बैंकिङ मर्जरः कर्मचारीका लागि खुसी कि पिडा ?

  २०७७ माघ २१ गते ९:५७     सुशिल घिमिरे ‘त्रैलोक्य’

अफिस आउँदै गर्दा बाटोमा एकजना पुरानो साथीसँग भेट भयो । मलाई सम्झना भएसम्म जबदेखि म उसलाई चिन्दछु, ऊ आफू पनि हाँसिरहनु पर्ने अनि अर्कालाई पनि हँसाइरहन मन पराउने स्वभावको मान्छे हो ।

तर, आज भने उसको अनुहारमा खुसी थिएन । त्यस्तो अवस्थामा उसलाई देख्दा मलाई केही नमज्जा लाग्यो । र, उसलाई त्यसरी उदास हुनुको कारण सोध्न ढिला गरिनँ ।

‘के गर्नु त यार ! टिपटप, पारदर्शिता र चाँडो प्रमोशन हुन्छ भन्ने ठानेर प्राइभेट बैंकमा नोकरी गर्न मन लगाइयो । सरकारी जागीरमा भिड्न पनि खोजिएन । तर आज आएर बैंक मर्जरको कुराले तनाव भइरहेछ,’ मेरो कौतुहलता मेटाउँने प्रयास गर्दै उसले भन्यो ।

उसको कुरा सकिन नपाउँदै मैले फेरी उसलाई सोधें – किन र ? बैंक, बिकाश बैंक, माइक्रोफाइनान्स लगायतका संस्थाहरु मर्ज हुनु भनेको राम्रो होइन र ?

‘के गर्नु त, पहिला मैले जागिर खाइरहेको विकास बैंक वाणिज्य बैंकसँग मर्ज भयो । अब आफू वाणिज्य बैंकको स्टाफ त भइयो तर दुर्भाग्य मेरो पोस्ट भने एक तह घट्न गयो । अब फेरि हाम्रो बैंक अर्को बाणिज्य बैंकसँग मर्ज हुने हल्ला चलिरहेको छ, सायद फेरि एक पोस्ट घटुवा होइन्छ होला,’ आफ्नो दुःखको पोको उसले यसरी फुकायो ।

उसले त्यसरी दुःख पोखिरहँदा म भने अर्को एकजना साथीलाई सम्झिन थालेँ । बैंकमै काम गर्ने त्यो साथीलाई मैले त्यसरी सम्झिनुको कारण थियो । उसको संस्था मर्ज हुँदा उसको मुहारमा देखिएको थियो खुसियाली ।

मैले त्यो साथीलाई मर्जरले त कर्मचारीलाई फाइदा पुर्याउँदैन होला नि ! भनेर सोध्दा उसले हाँस्दै भनेको थियो – धत्, मलाई त चिट्ठा पर्यो चिट्ठा । अब त झन् ठूलो बैंकको स्टाफ हुन पाइयो । त्यसमाथि पनि आफू त परियो तल्लो लेवलको कर्मचारी, अब मलाई पोस्ट घटाएर पियन त पक्कै बनाउँदैनन् ।’

परीक्षा लिने भनेको त जागिर दिनका लागि अथवा प्रमोशन गर्नका लागि पो हो, होइन र ? समान पोस्टमा बस्नको लागि पनि परीक्षा दिनुपर्ने ? त्यसमाथि पनि परीक्षा चाहिँ सानो संस्था वा प्राप्ति भई आएको संस्थाका कर्मचारीहरुले मात्र दिनु पर्ने रे !

यी त एक किसिमका प्रतिनिधि पात्र मात्रै हुन् । जसमा पहिलो पात्रलाई बैंक मर्ज हुँदा पिडा भएको छ भने दोस्रोलाई खुसी मिलेको छ । वास्तवमा विचार गर्ने हो भने कुनैपनि संस्था मर्ज हुनु भनेको त त्यो संस्था भित्रका अहोरात्र खटिने कर्मचारीहरु पनि मर्ज हुनु होइन र ? के, उसलाई पनि खुसी लाग्नुपर्ने होइन र ?

तर, वास्तविकता भने अर्कै छ । नेपाल रास्ट्र बैंकको अल्पकालिन दुरदर्शिताले बैंक, विकास बैंक, माइक्रोफाइनान्स तथा इन्स्योरेन्स कम्पनीहरु इजाजतपत्र प्राप्त गर्दै धमाधम गाउँगाउँमा खुलिहाले । अब संस्था खुलेपछि त स्वभाविक रुपमै आवश्यक जनशक्ति माग पनि गर्नु परिहाल्यो । आज करिब एक लाख जनाको हाराहारीमा काम गर्ने यस्ता कर्मचारीहरु राष्ट्र बैंकको ‘सबै वित्तीय संस्थाले अनिवार्य पूँजी बढाउनुपर्ने अन्यथा मर्जरमा जानैपर्ने’ हठका कारण निक्कै तनाव भोगेर काम गर्न बाध्य छन् ।

कुनै पनि संस्थाले अर्को संस्थालाई प्राप्ती गर्छ वा अर्को संस्थासँग मर्ज हुन्छ भने उसको सम्पति, दायित्व, जोखिम, अवसर तथा चुनौतीलगायतका कुराहरु सबै स्वीकारेको हुन्छ । जब संस्था स्वीकारिन्छ त्यहाँका कर्मचारीहरु पनि स्वीकार्नै पर्ने हुन्छ ।

यदि संस्था राम्रो छ भनेर मर्ज वा प्राप्ति गरेपछि त्यहि संस्थामा मिहिनेत गरिरहेका कर्मचारीहरु कसरी नाकाबिल भए ? त्यसैगरी घटुवा हुने वा परीक्षा गरिने कुरा कसरी न्यायसंगत भयो ? संस्थालाई राम्रो मान्ने अनि कर्मचारीहरु नराम्रो मान्ने ? यो त अति हास्यास्पद भएन र !

परीक्षा लिने भनेको त जागिर दिनका लागि अथवा प्रमोशन गर्नका लागि पो हो, होइन र ? समान पोस्टमा बस्नको लागि पनि परीक्षा दिनुपर्ने ? त्यसमाथि पनि परीक्षा चाहिँ सानो संस्था वा प्राप्ति भई आएको संस्थाका कर्मचारीहरुले मात्र दिनु पर्ने रे ! परिक्षा भन्ने कुरा त कसले लिने हो र कुन इन्टेन्सनले लिन लागिएको हो भन्ने कुराको ग्यारेन्टी कसले गर्छ ? होइन भने रास्ट्र बैंकले नै लिनु पर्यो ।

संस्था मर्ज गर भनिदिएर नेपाल रास्ट्र बैंक आफू पन्छिन मिल्दैन । बरु संस्थाहरु मर्ज भएपछि भोलिको दिनमा पनि कर्मचारीहरुलाई काम गर्ने सहज वातावरण बनाइदिँदा राम्रो हुन्छ । अन्यथा, ‘मर्ज’ भन्ने शब्द कोही कर्मचारीहरुका लागि अवसर अनि कोही कर्मचारीहरुका लागि पिडा बन्न बेर लाग्दैन । संस्था अनि कर्मचारी दुवैलाई ‘विनविन’ हुने अवस्था सिर्जना गरिदिनै पर्ने हुन्छ । अन्यथा भोलिका दिनमा मर्जरको भुतले कर्मचारीहरुलाई नतर्साउला भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.