कोरोना बीमा दावी भुक्तानीका लागि पटक–पटक कम्पनीमा धाउँदै हुनुहुन्छ ? यस्तो गर्नुस् समस्या चैट

  २०७७ कार्तिक २८ गते १७:१३     नबिन पाेखरेल

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमितहरुले पटक–पटक बीमा कम्पनीहरुको कार्यालय धाउदै आएका छन् । बीमितले आवश्यक कागजपत्र पूरा नगरी कम्पनीमा जानाले पनि पटक–पटक धाउनु पर्ने समस्या आएको कम्पनीहरुले जनाएका छन् ।

पटक–पटक बीमा कार्यालयमा धाउनु परेपछि बीमितहरुले कम्पनीलाई दावी भुक्तानी गर्न अटेर तथा अनावश्यक दुख दिएको आरोप पनि लगाउँदै आएका छन् । तर, कम्पनीहरुले भने बीमितकै कारणले बढी समय लाग्ने र उनीहरुले पटक–पटक बीमा कम्पनीमा धाउनु पर्ने अवस्था भएको बताएका छन् ।

सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुभाष कोइरालाका अनुसार कोरोना बीमाका केही चेक लिस्ट रहेको र उक्त चेक लिस्ट अनुसार कागज पत्र तयार पार्नु पर्ने भएकोले बीमितले कोरोना बीमाको दाबी भुक्तानीकाे लागि आवश्यक कागजात अपुरो ल्याउँदा उनीहरुले पुनः कार्यालयमा आउनु पर्ने समस्या हुने गरेको बताए ।

‘कोरोना बीमाको दाबी भुक्तानी पाउने बीमितले नै हो जसले कोरोना बीमा गराउनु भएको छ, तर उहाँहरुले ल्याउनु भएको काजगपत्र कतिको सही छ, त्यसका लागि केही चेक लिस्टपनि हामीले तयार पारेका छौं, सो चेकलिस्ट अनुसार आफ्ना कागजात बोकेर बीमा कम्पनी जाँदा पटक–पटक धाइरहनु पर्दैन’, उनले विकासन्यूजसँग भने ।

उनका अनुसार सरकारी वा निजी दुवै किसिमका बीमा कम्पनीहरुमा कोरोना बीमाको लागि चाहिने कागजात एकै हुन् ।

यस्ता छन् काेराेना बीमा दावी भुक्तानीका लागि आवश्यक कागजात:

१. कोरोना बीमा गरेको बीमालेख पेश गर्नु पर्नेछ ।

२. पूर्ण रुपमा भरिएको दाबी फारम पेश गर्नु पर्नेछ ।

३. पिसीआर परिक्षणको सक्कल रिपोर्ट पेश गर्नु पर्नेछ ।

४. संक्रमित व्यक्तिको नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

५. गत भदौ २८ गतेपछि भएका संक्रमणको हकमा पिसीआर पोजेटिभ भई घर वा होटल (आइसोलेसन) मा बसेकाहरुको हकमा आफू बसोबास गरिरहेका स्थानीय तहको सिफारीस समेत पेश गर्नु पर्नेछ । तर अस्पतालमै भर्ना भई उपचारत व्यक्तीको हकमा भने अस्पतालबाट जारी गरिएको भर्ना तथा डिस्चार्ज भौचर र उपचारमा खर्च भएका बिल भर्पाइ समेत पेश गर्नु पर्नेछ ।

६. संस्थागत बीमाको हकमा कर्मचारीहरुको परिचयपत्रको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ ।

संस्थागत बीमाको हकमा

संस्थागत बीमाको हकमा संक्रमित कर्मचारीहरुको छु्ट्टा छुट्टै फाइल बनाई पोलिसी समेत छुट्टा छुट्टै राखी पेश गर्नु पर्नेछ ।

बीमा कम्पनीहरुले बीमा लेखको आधारमा दाबी भुक्तानी गर्छन् । बीमितले बीमा गर्नु पूर्व नै बीमालेखका शर्तहरु राम्रोसँग अध्ययन गरेर लाभ लिनुु पर्ने राष्ट्रिय बीमा कम्पनी बताउँछ । दाबी भुक्तानीकालागि आवश्यक कागज पत्र पूरा गरेमा बीमितहरुले समेत झण्झट व्यहोर्नु पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.