समस्यामा परेका ऋणीलाई सरकारले सहयोग नगरी बैंक तथा वित्तीय संस्थाहरुलाई व्याज छुट दिन निर्देशन दिएको कारण सेयरधनीले पाउने सम्भावित लाभांश रकम गुमेको हो ।

राष्ट्र बैंकले दिएको निर्देशन अनुसार व्याज छुट दिदाँ १७ वाणिज्य बैंकले मात्रै ६ अर्ब ७९ करोड ६४ लाख रुपैयाँ छुट दिएका छन् । बैंकहरुले त्यस्तो छुट नदिएका भए सो रकम नाफामा जोडिन्थ्यो र सेयरधनीले लाभांशको रुपमा पाउने थिए ।

साथै, आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरुले आफ्नो लक्ष्य अनुसारको प्रगति हासिल गर्न सकेनन् । अघिल्लो वर्षको तुलनामा उनीहरुको आम्दानी घट्यो, निष्कृय कर्जा बढेर खुद नाफामा ह्रास आएको देखिन्छ । कारण एउटै थियो कोरोना महामारी ।

सरकार तथा नेपाल राष्ट्र बैंकबाट कोभिड-१९ महामारीले प्रभावित उद्योग, व्यापार र व्यवसायहरुलाई बैंकहरु मार्फत व्याज छुटलगायत राहत प्रदान गर्न ल्याइएका विभिन्न छुट तथा राहत कार्यक्रमका कारण बैंकहरुको आम्दानीमा असर परेको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको कार्यान्वयन गर्दा व्याज छुट, मिनाहाका कारण बैंकको आम्दानीमा सो परिणामको कमी आएको बैंकहरु बताउँछन् । राष्ट्र बैंकले कोभिड-१९ को असरले गर्दा ऋणीहरू मर्कामा परेको र ऋण तिर्ने क्षमतामा ह्रास आएको कारण नेपाल राष्ट्र बैंकले त्यस्ता ऋणीहरूको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको व्याजमा २ प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो ।

कोभिड-१९ कारण समस्याग्रस्त रहेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारले अगाडि सारेको वित्त नीति तथा नेपाल राष्ट्र बैंकले अगाडि सारेको मौद्रिक नीति कार्यान्वयनमा बैंकहरु प्रतिबद्ध देखिएका थिए ।

कोभिड-१९ ले विभिन्न क्षेत्रमा पारेको आर्थिक प्रभाव न्यूनिकरण गर्न राहत स्वरुप विभिन्न वाणिज्य बैंकले ऋणीहरुलाई विशेष सहुलियत दिएका छन् । कूल वाणिज्य बैंकमध्ये रकमका आधारमा सबैभन्दा बढी राहात ग्लोबल आईएमई बैंकले दिएको देखिन्छ ।

कुन बैंकले कति दिए छुट ?

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष कोभिड–१९ बाट उद्योग व्यवसायमा परेको असर न्युनीकरण गर्न ४९ करोड ९६ लाख रुपैयाँ सहयोग गरेको छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको कार्यान्वयन गर्दा व्याज छुट, मिनाहाका कारण बैंकको आम्दानीमा सो परिणामको कमी आएको बैंकले जानकारी दिएको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको ४१ करोड ६७ लाख रुपैयाँ बराबरको व्याज छुट प्रदान गरेको छ । त्यस्तै, २०७६ चैत मसान्तमा किस्ता बुझाउने ऋणीलाई सो किस्तामध्ये व्याजको १० प्रतिशत फिर्ता दिने निर्देशन अनुरूप २ करोड ५६ लाख रुपैयाँ फिर्ता दिएको बैंकले जनाएको छ । जसले गर्दा लक्ष्य अनुसारको व्याज आम्दानी आर्जन गर्न नसकिएको बैंकको भनाई छ ।

एनसीसी बैंक

एनसीसी बैंकले कर्जा प्रवाह भई सञ्चालनमा आएका तथा आउन लागेका विभिन्न आयोजना, उद्योग तथा व्यवसायलाई सहुलियत प्रदान गर्न ऋणको व्याजमा बैंकका तर्फबाट ३२ करोड ९७ लाख रुपैयाँ छुट गरेको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण नेपाल सरकारले घोषणा गरेको लामो बन्दाबन्दी तथा निषेधाज्ञाका कारण बैंकबाट कर्जा प्रवाह भई सञ्चालनमा आएका तथा आउन लागेका विभिन्न आयोजना, उद्योग तथा व्यवसायलाई सहुलियत प्रदान गर्न ऋणको व्याजमा छुट गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुरूप सो रकम छुट दिइएको बैंकको भनाइ छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि नेपाल राष्ट्र बैंकको निर्देशनलाई कार्यान्वयन गर्दै ऋणीलाई ५५ करोड रुपैयाँ व्याज छुट प्रदान गरेको छ । बैंकले कोरोना महामारीले पीडित ऋणीलाई राहत प्रदान गर्न चौथौं त्रैमासको व्याजदरमा २ प्रतिशत घटाई सो परिणामको व्याज छुट दिएको हो ।

