नेपाल लाइफ इन्स्योरेन्सकाे बीमाशुल्क र नाफा दुबै बढ्याे

  २०७७ कार्तिक २८ गते १०:२०     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा यो १४.१६ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्सले ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क सङ्कलन गरेको थियो ।

इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै नाफा पनि बढेको छ। इन्स्योरेन्सले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा १२.०२ प्रतिशत बढी हो । इन्स्योरेन्सले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेको कम्पनीले चालु आवको सोहि अवधिमा ९९ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेको छ । पुनर्बीमा कमिशन बापत १ करोड १४ लाख, लगानी कर्जा तथा अन्यबाट एक अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

५ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३ अर्ब ६६ करोड, जीवन बीमा कोषमा ९४ अर्ब ८२ करोड र महाविपत्ती कोषमा ६० करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १६.६७ रुपैयाँ (वार्षिक) रहेको छ । त्यसैगरी, इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १७७.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८२.४४ गुणा रहेको छ ।

इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या १३ लाख १९ हजार ७०२ रहेको छ। हालसम्ममा इन्स्योरेन्सले १ खर्ब २८ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरिसकेको छ ।

त्यस्तै, कम्पनीले समिक्षा अवधिमा कुल १४ हजार ४८९ दाबी बापतको ३ अर्ब ६९ करोड रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब ४३ करोड २० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.