गाईपालक उप-प्राध्यापक जसलाई बैंकले बिनाधिताे ८ कराेड कर्जा दियाे

  २०७७ माघ ५ गते १२:०६     नरेन्द्र रौले

काठमाडौं । बाबुराम कार्कीले शुरुमा आफ्नै परिवारको प्रयोजनका लागि मात्र गाई पाले । त्यो भन्दा पर उनले सोचेका पनि थिएनन् । उनले भक्तपुरको दुधपाटीमा दुइटा गाई पाल्न सुरु गरे । आफूलाई पुगेपछि उनले छिमेकीलाई बेच्न थाले । बिस्तारै माग बढ्दै गयो । कार्कीले दुईबाट गाईको संख्या ६ पुर्‍याए ।

ओखलढुंगाका कार्की पेशाले त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक हुन् । उनले अर्थशास्त्र पढाउँछन् । अहिले सुन्दरीजलमा ८५ रोपनिमा फैलिएको क्षेत्रफलमा कार्कीको गाई फार्म छ । जहाँ साढे २ सय गाईहरु छन् । अहिले त कार्कीको फार्ममा दुध दिने गाईको संख्या १ सय २० पुगिसकेको छ । ५५ साना बाच्छी र केही व्याउने गाइहरु छन् । यसले दिन प्रतिदिन व्यवसायिक रुप लिदै गएको छ । ८५ रोपनीमा गाई पालन बाहेक १० रोपनीमा तरकारी खेती गरिएको छ ।

कार्कीको फार्ममा दैनिक १२ सय देखि १३ सय लिटर दुध उत्पादन हुन्छ । एउटै गाईले दैनिक १५ देखि ५५ लिटर दुध दिने गाईहरु पनि छन् । राजधानीका बिभिन्न स्थानहरुमा यहाँको दुध डेलिभरी हुने गरेको छ । पहिले–पहिले डिपार्टमेन्ट स्टोरहरुमा पनि यहाँको दुध डेलिभरी हुने गर्थ्याे । ३० लिटर दुध दिने गाईलाई झण्डै एक हजार बराबरको दानापानी खुवाउने गरेको उनले बताए ।

कार्कीले २८ जनालाई रोजगारी दिलाएका छन् । ३ लाख रुपैंयाँको लगानीमा शुरु भएको यस फार्ममा ७ करोड लगानी नाघिसकेको सञ्चालक कार्कीले बताए । थप ८ करोड रुपैंया लोन बैंकबाट अप्रुभ गरिसकेका उनले बताए । ‘मेरो काम देखेर बैंकले कर्जा पत्याउनु पनि नै सफलताको सूचक हो’ कार्कीले मुस्कुराउँदै भने -‘मसँग जग्गा धितो मागेको भए, थिएन । यो प्रोजेक्ट चल्दैनथ्यो ।’

अहिले दैनिक २ लाख रुपैंयाको कारोबार हुने गरेको उनले बताए ।

यस फार्ममा आएर अवलोकन गरेर, सिकेर जानेहरु थुप्रै छन् । फार्ममा बसेर जाने पनि उत्तिकै छन् । कोही, कसैले यहा केही दिन बसेरै सिक्ने चाहना राखे त्यो इच्छा पनि पूरा हुन्छ । तर, त्यसका लागि नियमभित्र रहेर बस्नु पर्ने हुन्छ ।

प्राध्यापन पेशाबाट गाई पालनमा हात हालेका कार्कीलाई फरक पेशामा हात हाले जस्तो लाग्दैन । हामी किसानकै सन्तान भएकाले अपग्रेड मात्र भएको हो जस्तो लाग्छ । काम गर्न लजाउदैनन् उनी । त्यही हातले दुध दुहुने, मल बोक्ने, घास काट्ने र चेक काट्ने गर्छन् ।

बिहान ३ बजे कार्कीको मोबाइलमा अलार्म बज्छ । उनी फार्ममा आइपुग्छन् । गाई दुहुनेदेखि सबै काममा आफै अघि सर्छन् । विश्वविद्यालयको समय बाहेक पूरै समय गाईकै लागि बित्ने गरेको उनी बताउँछन् । ‘गाईहरु बिरामी नहुने बित्तिकै म खुसी हुन्छु ।’

यो क्षेत्रमा समस्याहरु पनि उत्तिकै छन् । कार्कीको नजरमा राम्रा प्राविधिकहरु र दक्ष जनशक्तिको कमी छ । घाँस उद्योगहरु छैन । दाना उद्योगहरु छैन । बजार छैन । गाईहरु पनि उच्च जातका छैनन् । यी मुख्य चुनौतीहरु छन् । दुधको उत्पादन लागत धेरै छ । यसको लागतलाई घटाउनु नै मुख्य चुनौती रहेको उनले बताए ।

गाई फार्म जल्दाको त्यो पीडा

०७३ असार ३ गतेको कुरा हो ।  गोकर्णेश्वरको रुप्सेटारमा त्यो बेला कार्कीको गाई फार्म थियो । भक्तपुरबाट उनले फार्म यता सारेका थिए । विद्युत सर्ट भई आगो लागेर ९७ वटा गाई जलेर मरे । ६८ गाई र बाच्छाबाच्छी घाइते बने । हामीलाई पीडा भयो । त्यो समयमा बेचैनी त भयो । त्यो हृदयविदारक घटनापछि पनि उनले यसै व्यवसायलाई निरन्तरता दिए । ‘अरु काम भन्दा मलाई यही नै सजिलो लाग्यो,’ कार्कीले सुनाए ।

भावी योजना
कार्कीले फार्ममा दुई वटा कुरा गर्न चाहेका छन् । पहिलो, स्रोत केन्द्र बनाउने र दोस्रो, रिसर्च सेन्टर खोल्ने । स्रोत केन्द्रमार्फत बाच्छीहरु जन्माएर बजारमा पठाउने उनको योजना छ । रिसर्च सेन्टरबाट आफ्ना अनुभवहरु किसानसँग बाँड्ने उनको चाहना छ ।

मिनि डेरी प्लान्ट बनाएर दहि, बटर, क्रिम, पनिर, मिठाई बनाउने र त्यसलाई बजारसम्म लैजाने उनको विचार छ ।

गाई पालनमा आउन चाहने किसानहरुलाई कार्कीका केही सुझाब छन् । मुख्य कुरा आफूले हिम्मत राख्नु पर्‍यो । चाहना राख्नु पर्‍यो । त्यसपछि सीप लिन जरुरी छ । व्यवस्थापनको ज्ञान र मार्केट बुझ्न पनि उत्तिकै जरुरी छ ।

गुणस्तरी दुध उत्पादन गर्न पनि अत्यावश्यक छ । कार्कीका अनुसार सबैभन्दा ठूलो कुरा गाईलाई खुसी राख्न जरुरी छ । गाईलाई स्वस्थकर खानेकुरा दिनुपर्छ । बिरामी पर्दा मानिसलाई जत्तिकै ध्यान दिएर उपचार गर्नुपर्छ । ‘गाई छौं र त हामी छौं ।’ छुट्टिने बेला कार्कीले सुनाए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.