नेपालीको रोजाईमा पर्यो माउन्टेन फ्लाईट, मौसमले साथ नदिँदा विमान कम्पनीलाई तनाव

  २०७७ मंसिर २९ गते १३:४१     विकासन्युज

काठमाडाैं । विगतका वर्षहरुमा विदेशी पर्यटकहरुले धानेको नेपाली पर्यटन बजार अब नेपालीहरुकै बिच चहलपहल तथा प्रतिष्पर्धा बढेको छ । कोरोना भाइरसको कारण ग्राउण्डेड अवस्थामा रहेका हवाइजहाजहरु अहिले माउन्टेन फ्लाइटका लागि उड्न थालेका छन् । अघिल्ला वर्षहरुमा माउन्टेन फ्लाइट अर्थात पर्वतीय उडानमा विदेशीहरु मात्रै जाने गर्दथे ।

कोरोना भाइरसकै कारण अहिले विदेशी पर्यटकहरु नेपाल आउन छोडेपछि हवाई सेवा कम्पनीहरुले आकर्षक प्याकेज ल्याएर नेपालीहरुलाई नै माउन्ेटन फ्लाइटमा घुमाइरहेका छन् । आन्तरिक वायुसेवा कम्पनीले साढे आठ महीनापछि पर्वतीय उडान सुरु गरेका हुन् ।

लामो समयसम्म ग्राउण्डेड अवस्थामा रहेका हवाइजहाजहरुलाई चलायमान अर्थात आन्तरिक पर्यटनलाई मध्येनजर गर्दै हवाई सेवा कम्पनीहरुले माउन्टेन फ्लाइटका प्याकेजहरु ल्याउन थालेका हुन् । आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले १३ मंसिरदेखि नै माउन्टेन फ्लाइट सुरु गरिसकेको छ । यस्तै यती एअरलाइन्सले मंसिर २० गतेदेखि उडान सुरु गरेको छ ।

अघिल्ला वर्षहरुमा विदेशी पर्यटकको रोजाइमा पर्ने विदेशी पर्यटकले मात्रै चलेको माउन्टेन फ्लाइट अहिले नेपालीहरुको रोजाइमा नै पर्ने गरेको छ । अहिले विमान कम्पनीहरुले हरेक शनिबार माउन्टेन फ्लाइटका लागि उडान भर्ने गरेका छन् । यति र बुद्धले मात्र अहिले स्वदेशी पर्यटकलाई घुमाइरहेका छन् ।

स्वदेशी पर्यटकहरुको रोजाइमा माउन्ेटन फ्लाईट पार्नको लागि कम्पनीहरुले आकर्षक प्याकेज पनि ल्याएका छन् । बुद्ध एअरले शनिबारबाट प्रति टिकट ८ हजार ९ सयको प्याकेज ल्याएको छ । जसमा एक जनाले सित्तैमा जान पाउनेछन् । बुद्ध एयरका अनुसार जोडी वा परिवारका लागि यो प्याकेज आकर्षक हुनेछ ।

यस्तै यती एअरलाइन्सले पनि ८ हजार ९ सय ९८ मा एउटा टिकट किन्न सक्ने पयाकेज ल्याएको छ । यसमा पनि एक टिकल लिँदा अर्को एक जनाले सित्तैमा जान पाइनेछ । यात्रुहरुले विमानको झ्याल भएको सिटको टिकट किन्दा अर्को टिकट भने सँगैको झ्याल नभएको सिटको पाइने बताइएको छ ।

बुद्ध एअरका वरिष्ठ बजार निर्देशक रूपेश जोशीले नेपाली पर्यटकहरुका लागि यो आकर्षक प्याकेज भएको बताए । उनका अनुसार विदेशी पर्यटकहरुले माउन्टेन फ्लाइट गर्दा प्रति टिकेट १५५ डलर इन्धन र यात्रु सेवा शुल्क बाहेक तिर्नु पर्थ्यो । ‘पर्यटन गतिविधि बढाउन अगाडिदेखि नै योजना बनाइरहेका थियौं, माउन्टेन फ्लाइट नेपाली पर्यटकको रोजाइमा परेको छ, अहिले देशका विभिन्न हिमालहरु यात्रुले अवलोकन गर्न पाउने छन्,’ उनले भने ।

जोशीका अनुसार अब हरेक शनिबार एउटा उडान गर्दै जाने र विस्तारै नेपालीलाई आकर्षित गर्ने योजना अनुसार पर्वतीय उडान सुरु भएको हो।

कुन कुन हिमाल अवलोकन गर्न पाइन्छ ?

अहिले बुद्ध एयर र यति एयरले मात्रै माउन्टेन फ्लाइट गरिरहेका छन् । यी दुई हवाई सेवा कम्पनीहरुले गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, अमादब्लम, सगरमाथा र कञ्चनजंघासँगै अन्य धेरै हिमश्रृंखलाहरूसँग घुमाउने गरेका छन् ।

यात्रुहरुले अन्य धेरै हिमालहरुको पनि दृश्यावलोकन गर्न पाउँछन् । आन्तरिक वायुसेवाको पर्यटकीय सिजनमा सबैभन्दा बढी आम्दानी हुने र बिहान १०/११ बजेसम्म व्यस्त हुने उडान नै माउन्टेन फ्लाइट हो ।

माउन्टेन फ्लाइट सबै वायुसेवाको बिहानै हुने र सबै विदेशी यात्रु मात्रै हुने गरेका थिए। निजी क्षेत्रका वायुसेवा सबैजसोले बिहानको समय माउन्टेन फ्लाइटलाई नै प्राथमिकता दिएर उडान गर्दै आएका छन् ।

यस्तो उडान हरेक दिन बुद्ध एअरले २० वटा, यती एअरले १५ वटा, श्री एअरले १५ वटा, सिम्रिक एअरले ५ वटासम्म गर्दै आएका थिए। पर्यटक आगमन ठप्प हुँदा यो वर्ष भने माउन्टेन फ्लाइटको सिजन भए पनि उडान भने ठप्प रहेको जोशी बताउँछन् ।

उनका अनुसार बुद्धले हालसम्म ५ वटा उडान गरिसकेको छ । जसमा ३ सय ५० जना यात्रुले हिमालको अवलोकन गरिसकेका छन् । गत शनिबारका ४ वटा जहाज भने मौसमको कारण रद्द भएका थिए भने अब आउने शनिबारका लागि ३ वटा जहाज तयारी अवस्थामा रहेको जोशीले बताए ।

माउन्टेन फ्लाइटका लागि जानेहरुको भिड भएपनि मौसमले साथ नदिदा विमान कम्पनीहरुलाई समस्या नै हुने गरेको छ । ‘सयौं आन्तरिक पर्यटकहरुले टिक लिएका हुन्छन्, ४५ जहाज तयारी अवस्थामा हुन्छन् तर मौसमको खरावी कारण त्यतिैक रद्द गर्नु पर्ने अवस्था आउँछ, मौसमले साथ दिए त रामै हुन्छ,’ जोशीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.