सोभियत संघ विघटनपछि पहिलो पटक नेपालमा लगानीको इच्छा देखायो रसियाले, रेल मार्ग विस्तारमा चासो

  २०७७ फागुन ४ गते १०:०९     विकासन्युज

काठमाडौं । सोभियन संघ विघटनपछि रसियाले पहिलो पटक नेपालका ठूला पूर्वाधारमा लगानीको चासो देखाएको छ । संघ विघटन हुनुअघि नेपालका ठूला पूर्वाधारमा लगानी आएको भएपनि त्यसपछि भने महत्वपूर्ण कुनै पनि पूर्वाधारमा रसियन लगानी आएको थिएन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ्गसँग नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले शिष्टाचार भेट गरी नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने चासो देखाएका हुन् ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटवार्तामा नेपालको रेलवे विस्तारमा रसियाले लगानी गर्न इच्छुक रहेको राजदुत नोभिकोभले बताएका छन् । रसियन रेलवेको तर्फबाट मन्त्रालयमा आशयपत्र समेत बुझाइएको छ ।

भेटमा मन्त्री नेम्बाङ्गले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वय नभएका कारण सम्बन्ध सुमधुर रहेपनि पूर्वाधार क्षेत्रमा महत्वपूर्ण साझेदारी नभएको बताए ।

काठमाण्डौको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको तर प्रविधि र दक्ष जनशक्तिका साथै लगानीको समेत अभाव रहेको उल्लेख गर्दै मन्त्री नेम्बाङले हाल मेट्रो रेलको रेखाङकन, पूर्व सम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना रिर्पोट (डिपीआर) समेत तयारी भइसकेको र सो दस्तावेज रसियन पक्षलाई उपलब्ध गराउन तयार रहेको बताए ।

रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न नेपाल सरकार तयार रहेको मन्त्री नेम्बाङको बनाई छ ।

रसिया र विश्वको विभिन्न अन्य मुलुकमा रेल सम्बन्धी रसियन टेक्नोलोजी उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालको लागि समेत कोशेढुगा हुने रसियन प्रतिनिधि मण्डलले उल्लेख गरेका छन् । पहाडी इलाकामा रसियन रेलवे टेक्नोलोजी जापानले अपनाएको उल्लेख गर्दै प्रतिनिधि मण्डलले नेपाललाई समेत प्रविधि हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

नेपालमा रुसी सहयोगमा कान्ति बाल अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषिऔजार कारखाना, विरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्पाईन प्लाण्ट जस्ता पूर्वाधार निर्माण भएका थिए ।

उक्त भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सहसचिव रामहरी पोखरेल, रेल विभागका महानिर्देशक प्रमिलादेवी बज्राचार्य सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.