अभिवादन बहुउद्देश्यीयको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा पुनः किशोर महर्जन

  २०७७ कार्तिक २७ गते २०:४५     विकासन्युज

काठमाडाैं । अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन भएकाे छ । आज सम्पन्न संस्थाकाे चौंथो वार्षिक साधारणसभाले संस्थाको आगामी ४ वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको हाे ।

किशोर महर्जनको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको हो । संस्थको उपाध्यक्षमा राजु महर्जन, सचिवमा महेन्द्र कुमार महर्जन, कोषाध्यक्षमा सुदन महर्जन र सञ्चालकहरुमा मुना नेम्कूल, धनगोविन्द महर्जन, यशु महर्जन, राम महर्जन र प्रकाश महर्जन रहेको छन् ।

संस्थाको चौंथो वार्षिक साधारणसभा सहकारी विभागद्वारा जारी साधारणसभा सञ्चालन सम्बन्धी मार्गनिर्देश अनुरुप सम्पन्न भएको छ । संस्थाले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न जटिल परिस्थितिका कारण सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष किशोर महर्जनले आ.व. २०७६।०७७ को प्रगति प्रतिवेदन र आ.व. २०७७।०७८ को प्रस्तावित नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए ।

सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि वित्तीय तथा गैर वित्तीय सेवाहरु संस्थाले उपलब्ध गराउँदै आएको र कोभिड १९ बाट बच्न सरकारले गरेको लक डाउन र निषेधाज्ञाका बीचमा पनि सदस्यहरुलाई वित्तीय सेवा दिन सकेको उनले बताए । संस्थाको उद्देश्य सदस्यहरुको आयआर्जनमा वृद्धि गर्ने क्षमतामा सघाउने भएकाले सोही अनुरुप संस्थाले आयमूलक र व्यवसायिक क्षेत्रमा ऋण लगानी गरी उनीहरुको आर्थिक स्तरमा क्रमशः स्तरोन्नति गर्दै लैजाने ध्येय रहेको उनले जनाएका छन् ।

संस्था बहुउद्देश्यीय भएकाले कृषि तथा उत्पादनशील क्षेत्रमा लगानी गर्न बहुउद्दश्यीय परियोजनाको सम्भाव्यता समेत अध्ययन अगाडि बढाएको उनले जनाए । संस्थाले आफ्नै भवन निर्माणका लागि महालक्ष्मी न.पा. वडा. नं. ६ सिद्धिपुरमा ६ आना ३ पैसा जग्गा समेत खरिद गरिसकेको उनले बताए ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाजा खलःलाई बाद्यबादन सामग्री, महिला सदस्यलाई सुत्केरी हुँदा खर्च, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता, कोरोना रोकथाम तथा नियन्त्रणमा आर्थिक सहयोग एवं गोदावरी खोला संरक्षण कार्यक्रम साथै रक्तदान जस्ता गतिविधिमा संलग्ना जनाउँदै आएको उनले बताए । त्यसैगरी १२३७ जना सदस्यहरुको आईएमई जनरल इन्स्योरेन्समा एक लाख बराबरको दुर्घटना बीमा समेत गरिएको उनले जानकारी गराए ।

सदस्यहरुलाई सहकारी सम्बन्धी अभिमूखिकरण कार्यक्रम सञ्चालन गरी सहकारीको महत्व र आवश्यकताका बारेमा थप शिक्षित बनाउने उनले बताए । संस्थाले महिला सशक्तिकरण र उद्यमशीलताका लागि प्रदान गर्दै कर्जाको सीमालाई ३० हजारबाट बढाएर ४० हजार पु¥याएको र बिना धितो ३ महिनाका लागि उक्त कर्जा उपलब्ध गराउने सभामा उनले जानकारी दिए ।

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक कविता महर्जनले आ.व. २०७६।७७ को लेखा प्रतिवेदन प्रस्तुत गरेकि थिइन् । त्यसैगरी संस्थाका कोषाध्यक्ष सुदन महर्जनले गत आ.व.को आर्थिक प्रतिवेदन र यस आ.व.को भावी योजना तथा बजेट सभामा प्रस्तुत गरेका थिए ।

आ.व. २०७६।७७ को अन्त्यसम्म संस्थाको शेयरपूँजी २ करोड १७ लाख ३४ हजार, बचत संकलन १५ करोड ५२ लाख र ऋण लगानी १६ करोड ११ लाख गरी कुल कारोबार २४ करोड ९ लाख पुगेको उनले बताए ।

संस्थामा असार मसान्तसम्म ११६१ सदस्य आवद्ध रहेका छन् । संस्थाले सदस्यहरुलाई मोबाइल बैंकिङका साथै विभिन्न कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

आगामी दिनमा जडिबुटी र आयुर्वेदिक सम्बन्धी कारोबार समेत गर्ने योजना संस्थाको छ । बहुउद्देश्यीय सहकारी संघ ललितपुरले उत्कृष्ट संस्थाको रुपमा गत आ.व.मा उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट संस्था पुरस्कृत भइसकेको छ ।

गोदावरी नगरपालिकाको ठैवमा समेत सेवा केन्द्र शुरु गरेको संस्थाले सदस्यहरु विरामी भइ अस्पतालमा उपचार गराउँदा पर्न सक्ने आर्थिक भार कम गर्न ५ दिनको बेड चार्ज उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.