अन्नपूर्ण उद्योगका मालिक विरुद्ध पक्राउ पूर्जी, श्रीराम सुगर मिल्सले शुक्रबारदेखि भुक्तानी दिने

  २०७७ पुष २ गते २०:५५     विकासन्युज

काठमाडाैं । उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रीकाे ताकेता पछि चिनी उद्याेगीहरूले किसानलाइ भुक्तानी गर्न तयार भएका छन् । उखु किसानले भुक्नानी नपाएकाे भन्दै काठमाडाैंमा हड्तालमा उत्रेपछि सरकार उद्याेगिप्रति कठाेर देखिएकाे छ ।

सर्लाहीस्थित धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । उखु किसानको वर्षौंदेखिको करोडौँ रकम भुक्तानी नदिएका कारण उद्योगपति अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उद्योगपति अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । उखु उत्पादक किसानले दिएको उजुरीका आधारमा उद्योगी अग्रवाललाई पक्राउ पूर्जी जारी गरिएको प्रजिअ पौडेलले जानकारी दिए।

उद्योगले उखु उत्पादक किसानको रु १७ करोड भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । स्थानीय प्रशासनले पक्राउ पूर्जी जारी गरेपछि सो पूर्जीका आधारमा मुलुकको जुनसकै ठाउँबाट पनि प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिनसक्ने जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

जिल्लाकै हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग र गोडैताको बगदहस्थित महालक्ष्मी सुगर मिलको भने किसानलाई दिनुपर्ने बक्यौता भुक्तानी गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अन्नपूर्णले बरहथवा, धनकौल, बलरा, रामनगर, बसबरिया, गोडैतालगायतका स्थानीय निकायका हजारौँ उखु उत्पादक किसानको झण्डै पाँच वर्षदेखिको उखुको भुक्तानी नदिएको किसानले गुनासो गर्दै आएका छन् । उखुको भुक्तानी नपाएर आजित बनेका किसानले केही दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा निरन्तर धर्ना र विरोध प्रदर्शन गरिरहेका छन् ।

योपल्ट भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने किसानले चेतावनी दिएका छन् । सरकारले पटकपटक सहमति गर्ने तर भुक्तानी नगराउने गरेकाले यसपटक भुक्तानी नलिइ घर नफर्कने किसानको अडान रहेको उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

उद्योगले गत वर्ष नै किसानको भुक्तानी दिने सहमति जनाएको भए पनि अहिलेसम्म उखुको बाँकी भुक्तानी नदिएको उखु उत्पादक किसान मुकेश ठाकुरले बताउनुभयो । उद्योगले किसानको बाँकी भुक्तानी नदिएसम्म सो उद्योगलाई उखु नदिने बताएपछि गत वर्ष उद्योग सञ्चालनमा नआएको ठाकुरको भनाइ छ ।

उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले यही पुस ३ गतेदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ । सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।      सो मिल्सले आज जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये रु २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.