विश्वकै ठूलाे सेयर निष्काशनमा एएनटीलाई सफलता, सबैभन्दा धेरै नाफा ज्याक माले पाउने

  २०७७ कार्तिक ११ गते १२:२५     विकासन्युज

काठमाडौं । ज्याक माले स्थापना गरेको एएनटी ग्रुपले अहिलेसम्म विश्वकै सबैभन्दा ठूलो रकम बराबरको साधारण सेयर बिक्री गरेको छ ।

कम्पनीले ३४ अर्ब ४० करोड अमेरिकी डलर अर्थात ४१ खर्ब २८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको हो । विश्वव्यापी कोरोना महामारीको बेलामा यति ठूलो रकमको सेयर बिक्री हुनु कम्पनीको लागि ऐतिहासिक सफता भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रविधिमा आधारित एएनटी ग्रुप चीनको सबैभन्दा ठूलो अनलाइन पेमेन्ट प्लेन्टफर्म हो । सेयर निष्काशनसँगै कम्पनीको भ्यालु ३१० अर्ब अमेरिकी डलर अर्थात ३७२०० अर्ब रुपैयाँ भन्दा बढीको भएको छ ।

यसअघि सबैभन्दा ठूलो साधारण सेयर निष्काशन गरेको रेकर्ड साउदीको सरकारी तेल कम्पनी ‘अरामको’सँग थियो । उक्त कम्पनीले सन् २०१९ को डिसेम्बरमा २९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको साधारण सेयर निष्काशन गरेको थियो ।

एएनटीको सेयर हङकङ स्टक एक्स्चेञ्ज र सांघाई स्टार मार्केटमा सूचिकृत भई कारोबार शुरु भएको छ । पहिलो दिन हङकङमा प्रतिकित्ता १०.३२ र सांघाइमा प्रतिकित्ता १०.२६ अमेरिकी डलरमा किनबेच भएको छ ।

एएनटी ग्रुपको सेयर निष्काशन र चीनका दुई ठूला स्टक मार्केटमा सूचिकृत भएसँग सबैभन्दा ठूलो कम्पनीको सेयर सूचिकृत हुने स्कट मार्केट अमेरिकामा नभई चीन भएको छ । यसलाई चीन र अमेरिकाबीच लामो व्यापार युद्धमा चीनको ठूलो सफलता मानिएको छ ।

शक्तिशाली ज्याक र एएनटी ग्रुप
एएनटी चीनको फाइनान्सीयल टेक्नोलोजीका काम गरिरहेकाे कम्पनी हाे जुन चीनको सबैभन्दा ठूलो इकमर्श अलिबाबा ग्रुपसँग आवद्ध छ । सन् २०१४ मा अलिबाबा कम्पनीको साधारण सेयर न्यूयोर्कमा सूचिकृत हुँदा पनि विश्वमा नयाँ रेकर्ड बनाएको थियो ।

ज्याक मा

एएनटी ग्रुपमा पनि ज्याकमा सबैभन्दा ठूलाे लगानीकर्ता हुन र यो कम्पनीले कमाउने नाफाको सबैभन्दा ठूलो हिस्सा पनि माले लिने छन् ।

मालाई अलिबाबा कम्पनीले नै विश्वको धनाढ्यहरुको सूचिमा शिर्ष नम्बरमा पुर्याएको थियो । दुर्त गतिमा सफलता चुमिरहेको एएनटीको कारण माको शक्ति झनै बढेर गएको छ ।

एएनटीको स्थापना चिनियाँ अर्थतन्त्र र जनजीवनसँग धेरै नै अन्तरसम्बन्धित रहेको छ । लगानी, बचत, कर्जा, बीमा, व्यापार देखि डेटिङसम्मको वित्तीय कारोबार एएनटीको प्लेटफर्मबाट हुने गरेको छ ।

एएनटीको पेमेन्ट एप अलिपे गत सेप्टेम्बरमा मात्र ७३ करोड १० लाखभन्दा बढी मानिसले प्रयोग गरेको थिए । गत एक वर्षमा यस कम्पनीबाट १७.७ ट्रिलियन अमेरिकी डलर बराबरको कारोबार भएको छ ।

विश्वव्यापी कोरोना महामारी र आर्थिक मन्दी हुँदा पनि गत ९ महिनामा यस कम्पनीको आम्दानी ४३ प्रतिशतले बढेर १७ अर्ब ७० करोड अमेरिकी डलर भएको छ । खुद नाफा ७४ प्रतिशतले वृद्धि भई १० अर्ब ४० करोड डलर भएको छ ।

यो कम्पनीको ग्रोथले चिनियाँ अर्थतन्त्रको विस्तारलाई संकेत गरिरहेको र चीनमा विश्व बजारलाई प्रभाव पार्ने शक्तिशाली कम्पनीहरु उदाउँदै गरेको सन्देश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

One comment on "विश्वकै ठूलाे सेयर निष्काशनमा एएनटीलाई सफलता, सबैभन्दा धेरै नाफा ज्याक माले पाउने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.