निर्वाचनको घोषणासँगै निर्माण सामग्रीको मूल्य बढ्यो, उद्योगीले कार्टेलिङ गरेको आरोप

  २०७७ पुष २९ गते १३:१५     सन्ताेष राेकाया

काठमाडौं । निर्माण सामग्रीको मूल्य दिनप्रतिदिन आकासिँदै गएको छ । अहिले विभिन्न निर्माण सामग्रीको मूल्यमा ५० प्रतिशतसम्मको वृद्धि भएको हो ।

निर्माणको सिजनमै निर्माण सामग्रीको मूल्य बढेपछि व्यवसायी मात्रै होइन उपभोक्ता पनि ठूलो मारमा परेका छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा सस्तो भएको निर्माण सामग्रीको मूल्य अहिले एक्कासी बढेपछि उपभोक्ताहरु ठूलो मारमा परेका हुन् ।

लकडाउनको समयमा निर्माण सामग्रीको मूल्य सस्तो भएर निजी आवास, भवन तथा अन्य भौतिक संरचना निर्माण गर्न थालेको उपभोक्ताहरुले एक्कासी ठूलो आर्थिक भार व्यहोर्नु परेपछि अहिले समस्या परेका हुन् ।

निर्माण सामग्रीमा एक्कासी आएको मूल्य परिवर्तनको कारण भने न व्यवसायीलाई थाहा छ नत उपभोक्तालाई नै । अहिले व्यवसायीहरुबाट सामान खरिद गरेर लिने ग्राहक तथा उपभोक्ताहरुले व्यवसायीलाई मूल्य बढ्नुको कारण सोध्दा उनीहरु शब्दविहिन हुन्छन् । किनकि व्यवसायीहरुलाई नै अहिलेको मूल्यवृद्धिको कारण थाहा छैन ।

पछिल्लो समय भएको मूल्यवृद्धिको कारण खोज्न निर्माण व्यवसायी, ग्रिल तथा स्टिल व्यवसायी लगायतका व्यवसायीहरु उद्योगी व्यवसायी र सरकारसँगै नै छलफलमा बस्न खोजिरहेका छन् ।

मंगलबार मात्रै ग्रिल तथा स्टिल व्यवसायी महासंघले हाल निर्माण सामग्री विशेष गरेर फलामजन्य निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका बारेमा त्यससँग सम्बन्धित सरोकारवालाहरु सँग अन्र्तक्रिया कार्यक्रम राखेको थियो । सो कार्यक्रममा विभिन्न उद्योगीहरुलाई पनि बोलाइएको थियो । तर, सो कार्यक्रममा उद्योगीहरुको सहभागिता खासै देखिएन ।

कार्यक्रममा जगदम्बा स्टिल र हुलास स्टिलले आफ्ना प्रतिनिधि पठाएको थियो । जगदम्बाका प्रभु आचार्य र हुलास स्टिलका सुनिल अधिकारीको सहभागिता रहेको सो कार्यक्रममा उनीहरुले पनि निर्माण सामग्री बढ्नुको खासै जवाफ दिन सकेनन् ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अहिले निर्माण सामग्रीमा एक्कासी भएको मूल्यवृद्धिले व्यवसाय नै धरायशी हुने अवस्था आएको बताए । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण ठप्प भएको व्यवसाय सुरु भएको केही समयमै फेरि फलामजन्य वस्तुको मूल्यवृद्धि हुँदा व्यवसायी मात्र होइन उपभोक्ताहरु नै ठूलो मारमा परेको उनको भनाई छ ।

‘निर्माण सामग्रीमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्धिले व्यवसायी र उपभोक्ताबिचको सम्बन्धमा दरार आएको छ, हामीले हाम्रा ग्राहकहरुलाई मूल्यवृद्धिको कारण दिन पनि सकेका छैनौं, हामीले हाम्रो प्रश्नको उत्तर खोज्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।

उनका अनुसार यसअघि ६०/७० रुपैयाँ पर्ने स्टील अहिले १०५ रुपैयाँसम्म पर्ने गरेको छ । उनले सरकारले पनि यसतर्फ कुनै ध्यान नदिएको आरोप लगाए । एउटै वस्तुमा पहिले र अहिले ३ हजार रुपैयाँसम्म फरक पर्ने गरेको उनको भनाई छ ।

