महानगरको राजश्व अनुगमन : कर तिर्नेलाई धन्यवाद, नतिर्नेलाई हाजिर हुन निर्देशन

  २०७७ चैत ९ गते १६:०४     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपालिका अन्तरगतको राजस्व विभागले कर नतिरेको भन्दै बजार अनुगमन सुरु गरेको छ । आईतबारबाट विभागका प्रमुख डा. शिवराज अधिकारीको नेतृत्वमा थालिएको अनुगमनका क्रममा कर तिर्नेलाई धन्यवाद पत्र र नतिर्नेलाई विभागमा हाजिर हुने पत्र थमाउन थालेको हो ।

व्यवसाय दर्ता नगर्ने, वहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शंका लागेका व्यवसायीलाई ७ दिनको समय दिएर विभाग बोलाइएको महानगरले जनाएको छ । बजार अनुगमन टोलीले आईतबार नयाँ सडक क्षेत्रको बजारको अनुगमन गरेको थियो ।

राजश्व विभागका प्रमुख अधिकारीका अनुसार सोमबारको लाजिम्पाटदेखि पानी पोखरी हुँदै महाराजगञ्जसम्मका पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा व्यवसाय दर्ता र नविकरण, बहाल कर, सम्पत्ति करलगायत महानगरमा बुझाउने पर्ने कर तिरे नतिरेको अनुगमनका क्रममा हेरिएको थियो ।

‘एउटै घरका दुईवटा सटरको भाडा दर धेरै रकमले तलमाथि देखियो । एउटा सटरको भाडा १० हजार रुपैयाँ, अर्कोको २० हजार रुपैयाँ र छिमेकीको ४० हजार रुपैयाँ छ । भाडा दरमा यति धेरै तलमाथि हुनुलाई हामीले राजस्व असुली र राजस्व प्रशासनका कोणबाट गम्भीरताका साथ हेरेका छौँ, उनले भने, ‘जागरणमुलक र शिक्षामुलक कार्यक्रमबाट करदातालाई करका विषयमा जानकारी दिन्छौं र कानुनले दिएको अधिकार प्रयोग गरेर राजस्व असुली गर्ने अबको हाम्रो योजना हो ।’

उनका अनुसार व्यवसाय दर्ताको अवस्था ठीकै रहेता पनि बहाल कर तिर्ने करदाताको संख्या कम देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.