‘ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्रीले हटाउन सक्दैनन्’

  २०७७ फागुन १६ गते १७:०३     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई उनले हटाउन नसक्ने दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताएका हुन् । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको ह्वीप मान्न नपर्ने पनि रावलले बताए ।

त्यसरी निकाल्नको लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफुहरुको बहुमत रहेको उनले बताए । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई छिटै कारबाही गर्ने पनि उनले बताए ।

‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, समानुपातिक सांसद हटाइदिन्छु । उहाँलाई हटाउँछौ अब हामी । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर उहाँलाई कारबाही गर्छौ हामी यो बुझिराख्नुस् । दलको सदस्यता समाप्त गर्नुपर्ने अवस्थामा सो को लागि पार्टी केन्द्रीय कमिटीमा सिफारिस गर्ने । मैले ह्वीप जारी गरेर त्यहाँ सदस्यबाट निकाल्छु भन्नुकुरा कति झुठ, भ्रमपूर्ण, धम्की दिएपछि केही सदस्यहरु उफ्रिएर बालुवाटारतिर लाग्छन् कि भन्ने कति जनतालाई ढाट्ने कुरा रहेछ । दलका नेता कुनै सदस्यलाई निकाल्नको लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ । दुईतिहाई सदस्य हामीसँग छन् । अनि यहाँ आएर नक्कली प्रमुख सचेतकले म ह्वीप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ?’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.