‘हिजो एउटा मूल्य आज अर्कै मूल्य हुँदा व्यापार गर्न पनि समस्या भइरहेको छ, उद्योगीले आफुखुसी मूल्यवृद्धि गरेको पनि सुन्नमा आएको छ, यसरी दिनप्रतिदिन मल्यमा परिवर्तन हुनु राम्रो होइन,’ उनले भने ।

यस्तै, कार्यक्रमम सहभागी एक व्यवसायीले सरकारले निर्वाचन घोषणा गरेसँगै उद्योगीहरुले निर्माण सामग्रीको मूल्य आफुखुसी बढाएको आरोप लगाए । ‘निर्वाचन नजिकिँदै छ, उद्योगी व्यवसायीहरुले सरकारलाई पैसा दिनु पर्छ भनेर आफुखुसी निर्माण सामग्रीको मूल्य बढाएका छन्, सरकारले पनि अनुगमन गर्न छोडेको छ, मूल्य बढेको भनेपनि खासै वास्ता सरकारी स्तरबाट देखिँदैन, यसबाट पनि सरकार र उद्योगीहरुको नियत प्रष्ट हुन्छ,’ ती व्यवसायीले भने ।

सम्पूर्ण निर्माण सामग्रीको मूल्यवृद्धि भएसँगै निर्माण व्यवसायीहरु पनि समस्यामा परेका छन् । कोरोना भाइरसको कारण ठप्प भएको निर्माण क्षेत्रको काम अहिले पनि सुस्त नै छ । पछिल्लो समय आफ्नो लय समातेको निर्माण क्षेत्रमा सामग्रीको मूल्य बढेसँगै निर्माणको काम सुस्त भएको छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहका अनुसार अहिले उद्योगीहरुले निर्माण सामग्रीको मूल्य आफुखुसी बढाएका हुन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य बढे पनि नेपालमा त्यो सामग्रीको मूल्य बढ्न साढे दुई महिना जति समय लाग्छ तर अहिले नेपालमा दिनप्रतिदिन मूल्यवृद्धि भइरहेको छ ।

‘भारत वा अन्य देशमा निर्माण सामग्रीको मूल्य बढ्यो भने त्यसको असर नेपालमा साढे दुई महिनामा पर्छ, अहिले उद्योगीहरुले अन्तर्राष्ट्रिय रुपमा नै मूल्य बढेको भनेर बोलिरहेका छन्, जुन वास्तविक होइन, उनीहरुले निर्माण सामग्रीमा कार्टेलिङ गरिरहेका छन्,’ अध्यक्ष सिँहले भने ।

उनका अनुसार निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा निर्माणका काम गर्न समस्या भइरहेको छ । आफुहरुले सरकारसँग विभिन्न समयमा छलफल तथा आफ्ना मागहरु राखे पनि त्यसको सुनुवाई नभएको उनको भनाई छ ।

यस्तै, निर्माण कम्पनी तथा उद्योगहरुले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेकोले नेपाली बजारमा पनि निर्माण सामग्रीको मूल्य बढेको बताउँदै आएका छन् । जगदम्बा स्टिलका प्रभु आचार्यले उद्योगहरुले आफुखुसी मूल्यवृद्धि भएको कूरा अस्वीकार गरे । ‘हामी भारतीय बजारमै निर्भर छौं, भारतमा मूल्य बढ्यो भने नेपालमा पनि बढ्छ, अहिले भारतमा पनि मूल्य वृद्धि भएको छ, त्यसको प्रभाव नेपालमा पनि परेको हो,’ उनले भने ।

‘अहिले उद्योगीले मूल्य बढाएको होकि भन्ने जस्ता शंका हुन थालेका छन्, त्यस्तो शंका गर्नु पर्ने अवस्था छैन, मूल्य पारदर्शी हुनु पर्छ भन्ने भनाई हाम्रो पनि हो, मूल्य समायोजन कुनै पनि स्तरबाट भएन,’ उनले भने ।

यस्तै, हुलास स्टिलका सुनिल अधिकारीले पनि भारतमा मूल्य बढेकोले त्यसको असर नेपालमा पनि देखिएको बताएका छन् । उनका अनुसार अहिले निर्माण सामग्रीको मूल्य पहिलेको भन्दा ५५ प्रशितले बढेको छ ।

