एउटैको ५० हजारसम्म पर्ने परफ्युम अब नेपालमै, जागिर खोज्न कतार छिरेका पीर महमदले भित्र्याउँदै छन् नेपाल

  २०७७ फागुन ७ गते १०:५९     नरेन्द्र रौले

काठमाडौं । ‘कति अर्काको देशमा काम गर्नु सर, अब आफ्नै देशमा व्यवसाय गर्ने हो । सम्भब भए स्वदेशमै रोजगारी सिर्जना गर्ने,’ उनी बढो उत्साही सुनिए ।

उनी अर्थात पीर मोहमद ।

पहिलो भेटमै यति सुनाएपछि आफूले सुरू गर्न लागेको व्यवसायबारे उनले बेलिविस्तार लगाए । केही महिना अघि कम्पनी रजिस्ट्रारको कार्यालयमा नेपालकै पहिलो परफ्यूम कम्पनी दर्ता भयो । जुन अबको केही हप्तामै सञ्चालनमा आउँदैछ ।

त्यसैको जग हाल्न कतारबाट नेपाल आइपुगेका थिए, पीर मोहमद । महत्वकांक्षाका साथ सुरू हुन लागेको उनको यो व्यवसायका बारेमा एकछिनमा चर्चा गरौंला । त्यो भन्दा पहिले यी युवाको कतार यात्राबारे जानकारी लिनुस् ।

कुनैबेला कामको खोजीमा कतार पसेका थिए, गोरखा, आहाले २ का पीर मोहमद । सन् २००६ मा सेल्स म्यानका रुपका एक कम्पनीमा तीन वर्ष काम गरेका उनी पछि त उद्यमी नै बन्न पुगे । केही वर्ष काम सिके । कमाएको पैसा जोगाए । र, पाँच वर्षपछि कतारमा उनले आफ्नै परफ्यूम कम्पनी सुरु गरे ।

दोहा कतारको मुख्य व्यापारिक केन्द्र । उनले सञ्चालन गरेको अल युसुफ होलसेल परफ्यूमले राम्रो बजार लिदै गयो । नेपालबाट सांगितिक टुर र कामको सिलसिलामा दोहा पुग्ने सेलिब्रिटीहरू उनको शोरूम पुगेकै हुन्थे । क्याप्टेन विजय लामा, कलाकार पुजा चन्द, तेरिया मगर, आर्यन सिग्देल, शंकर बिसी, केकी अधिकारी, जितु नेपाल, रेखा थापा उनले सम्झेका केही नामहरु हुन् । यस्तै बैंकर्स, व्यापारी, राजनीतिज्ञ, मिडियाकर्मीहरु पनि आफ्नो शोरुममा पुगेको उनले सुनाए ।

कतारको नियम अनुसार त्यहाँको स्थानीय व्यक्तिलाई व्यापारमा साझेदारी राख्नै पर्छ । लगानी त पुरै पीरले गरेका थिए । तर, कतार सरकारको नियम अनुसार साझेदारीको ५१ प्रतिशत हिस्सा कतारीलाई दिनुपथ्र्यो । ३५ लाख रुपैयाँको लगानीमा सुरू भएको पीरको परफ्यूमले अपार व्यापार गर्‍यो ।

परफ्यूम बेच्ने मात्र हैन, यसका कच्चा पदार्थ बेच्ने र उनले यसबारे तालिम दिने काम पनि गर्थे । ‘कुनैबेला दैनिक ५ देखि १० लाख रुपैयाँको कारोबार हुन्थ्यो, ६ जना स्टाफलाई भ्याइनभ्याइ हुन्थ्यो,’ उनले भने । अहिले त कम्पनीको पुँजी डेढ करोड रुपैयाँ पुगिसकेको उनी बताउँछन् । कतारमा चार लाख नेपालीहरु भएको अनुमान गरिन्छ । कति कामदारका रुपमा गएकाहरु कामदारकै रुपमा फर्किन्छन् । पीरले भने आफ्नो पहिचान बनाउन सफल भए । छोटो समयमा उनको प्रगति देखेपछि कतारका मिडियाको नजर उनीमाथि पर्‍यो ।

कतारका रेडियो, टिभी, पत्रिका र अनलाईनहरुले उनको बारेमा राम्रै कभरेज गरे । सुरुसुरुमा सीप नहुँदा, कानुन नबुझ्दा उनलाई केही कठिनाई भयो । जब भाषा, कानुन र सीप बुझे तब उनलाई सहज भयो । उनले अरबी बोल्न र लेख्न जानिसकेका छन् । नेपालमा छँदा मदरसामा पढ्दा सिकेको हुनाले पनि उनलाई सहज भयो । लकडाउनले गर्दा पीरको व्यापारमा केही असर गर्‍यो । लकडाउन नभएको भए अझ राम्रो व्यापार हुन्थ्यो भन्ने लाग्छ उनलाई । कतारमा ११ वर्ष आफ्नै व्यापार थालेका उनले ६ महिना यता एकल लगानीमै कम्पनी चलाईरहेका छन् । कतारी साझेदारलाई स्पोन्सर्ड बापत वार्षिक निश्चित केही रकम बुझाउने बाहेक सबै स्वामित्व उनकै नाममा छ ।

