राजा वीरेन्द्रकाे घरमा सर्बसाधारण जान पाउने, राजतन्त्र प्रगतिशील रहेकाे मन्त्री याेगश भट्टराईकाे भनाई

  २०७७ मंसिर ६ गते १९:२०     विकासन्युज

काठमाडौं । तत्कालीन राजा स्व वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनासपछि उक्त सदन बन्द रहेको थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधरणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो । श्रीसदन प्रदर्शनीकक्षको आज आयोजित एक कार्यक्रमकाबीच उद्घाट गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी सङ्ग्रहालयलाई राजतन्त्र र विशेषगरी आधुनिक नेपालको इतिहासको एउटा प्रमुख गन्तव्य थलोका रूपमा स्थापित गरिने बताए ।  “इतिहास कसैको दुस्मन हुँदैन, त्यो एउटा घटना हो । यथार्थ हो, त्यसलाई आजीवन संरक्षण गर्न सकियो भने आउने पुस्तालाई पनि ज्ञान हुनेछ”, उनले भने ।

आधुनिक नेपालको एकीकरणमा राजतन्त्रको प्रगतिशील भूमिका अविस्मरणीय रहेको भन्दै मन्त्री भट्टराईले पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको इतिहास नारायणहिटी क्षेत्रभित्र रहने उल्लेख गरे । उनले, “आधुनिक नेपाल निर्माणमा नेपालको शाहवंशीय राजतन्त्रले प्रगतिशील भूमिका खेल्यो । ब्रिटिस साम्राज्यवाद र उपनिवेशलाई रोक्न तथा नेपालका स–साना राज्यलाई एकीकरण गर्ने महान् कामको अगुवाइ गर्ने पृथ्वीनारायण शाहको भूमिकालाई निकै प्रगतिशील मानिन्छ र आज पनि उहाँको योगदानको सबैले स्मरण गर्ने गरेका छन् । आज श्रीसदन खोलिरहँदा पनि पृथ्वीनारायाण शाहको योगदानको उच्च कदर र सम्मान गर्न चाहन्छु, जुन देशका लागि गौरवपूर्ण ऐतिहासिक कार्य थियो ।”

श्रीसदन विभिन्न इतिहास र समाजको झलक तथा मानवजातिको विकासको जानकारी दिन सान्दर्भिक हुनेछ । दरबारसँग जोडिएका विभिन्न वस्तु, घटनाक्रम, देशका विभिन्न स्थानमा रहेका वस्तुलाई ल्याएर संरक्षण गरिनुपर्नेमा पर्यटनमन्त्रीको जोड थियो । उनले नेपालको २४० वर्षे शाहवंशीय राजतन्त्रको साक्षत इतिहासको रूपमा रहने सङ्ग्रहालयमा शाहवंशीय शासनको कसरी शुरु र अन्त्य भयो, त्यसको जीवन्त इतिहास नारायणहिटी सङ्ग्रहालयबाट प्राप्त हुने विश्वास व्यक्त गरे ।

पर्यटनमन्त्री भट्टराईले तत्कालीन राजा वीरेन्द्रको जीवनशैली र उनको परिवारलाई बुझ्न सहयोग पुग्नुका साथै नेपाली मात्र नभई विदेशी विश्वविद्यालयबाट अध्ययन अनुसन्धान गर्नेका लागि महत्वपूर्ण सामग्री प्रदान भएको बताए । उनले कीर्तिपुरको चम्पादेवीमा राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालय निर्माणको काम अघि बढाइएको र त्यहाँ नेपालका १२५ जातिका अलग–अलग पहिचान र विविधता झल्कने सामग्री राखिने जानकारी दिए ।

के–के छ श्रीसदनमा ?    

श्रीसदनको भुइँतलामा पाहुना बस्ने बैठककक्षसँगै डाइडिङ रुम र वारकक्ष छ । दोस्रो तलामा वीरेन्द्र, ऐश्वर्या, निराजन र श्रुतिको सयनकक्ष छ भने तेस्रो तलाको पश्चिमतर्फ निराजनले शारीरिक अभ्यास गर्ने कोठा छ । ऐश्वर्याको पूजाकोठामा देवताको मूर्ति सजाइएको छ, तेस्रो तलाको भर्याङ उक्लिनासाथ प्यासेजमा पूर्व अधिराजकुमारी श्रुतिले तयार पारेको पेन्टिङ राखिएको छ । स्व राजा वीरेन्द्र, ऐश्वर्या, श्रुति र निराजनको वाथरुम, सिङ्गार कोठा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ । स्व ऐश्वर्याको छुट्टै साहित्यकक्ष पनि छ । श्रुति र निराजनको छुट्टै खेल्ने सामग्रीसहितको कोठा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.