काठमाडौं । आज (मंसिर १२ गते) देखि एनआईसी एसिया क्यापिटलले प्रतिइकाईं १० रुपैयाँ मूल्य बराबरका ४ करोड २५ लाख खुलामुखी सामुहिक लगानी कोष योजना विक्री थालेको छ । बन्दमुखी योजना यसअघिदेखि नै प्रयोग र संचालनमा रहेपनि खुलामुखी योजना भने नेपालमा अझै पनि व्यापक प्रयोगमा नआएकोले नौलो नै हो ।
पुँजी बजार बारे जानकार दिलिप मुनंकर्मी विश्वमा अहिले विशेष गरेर २ प्रकारको सामुहिक लगानी कोष योजना प्रचलनमा रहेको बताउँछन् । उनका अनुसार पहिलादेखि नेपालमा पनि प्रयोग र अभ्यासमा आइसकेको बन्दमुखी योजना एउटा र अर्काे खुलामुखी योजना हो ।
‘निश्चित अबधि वा समय तोकेर ल्याइएको योजना बन्दमुखी योजना हो, यस्ता योजनाहरु कुनै ५ वर्षे, कुनै १० वर्षे जस्ता समय अवधिका हुने गर्छन्, खुलामुखी योजना भनेको यसको कुनै निश्चित समय तोकिएको हुँदैन, सधैभरीका लागि खुला हुन्छन्,’ मुनंकर्मीले भने ।
संचालनमा आइसकेका सिद्धार्थ इक्विटी इन्भेष्टमेन्ट फण्ड, नविल व्यालेन्स फण्ड आदि बन्दमुखी योजना हुन् । यस्ता योजना निश्चित समयपछि बन्द हुन्छन् र लगानीकर्तालाई योजना संचालकले लगानी रकम फिर्ता दिन्छन् । यसरी फिर्ता हुने रकम भने खुद सम्पत्ति मूल्य (न्याभ) का अनुसार हुन्छ । कोष परिचालनबाट प्राप्त भएको प्रतिफलका आधारमा योजना खरिदकर्ताले पनि प्रतिफल पाउँछन् ।
बन्दमुखी योजनाहरु धितोपत्र कारोबार हुने दोस्रो बजार अर्थात नेपालको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएर खरिद विक्री गर्न सकिन्छ । यी योजनाका इकाईंहरु सेयर जस्तै गरी सहज रुपमा खरिद विक्री गर्न सकिन्छ । र, बजारमा इकाईंहरुको खुद सम्पत्ति, माग र आपूर्तिका आधारमा पुँजीगत लाभ वा हानी प्राप्त हुन्छ ।
अहिले एनआईसी एसिया क्यापिटलले संचालनमा ल्याएको ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’ खुलामुखी योजना हो । समयसीमा निर्धारण नगरी संचालनमा ल्याइएका योजनाहरु खुलामुखी हुन् । पुँजी बजारबारे जानकार मुनंकर्मीका अनुसार नेपालमा संचालित पहिलो खुलामुखी योजना एनसीएम म्युचुअल फण्ड हो । तर, पछि गएर यो योजना बन्दमुखीमा परिणत भएको थियो ।
खुलामुखी योजनाहरु भने नेप्सेमा सूचिकृत हुँदैनन् । इकाईं खरिदकर्ताले विक्री गर्नु परेमा वा अन्य कसैलाई यस्ता योजनाहरु खरिद गर्नु परेमा कोष संचालकले नै खरिद वा विक्री गरिदिन्छन् । अर्थात तपाईंले इकाईं खरिद गर्नुभएको छ भने विक्री गर्ने पनि सोही कोष संचालक वा उसले तोकेको डिलरसँग हो । एनआईसी एसिया क्यापिटलले अहिले ल्याएको इकाईं किनेर पछि विक्री गर्ने भनेको पनि सोही क्यापिटललाई नै हो । यसरी विmक्री गरेका इकाईंहरु कोष संचालकले फेरि विक्री गर्ने गर्छन् । यस्ता इकाईंको मूल्य भने खुद सम्पत्ति मूल्य (न्याभ) ले निर्धारण गर्छ ।
कस्तो हो एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड ?

एनआईसी एसिया क्यापिटलले पहिलो पटक खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको छ । ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ नाम दिइएको यो योजनामा ४ करोड २५ लाख इकाई छन् । योजना आज (१२ मंसिर) देखि १६ मंसिरसम्म किन्न पाइने कम्पनीले जानकारी दिएको छ ।
क्यापिटलले सार्वजनिक गरेको विवरणपत्रका अनुसार यस योजनाले निश्चित आम्दानी हुने उपकरणहरुमा बढी केन्द्रित भएर लगानी गरिनेछ । इकाई विक्रीबाट संकलन भएको रकम ऋणपत्र, मुद्दती निक्षेप, सार्वजनिक रुपमा जारी गरिएको सेयर जस्ता निश्चित प्रतिफल दिने उपकरणमा लगानी गरिने कोष संचालकले जानकारी दिएको छ । अर्थात, कुल संकलित रकममध्ये ६५ प्रतिशत रकम बण्ड, डिबेन्चर जस्ता मुद्रा बजारका उपकरण (डेप्ट इन्स्ट्रुमेन्ट) मा, २० प्रतिशत रकम सेयर (आइपीओ तथा दोस्रो बजारमा सेयर खरिद विक्री) मा र १५ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा राख्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले लगानीकर्तालाई पहिलो वर्षदेखि पाचौं वर्षसम्म कम्तिमा पनि ९ प्रतिशतदेखि ११ प्रतिशतसम्म प्रतिफल दिने भनेको छ । कम्पनीले प्रक्षेपण गरे अनुसारको प्रतिफल प्राप्त भएमा नियमित आम्दानी हुने र केही रकम बचत गर्नेहरुका लागि बैंकमा निक्षेप राख्नुभन्दा बढी लाभदायक हुनसक्छ ।
कम्पनीले पहिलो चरणमा ५० करोड रुपैयाँको योजना संचालन गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । यसमध्ये ७ करोड ५० लाख रुपैयाँ कोष प्रबद्र्धक एनआईसी एशिया बैंकले विऊपुँजीको रुपमा लगानी गरिसकेको छ । बाँकी रहेको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको ४ करोड २५ लाख इकाई सार्वजनिक निष्कासन गरिएको हो । सो इकाई विक्रीबाट ४२ करोड ५० लाख रुपैयाँ रकम संकलन हुनेछ । यो योजनामा सहभागीले १ हजार रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ । आफै जोखिम लिन नचाहने र सुरक्षित ठाउँमा लगानी गर्न चाहनेलाई यो बढी उपयुक्त हुन्छ ।