नेपाल बैंक

नेपाल बैंकले पनि कोभिड १९ बाट प्रभावित उद्योग, पेशा तथा व्यवसायको पुनरुत्थानमा सहयोग पुर्याउन २०७६ मा व्याज छुट बापत २८ करोड ६८ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।

त्यस्तै, कोभिड १९ बाट प्रभावित व्यवसायलाई लक्षित गरी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ग्रेस अवधि सम्बन्धी कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बैंकले जनाएको छ ।

प्राइम बैंक

प्राइम बैंकले ऋणीलाई करिब ५० करोड रुपैयाँ बराबरको व्याज छुट प्रदान गरेको छ । प्रभावित क्षेत्रलाई प्रत्यक्ष व्याज छुट, व्याजदर तथा पेनाल व्याजमा छुट तथा अन्य सहुलियतहरु प्रदान गर्दा बैंकको आम्दानीमा पनि केही नकारात्मक प्रभाव पर्न गएको र सो रकम बराबरको व्ययभार व्यहोर्नुपरेको जानकारी गराएको छ । साथै, यस अतिरिक्त बैंकले आफ्नो आधार दरमध्येबाट पनि ऋणीहरुलाई छुट दिएको जानकारी गराएको छ ।

सनराइज बैंक

सनराइज बैंकले पनि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ऋणीहरुलाई करीब ३३ करोड १४ लाख रुपैयाँ बराबरको रकम व्याज छुट दिएको छ ।

एनआईसी एशिया बैंक

एनआईसी एशियाले पनि कोभिड-१९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न व्याज दरमा विभिन्न किसिमको सहुलियत प्रदान गरेको छ । राष्ट्र बैंकको व्याज सहुलियत निर्देशिकाको पूर्ण कार्यान्वयन गर्नुका साथै बैंकले आफ्नै नीति अनुरुप व्याज रकममा १० प्रतिशत छुट दिँदै कुल ३८ करोड ६ लाख रुपैयाँ सहुलियत दिएको जानकारी दिएको छ ।

सानिमा बैंक

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सानिमा बैंकले ऋणीहरुलाई ४० करोड रुपैयाँ व्याज छुट दिएको छ । जसको कारण बैंककोे व्याज आम्दानीमा संकुचन आउन गएको छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आइएमई बैंकले २०७६ को चैत महिनामा आफ्ना ऋणीलाई कुल व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्दा ४ करोड ५० लाख रुपैयाँ बराबरको छुट प्रदान गरेको जानकारी दिएको छ । चैत महिनामा परिपक्क भएको कर्जाको सावाँ व्याज भुक्तानी गर्नेलाई नेपाल राष्ट्र बैंकको कोभिड–१९ राहत सम्बन्धी परिपत्रका आधारमा उक्त छुट प्रदान गरिएको हो ।

बैंकले योग्यताबाहिर परेका केही बाहेक धेरैजसो ऋणीहरुलाई दुई प्रतिशत व्याज छुट दिँदा ७३ करोड रुपैयाँ छुट भएको बैंकको भनाइ छ । यसका अतिरिक्त बैंकले जरिवाना शुल्क र केही अन्य शुल्क र कमिशनहरु समेत २०७६ चैतदेखि २०७७ असारसम्म ऋणीहरुलाई छुट दिएको थियो । यसको फलस्वरुप ऋणको औसत प्रतिफल दरमा १.५ प्रतिशतले कमी आएकोले ७ करोड ८० लाख रुपैयाँ जति व्याज आयमा नकारात्मक प्रभाव परेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले ऋणीलाई व्याजदरमा २ प्रतिशत छुट प्रदान गर्दा ३६ करोड ६० लाख रुपैयाँ छुट दिएको छ । त्यस्तै, चैतको व्याज रकममा १० प्रतिशतले हुन छुट प्रदान गर्दा ३ करोड १२ लाख रुपैयाँ छुट हुन एको बैंकको भनाइ छ ।

