निफ्राकाे आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?

  २०७७ माघ ६ गते ११:०३     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ । गत माघ २ गतेदेखि निश्काशन भएको उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेसँगै कम्पनीले छिटो मिति अर्थात माघ ६ गते नै निष्काशन बन्द हुने भएको हो ।

यससँगै इच्छुक लगानीकर्ताले मंगलबार बैंकिङ् समयभित्रमा आवेदन दिन सक्नेछन् ।

हालसम्म उक्त सेयरमा १४ अर्ब रूपैयाँ बराबरकाे आवेदन परिसकेकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साेमबार साँझ ५ बजेसम्ममा ११ लाख ६३ हजार ८० जना आवेदकले १३ कराेड ९९ लाख ७२ हजार ७९० कित्ता अर्थात १३ अर्ब ९९ कराेड ७३ लाख ७९ हजार रूपैयाँ बराबरको आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा १.८४ गुणा बढी आवेदन हाे । कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर माग गरेकाे हाे ।

आईपीओ जारी गरिरहेको निफ्राले तत्काल ५ अर्ब भित्र्याउँदै, वार्षिक १३ खर्बको लगानी गर्नुपर्ने !

बैंकले माघ २ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरिरहेकाे छ । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ ।

बिक्री प्रबन्धक क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने छ । यससँगै इच्छुक सर्वसाधारणले माघ ६ गते अर्थात भाेलि मंगलबार बैंकिङ्ग समय भित्रमा आवेदन दिन पाउने छन् ।

नेपाल धितोपत्र बोर्डले गत पुस १० गते मात्रै बैंकलाई सो मात्राको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो ।

सेयर निष्काशन गर्न इक्रा नेपालले मोडेरेट क्रेडिट रिक्स जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी ग्रेडिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणीको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.