तन्त्र जे होस् मन्त्र एउटै हुनुपर्छ (कविता)

  २०७७ फागुन ८ गते १५:१३     गोपाल खनाल

जब समृद्धिको कुरा नारामा सीमित हुन्छ
जब न्याय र अधिकारका कुरा
संविधानका धारामा सीमित हुन्छ
तब बन्न सक्दैनन् रहरका सपनाहरु
विपना कहिल्यै ।।

नेतृत्वले राजधानी नै देश ठानिरहे
डोल्पा र कालिकोटलाई दुर्गम नै मानिरहे
नयाँ नेपालको सार्थकता के ?
तन्त्र जे होस् मन्त्र एउटै हुनुपर्छ
भेद र शोषणका बन्धन तोडेर
हामी समान र स्वतन्त्र हुनुपर्छ
तब न देश दुख्दा
दुख्छन् मन मुटुहरु ।।

भ्रष्ट र सामन्तकै राज चलुन्जेल
आँखा छलुन्जेल दलालहरुले
अभावले गरिबहरु ढलुन्जेल
मौन बसिरहे
सर्दै जानेछ विकास अनि समृद्धि
सार्थक पार्न सहिदका सपना
चलखेल टार्न र सीमा बार्न
उठ्नै पर्छ हामी एक भएर
प्रत्येक मुटुहरुमा धड्कनुपर्छ देश सधैँ ।।

चुलाउनुछ आस्थाको शिखर
फुलाउनुछ सिर्जनाका फूलहरु
खुलाउनुछ विकासका बन्द मुहानहरु
भुलाउनुछ स्वार्थमा तल्लीन
मनहरुलाई राष्ट्रहितमा ।।
हिजो आज र भोलि
सबैका मन मस्तिष्कमा सजाइएका
समृद्धि सपना पूरा गर्न
अब अबेर गर्नु हुँदैन
अल्झेर अन्धविश्वासमा ।।

गोपाल खनाल
तारकेश्वर गापा-१ दाङसिङ, नुवाकोट
हाल पोखरा-११

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.