नेपाल बङ्गलादेश बैंक

नेपाल बङ्गलादेश बैंकले गत बैशाखदेखि असोजसम्म ऋणीलाई व्याजदरमा २ प्रतिशत अर्थात ६ करोड ७१ लाख रुपैयाँ छुट दिएको थियो । त्यस्तै, चैतको व्याज रकममा १० प्रतिशतका दरले छुट दिदाँ १ करोड ३ लाख रुपैयाँ छुट भएको छ ।

यससँगै बैंकले कोरोना महामारीको समयमा ऋणीलाई कूल ७ करोड ७४ लाख ९७ हजार ६१३ रुपैयाँ बराबरको छुट दिएको थियो ।

मेगा बैंक

मेगा बैंकले २०७६ चैत महिनाको मासिक र त्रैमासिक व्याज भुक्तानीमा १० प्रतिशत र बैशाख, जेठ र असारको व्याजमा २ प्रतिशतका दरले छुट दिदाँ ३१ करोड ६० लाख रुपैयाँ छुट भएको बैंकको भनाइ छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले कोरोना महामारीमा ऋणीलाई ४५ करोड ९२ लाख रुपैयाँ छुट प्रदान गरेको छ ।

कुमारी बैंक

कुमारी बैंकले गत बैशाख, जेठ र असार महिनाको व्याजदरमा २ प्रतिशत छुट दिदाँ २७ करोड ७४ लाख रुपैयाँ छुट दिइएको जानकारी दिएको छ । त्यस्तै, बैंकले २०७६ को चैतमा किस्ता तिरेका ऋणीलाई व्याज रकममा १० प्रतिशत छुट दिदाँ १ करोड ६६ लाख ९६ हजार ८९३ रुपैयाँ छुट भएको जनाएको छ । व्याजदरमा २ प्रतिशत छुट र व्याज रकममा १० प्रतिशत छुट दिदाँ बैंकले गत आर्थिक वर्ष २९ करोड ४१ लाख ८४ हजार रुपैयाँ बराबरको छुट प्रदान गरिएको जानकारी दिएको छ ।

प्रभु बैंक

प्रभु बैंकले गत आवको चौथो त्रैमासमा ऋणीलाई व्याजदरमा २ प्रतिशत छुट दिएको छ । सो अवधिमा बैंकले १८ हजार ६०७ जना ग्राहकलाई ४१ करोड ५४ लाख रुपैयाँ छुट दिएको थियो ।

त्यस्तै, बैंकले ९ हजार ३९७ जना ग्राहकलाई चैतको व्याज रकममा १० प्रतिशतका दरले हुने २ करोड १९ लाख रुपैयाँ छुट दिएको थियो ।

सिटिजन्स बैंक इन्टरनेशनल

सिटिजन्स बैंक इन्टरनेसनलले चैत्र मसान्त २०७६ मा तिर्नुपर्ने व्याजमा १० प्रतिशत छुट वापत २ हजार ६९ ग्राहकलाई कुल ९५ लाख ४२ हजार रुपैयाँ छुट दिएको थियो । त्यस्तै, चैत मसान्तमा कायम रहेको व्याजदरमा उल्लेखित ऋणीहरुलाई २ प्रतिशत व्याज छुट वापत २२ हजार ४७२ ग्राहकलाई ३१ करोड रुपैयाँ छुट प्रदान गरेको जानकारी गराएको छ ।

अरु बैंकको कति ?

हामीले यो जानकारी बैंकहरुले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा तयार पारेका हौं । त्यसैले आफ्नो वार्षिक प्रतिवेदनमा सो रकम उल्लेख नगरेका बैंकहरुले कति रकम छुट दिए भन्ने विवरण यहाँ समेटिएको छैन ।

कूल वाणिज्य बैंकमध्ये केही बैंकले भने कति रकम बराबरको छुट दिएको खुलाएका छैनन् । कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी बैंक, सेञ्चुरी बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाण्डू, हिमालयन बैंक,स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिभिल बैंकको आम्दानीमा असर परेको जनाएका छन् । तर, उनीहरुले ऋणीलाई कति रकम बराबरको छुट दिएको भन्ने खुलाएका छैनन् ।

जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले सो अवधिमा ११ हजार ९९६ जना ऋणीलाई २ प्रतिशत छुटमा व्याज प्रदान गरेको जानकारी गराएको छ ।

One comment on "राष्ट्र बैंकको एक निर्देशनले १७ बैंकका सेयरधनीको ७ अर्ब रुपैयाँ चैट"

  • Balkrishna Tripathi says:

    माथि जति करोड भनिएको छ नि त्यसको २% मात्र हो है,

    जस्तो : NIBL को ५५ करोडनै छुट दिएको हैन, केवल त्यसको २% आउने रकम मात्र हो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.