‘म एकदमै सन्तुष्ट छु, कतारको त्यही व्यवसायको जगमा नेपालमा लगानी गर्न सकियो,’ यसो भन्दै गर्दा उनमा गर्वको अनुभूत भएको महसुस हुन्थ्यो ।

हो, उनै गोरखाका युवा पीर यतिखेर महत्वकांक्षाका साथ नेपालमा छन् । कुनैबेला कामको खोजीमा कतार पसेका उनी अहिले स्वदेशमै आफ्नै व्यवसाय सुरु गर्ने अन्तिम तयारीमा छन् । उनले २५ लाख रुपैयाँको पँुजी राखेर सञ्चालन गर्न लागेको आश्मा परफ्यूम एण्ड कस्मेटिकले ब्राण्डेड परफ्यूम बिक्री गर्नेछ । तिनको ५ हजारदेखि ५० हजार रुपैयाँ मूल्य पर्ने पर्नेछ ।

यस बाहेक परफ्यूमको फ्लेवर आउने धुप, क्लोन (आफ्टर सेभ), साबुन, हेयर आयल, गाडी, क्रिम, पाउडर, अफीस र कपडाका लागि एयर फ्रेसर लगायतका आइटमहरु पनि यहाँ उपलब्ध हुनेछन् ।

पीर कतारमा छँदा नेपालबाटै परफ्यूम अर्डर गर्ने व्यक्तिहरु प्रशस्तै थिए । २० हजारदेखि माथि मूल्य पर्ने परफ्यूम उनले कार्गो गरेरै यता पठाउँथे । यताबाट पैसा पठाउन र उताबाट सामान पठाउन झन्झट हुन्थ्यो ।

अब भने उनी ढुक्क छन् । कतिपय सामानहरु विदेशबाटै आयात गरिएको छ । नेपालमै म्यानुफ्याक्चर गरेर, सामान यतै उत्पादन हुने क्रममा छ । बाहिर २५, ३० हजार मूल्य पर्ने सामानलाई ५ हजार रुपैयाँमै दिने उनले बताए । सस्तो, राम्रो र गुणस्तरीय हुने उनले दावी गरे । नेपालका बिभिन्न शहरबाट अहिले नै ब्राञ्चका खोल्नका लागि अफरहरु आइसकेको पीरले जानकारी दिए । यो कुराले उनलाई झनै उत्साहित बनाएको छ ।

कतारमा छँदा कुनैबेला ७ सय रियालबाट काम सुरु गरेका पीर यतिबेला मालिक बनेका छन् । मिहिनेत, धैर्यता र परिश्रम भए सफलता हासिल गर्न सकिने कुरा उनले दोहोर्‍याए ।

‘इमानदारिता, परिश्रम, काममा लगाव हुन जरुरी छ, आफ्नो काममा केन्द्रित हुन र समयको सदुपयोग गर्न उत्तिकै महत्वपूर्ण छ,’ उनी भन्छन् ।

कुनैबेला कतारमा छदा पीरसँग भेटेका पत्रकार रवी रोशी उनको तारिफ गर्छन् ।

‘कतारमा बस्ने नेपालीहरु राम्रो प्रगती गरेको व्यक्ति हो उहाँ ।’ रोशी भन्छन् । हास्यकलाकार जितु नेपाल मुन्द्रे पनि उनको सफलता देखेर दंग पर्छन् ।

‘दोहामा त्यति ठूलो शोरुम चलाएको देख्दा छक्क परें, नेपालमा त्यही व्यवसाय गर्न लागेको कुराले झन् खुसी छु,’ उनी भन्छन् । देशमा लगानी गर्नेे वातावरण भए रोजगारी सिर्जना गर्न त्यति कठिन नहुने कुरामा पीरको विश्वास छ । राम्रो र सहज अवस्था भए नेपाल बाहिरका धेरै व्यापारीहरु लगानी गर्न ईच्छुक भएको उनी सुनाउँछन् ।

उनका अनुसार खाडी राष्ट्रहरुमा कामका लागि सबैभन्दा राम्रो गन्तब्य कतार हो । त्यहाँको सरकारले कामदारलाई एकदमै सहयोग गर्छ । कामदारको कमाई पनि राम्रो छ । कतारले नेपाली एकदमै विश्वास गर्छ । उनीहरुको नजरमा नेपाली मिहिनेती र विश्वासिला लाग्छन् ।

कतारबाट नेपालले के सिक्ने ?

‘ड्युटी भनेपछि कतारमा तलमाथि हुँदैन ।’ पीर भन्छन् ‘कतारीले आफ्नो जिम्मेवारी पूरा गर्छन् । कानुनलाई मिच्दैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.