‘अहिले एक्कासी मल्य बढेको देख्दा हामी नै अचम्ममा परेका छौं, एक महिना अगाडि एक मेट्रिक टनको ३७ हजार ५ सय रुपैयाँ पर्ने वस्तुको अहिले ५८ हजार भारतीय रुपैयाँ परिरहेको छ, नेपालमा त्यसको ८० हजार रुपैयाँ पर्छ, हामी नै घाटा खाएर बेचिरहेका छौं,’ उनले भने ।

उनका अनुसार मूल्य अझैँ बढ्नेछ । ‘हामीले मूल्य बढाएका होइनौं, भारतले सामग्रीमा मोनोपोली गरेको हो भने हामीलाई थाहा छैन,’ उनले भने ।

अहिले विभिन्न व्यवसायीहरुले नेपाली उद्योगहरुले निर्माण सामग्रीमा कार्टेलिङ गरेको बताउँदै आएका छन् । निजी आवास, भवन तथा अन्य भौतिक संरचना निर्माण सुस्त हुँदा यससँग सम्बन्धित सबै मारमा परेको व्यवसायीहरुको भनाई छ ।

भारत वा अन्य बजारबाट नेपाली बजारमा सामान आउन २ महिना जति समय लाग्ने भएपनि दिनप्रतिदिन सामग्रीको निर्माण बढ्नुमा नेपाली उद्योगीहरुको नै बद्मासी भएको व्यवसायीहरुको धारणा छ ।

ग्रिल तथा स्टिल व्यवासायीले बनायो अध्ययन समिति

अहिले व्यवसायीहरु उच्च रुपमा बढेको निर्माण सामग्रीको कारण बुझ्न सम्बन्धित निकायसँग छलफल परामर्श तथा भेटघाट गरिरहेका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघले त फलामजन्य सामग्रीमा भएको मूल्यवृद्धिबारे अध्ययन गर्न समिति नै गठन गरेको छ । महासंघका प्रथम अध्यक्ष ठूलो बाबु श्रेष्ठको संयोजकत्वमा महासंघले समिति गठन गरेर मूल्यवृद्धि सम्बन्धि अध्ययन गर्ने बताइएको हो ।

अत्याधिक रुपमा फलामजन्य सामग्रीका मूल्यवृद्धिको बारेमा जानकारी गराउनको लागि महासंघले मंगलबार राखेको अन्र्तक्रिया कार्यक्रमममा अध्ययन समिति गठन भएको बताइएको हो । सो समितिले अब बजारमा भएको अत्याधिक मूल्यवृद्धिको अध्ययन गर्नेछ । 

सो अध्ययन समितिले अनुगमन तथा अध्ययन गर्दा अन्र्राष्ट्रिय स्तरमा तेल इन्धन र डलरको मूल्यले नेपाली उत्पादनमा पार्ने प्रभाव, फलामजन्य सामग्रीको आयात हुने देश र नेपाली उत्पादनसँगको अन्तरसम्बन्ध, मूल्य समायोजन सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड र यसको वैज्ञानिकता, फलामजन्य सामग्रीको मूलय पारदर्शीता र एकरुपतालगायतका विषयमा अध्ययन गर्ने बताइएको छ ।

कोभिडपछि विकास निर्माण र घर निर्माणको काम भइरहेको छ । तर उद्योगीहरुले अस्वभाविक रुपमा मूल्यवृद्धि गराएपछि फेरि उपभोक्ताहरुल निर्माण कार्यमा सुस्तता देखाएका छन् ।

हिजो आफ्ना घर आवास तथा भवन निर्माणको लागत अनुमान गरेर निर्माण थालेकाहरुले आज निर्माण सामग्रीको मूल्य बढेसँगै धेरैले निर्माणाधीन कामलाई रोकेका छन् । यसरी अस्वभाविक रुपमा निर्माण सामग्रीको सामान बढेपनि सरकारले भने वास्तै नगरेको आरोप व्यवसायीहरुको छ ।

One comment on "निर्वाचनको घोषणासँगै निर्माण सामग्रीको मूल्य बढ्यो, उद्योगीले कार्टेलिङ गरेको आरोप"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.