त्रियुगा डिस्टिलरीमा कार्यरत चौधरीलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना

  २०७७ फागुन १८ गते ९:४३     विकासन्युज

सप्तरी । बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार अभियोग दाबी पुग्ने फैसला गर्दै सिरहाको लहान नगरपालिका-१८ भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई उक्त सजाय ठहर गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

चौधरीकी श्रीमती गयादेवी चौधरीले उनका श्रीमान् विनोदले सप्तरीको सुरुङ्गा नगरपालिका-५ की २८ वर्षीया फुलकुमारी चौधरीसँग बहुविवाह गरेको भन्दै विसं २०७५ भदौ १४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दर्ता गराएकी थिइन् ।

आरोपित सुरुङ्गा नगरपालिका-६ स्थित त्रियुगा डिस्टिलरीमा कार्यरत छन् । आरोपित विनोदले फुलकुमारीकै घरमा बहुविवाह गरेको भन्दै पीडितले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले विनोदलाई विसं २०७५ भदौ १५ गते पक्राउ गरेको थियो । सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित विनोद २०७५ असोज ११ गते ५० हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

अर्का आरोपित फुलकुमारी हालसम्म पक्राउ परेकी छैनन् । उनको हकमा मुद्दा मुल्तबी राखिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । सामाजिक परम्पराअनुसार विसं २०६५ मा विवाहिता पीडितको १० वर्षीया एक छोरी छिन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.