एक महिनामै नबिलले ६७.३३ प्रतिशतले व्याज बढायो, मेगाको ५७ प्रतिशतले बृद्धि

  २०७७ चैत १ गते १५:०७     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले व्याजदर बढाउन थालेका छन् । कोभिड महामारीका कारण थला परेको अर्थतन्त्र चलायमान हुन थालेका कारण कर्जाको माग बढेकोले बैंकहरुले निक्षेपको व्याज बढाउन थालेका हुन् ।

बैंकहरुले प्रकाशित गरेको विवरणले एक महिनाको बीचमा निक्षेपको व्याज ६७ प्रतिशतसम्मले बढेको देखाएको छ । निक्षेपको व्याज सबैभन्दा धेरै बढाउनेमा अहिले नबिल बैंक अगाडि देखिएको छ ।

धेरै परिसुचकमा अब्बल रहेको नबिल बैंकले निक्षेपको व्याज सबैभन्दा बढी बढाएपछि त्यसको असर अन्य वाणिज्य बैंकहरुमा पनि पर्ने देखिएको छ । नबिल बैंकले गत फागुन १ गतेको तुलनामा ६७.३३ प्रतिशतले व्याज बृद्धि भएको सुचना चैत १ गते प्रकाशित गरेको छ ।

नबिलले प्रकाशित गरेको सुचना अनुसार गत फागुन १ गते सो बैंकले निक्षेपमा सबैकम व्याज १.५ प्रतिशत दिन्थ्यो । चैत १ गते प्रकाशित सुचनामा नबिलले निक्षेपमा सबैभन्दा कम व्याज २.५१ प्रतिशत दिने भनेको छ । यो एक महिनाको बीचमा नबिलले ६७.३३ प्रतिशतले निक्षेपको व्याज बढाएको देखिएको हो ।

यस्तै, मेगा बैंकले पनि एक महिनाको बीचमा निक्षेपको व्याज निकै बृद्धि गरेको सुचना प्रकाशित गरेको छ । मेगाले गत फागुनमा प्रकाशित गरेको सुचनामा बचत निक्षेपको न्यूनतम व्याज ३.५ प्रतिशत थियो । चैत १ गते प्रकाशित सुचनामा न्युनतम व्याज ५.५ प्रतिशत दिने भनिएको छ । एक महिनाको बीचमा मेगाले बचत निक्षेपमा ५७.१४ प्रतिशतले व्याज बढाएको छ ।

एक महिनाको बीचमा सिभिल बैंकले पनि बचत निक्षेपको व्याज उल्लेख्य मात्रामा बढाएको छ । सिभिलले गत फागुनमा प्रकाशित गरेको सुचनामा निक्षेपको न्यूनतम व्याज २.५१ प्रतिशत दिने भनेको थियो । चैतमा प्रकाशित सुचनामा ३.७५ प्रतिशत दिने भनिएको छ । एक महिनाको बीचमा सिभिलले निक्षेपको न्यूनतम व्याजदर ४९.४ प्रतिशतले बढाएको छ ।

एनआईसी एसिया बैंकले एक महिनामा नै निक्षेपको व्याजदर ४० प्रतिशतले बढाएको छ । गत फागुन महिनामा एनआइसी एसियाले बचत निक्षेपमा न्युनतम १.५ प्रतिशत दिने सुचना प्रकाशि गरेको थियो । चैतमा प्रकाशित गरेको सुचनामा एनआइसी एसियाले बचत निक्षेपमा न्युनतम २.१ प्रतिशत व्याज दिने भनेको छ ।

लक्ष्मी बैंकले एक महिनाको बीचमा बचत निक्षेपको न्युनतम व्याज २५ प्रतिशतले बढाएको छ । सो बैंकले गत फागुनमा प्रकाशित गरेको सुचनामा बचत निक्षेपमा न्युनतम व्याज २ प्रतिशत दिने भनेको थियो । चैतमा प्रकाशित सुचनामा भने बचत निक्षेपको न्युनतम व्याज २.५ प्रतिशत दिने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.