८ वटा वाणिज्य बैंककाे लाभांश घोषणा, कुमारीकाे बढ्दा अरू सबैकाे लाभांश दर घट्याे

  २०७७ कार्तिक १६ गते १९:४१     विकासन्युज

काठमाडौं । विभिन्न ८ वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । २८ वटा वाणिज्य बैंकमध्ये हालसम्म ८ वटा बैंकहरुले गत आर्थिक वर्ष २०७६/७७ को खुद नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेका हुन् ।

लाभांश घोषणा गरेका बैंकहरुमध्ये सबैभन्दा बढी एनआइसी एशिया बैंकले दिने भएकाे छ। एनआइसी एशिया बैंकले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने भएकाे छ । त्यसमा बैंकले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी सो मात्राको लाभांश घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा घटी हो । बैंकले अघिल्लो आवमा २१.०५ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद) वितरण गरेको थियाे ।

यस वर्ष सबैभन्दा पहिला लाभांशकाे घाेषणा माछापुच्छ्रे बैंकले गरेकाे छ । उसले १०.३७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ । त्यसमा ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद गरी १०.३७ प्रतिशत छ । यस बैंकले अघिल्लो आवमा १६ प्रतिशत लाभांश (५ प्रतिशत बोनस र ११ प्रतिशत नगद) वितरण गरेको थियो ।

ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई गत आवको नाफाबाट १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले १४ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश अघिल्लो आवको तुलनामा साढे ९ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा सेयरधनीलाई १२.७५ प्रतिशत बोनस र १२.७५ प्रतिशत नगद गरी २५.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, बैंक अफ काठमाण्डूले १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आवको नाफाबाट १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश अघिल्लो आवको तुलनामा एक प्रतिशतले घटी हो । बैंकले अघिल्लो आवमा ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उता कुमारी बैंकले भने अघिल्लो आवको भन्दा बढी लाभांश घोषणा गरेको छ । अघिल्लो आवमा १०.५२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ०.५२ प्रतिशत नगद) वितरण गरेको बैंकले गत आवको नाफाबाट १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

अघिल्लो आवको तुलनामा सानिमा बैंकको पनि गत आवको लाभांशदर घटेको छ । अघिल्लो आवमा २१.०५ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद) वितरण गरेको बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.६ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । जसमध्ये १० प्रतिशत बोनस र ३.६ प्रतिशत नगद लाभांश रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि गत आवको लाभांश घोषणा गरिसकेको छ । बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगद गरी कूल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकमा विचाराधिन अवस्थामा रहेकाे छ । बैंकले राष्ट्र बैंकको निर्देशन भन्दा फरक लाभांशदर घोषणा गरेकोले उक्त प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति गर्छ वा गर्दैन भन्ने दुविधा देखिएकाे छ ।

त्यसैगरी, सिटिजन्स बैंकको पनि लाभांशदर घटेको छ । बैंकले लाभांशदरमा घटाए पनि बोनस सेयरमा भने वृद्धि गरेको छ । अघिल्लो आवमा १५ प्रतिशत लाभांश वितरण गरेको बैंकले गत आवमा ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आवमा ३ प्रतिशत बोनस र १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने गत आवको नाफबाट ७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकको प्रस्ताव रहेको छ ।

यी सबै बैंकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा सम्बन्धित बैंकको साधारणसभाले पारित गरेपछि मात्रै सम्बन्धित बैंकका सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.