नेप्सेमा थपियो ‘लगानी’ समूह, सूचीकृत कम्पनीको समूह हेरफेर, कुनमा परे निफ्रा र चन्द्रागिरी ?

  २०७७ फागुन १४ गते १८:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत कम्पनीको समूह संख्या थप भएको छ । नेप्सेले फागुन १६ गतदेखि लागू हुने गरी हाल रहेको सूचीकृत कम्पनीको संख्यालाई थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरेको हो ।

हाल नेप्सेमा २१८ वटा कम्पनी सूचीकृत रहेका छन् । नेप्सेको नयाँ व्यवस्थाअनुसार यी कम्पनीलाई १२ वटा समूहमा विभाजन गरि समूहगत परिसूचक गणना गरिने छ । यसअघि उक्त कम्पनीहरु ११ वटा समूहमा मात्रै विभाजित भएका थिए ।

नेप्सेले हाल रहेको समूहमा ‘लगानी’ नामक समूह थप गरी १२ वटा बनाएको हो । यससँगै, नेप्सेले आगामी दिनमा नयाँ व्यवस्थाअनुसार  १२ वटा समूहसहित ‘म्युचअल फण्ड’, ‘सेन्सेटिभ’, ‘सेन्सेटिभ फ्लोट’ र सम्रग बजार परिसूचक ‘नेप्से’ गरी १६ वटा परिसूचक गणना र प्रकाशन गर्ने छ ।

केही सूचीकृत कम्पनीको समूह विभाजनमा हेरफेर

फागुन ७ गते नेप्सेको व्यवस्थापनको निर्णयअनुसार नेप्सेले केही सूचीकृत कम्पनीको समूह विभाजनमा हेरफेर पनि गरेको छ । सोहिअनुसार नेप्सेले साविकको ‘अन्य’ समूहमा रहेका ८ वटा कम्पनीमध्येबाट ४ वटा कम्पनीलाई ‘लगानी’ समूहमा राखी नयाँ समूह बनाएको छ । त्यस्तै, साविकको होटल्स् समूहको नाम परिवर्तन गरी ‘होटल्स तथा पर्यटन’ समूह बनाएको छ । र, हालै नेप्सेमा सूचीकृत चन्द्रागिरी हिल्स लिमिटेडलाई पनि ‘होटल्स तथा पर्यटन’ समूहमा राखिएको नेप्सेले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार ४ वटा सूचीकृत कम्पनी ‘लगानी’ समूहमा परेका छन् भने ५ वटा कम्पनीहरु ‘होटल्स तथा पर्यटन’ समूहमा समावेश भएका छन् ।

‘लगानी’ समूहमा कुन कुन कम्पनी परे ?

नेप्सेकाे नयाँ व्यवस्था अनुसार नागरिक लगानी कोष (सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)), हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि (एचआईडीसीएल), नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा) र एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट लि.(एनआरएन) ‘लगानी’ समूहमा समावेश भएका छन् । यसअघि निफ्रा ‘विकास बैंक’ समूहमा समावेश भएकाे थियाे ।

‘होटल्स तथा पर्यटन’ मा कुन कुन ?

नेप्सेले चन्द्रागिरी हिल्ससहित ५ वटा कम्पनीलाई ‘होटल्स तथा पर्यटन’ समूहमा राखी गणना गर्ने भएको छ । यस समूहमा चन्द्रागिरी हिल्स लि(सीजीएच), ओरियन्टल होटल्स् लि (ओएचएल), सोल्टी होटल लि.(एसएचएल), तारागाउँ रिजेन्सी होटल (टीआरएच) र याक यण्ड यती होटल लि.(वाईएचएल) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.