काेराेना भाइरसबारे २० प्रश्न र तिनकाे वैज्ञानिक जवाफ

  २०७७ कार्तिक ८ गते १९:५१     विकासन्युज

कोरोना भाइरस के हो ? यो जीव वा निर्जिव दुवै हैन भनिन्छ, खासमा यो कस्तो कीटाणु हो ?

कोरोना भाइरस वैज्ञानिक जगतकै लागि पनि नयाँ विषय हो । भाइरस आफैंमा जीवाणु होइन । भाइरस ल्याटिन भाषाको शब्द हो, जसको अर्थ विष हो । त्यसैले यसलाई विषाणु पनि भन्छन्, जुन संस्कृत भाषा हो । संसारमा लाखौं प्रकारका भाइरस छन्, कोरोना पनि तीमध्ये एउटा हो । वैज्ञानिक खोजले अहिलेसम्म मानिसमा सात प्रकारका कोरोना भाइरस फेला पारेको छ । यिनको वरिपरि मुकुट अर्थात् कोरोनाजस्तो संरचना हुने भएकोले यिनलाई कोरोना भाइरस भनी नाम दिइएको हो ।

भाइरस अत्यन्त सूक्ष्म हुन्छ । यो ब्याक्टेरिया (कीटाणु) भन्दा पनि सानो हुन्छ । ब्याक्टेरिया आफै सामान्य जीवकोषभन्दा १० गुणा सानो हुन्छ । जसको आकार ०.२ माइक्रोनदेखि १० माइक्रोनसम्म हुन्छ । अर्थात्, धुलो नुनको एउटा सानो दानाभन्दा एक हजार गुणा सानो हुन्छ ब्याक्टेरिया । त्योभन्दा सय गुणा साना हुन्छन् भाइरस । त्यसैले यिनलाई सामान्य प्रकारका सुक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) ले पनि देख्न सकिँदैन ।

भाइरसको अस्तित्वबारे मानव समुदायले सन् १८८६ मा थाहा पाएको थियो । जर्मन वैज्ञानिक एडोल्फ मायरले सुर्तीको पातमा लाग्ने एक प्रकारको रोगको कारक ब्याक्टेरिया रहेको अनुमान गरेका थिए । त्यतिबेला ब्याक्टेरिया पत्ता लागेको २१० वर्ष भइसकेको थियो । तर मायरले अनुमान गरेको ‘ब्याक्टेरिया’ देख्न सकिएन, बरु त्यो त फिल्टर पेपरबाट समेत छिरेर जाने थाहा लाग्यो । ब्याक्टेरिया नभएको टुंगो लागेपछि रोगको त्यो कारकलाई ‘भाइरस’ नाम दिइयो । सन् १९३१ मा इलेक्ट्रोन माइक्रोस्कोप बनेपछि बल्ल वैज्ञानिकहरूले भाइरसको रुप–रब देख्न सके । आजभोलि भाइरसको अध्ययन गर्ने छुट्टै विधा छ जसलाई भाइरोलजी भनिन्छ ।

भाइरसको गुण भनौं वा अवगुण, यो परजीवी हुन्छ । कुनै जीवित कोष बाहिर आफ्नै  बलबुताले यो वृद्धि हुन सक्दैन । यसकारण, भाइरसलाई जीवित कोष मानिँदैन, न त निर्जीव । यो प्रकृतिको विशिष्ट उत्पादन हो । भाइरसका कारण मानिसमा विभिन्न रोग लाग्छन् । रुघाखोकीजस्ता रोग भाइरसकै कारण हुने हो । रोगप्रतिरोध क्षमताले गर्दा रुघा लागेको केही दिनपछि हामी तंग्रिन्छौं । विडम्बना, अहिले देखा परेको कोरोना भाइरसविरुद्ध हामी सबैमा त्यस्तो प्रतिरोध क्षमता विकास भइसकेको छैन । त्यस्तो प्रतिरोध क्षमता नआउन्जेल अथवा औषधिको विकास नहुन्जेल सावधानी अपनाउनु नै अहिलेलाई सबैभन्दा उत्तम उपाय हो ।

२. भाइरसको विकास कसरी भएको होला ? कसै–कसैले यो प्रयोगशालामा उत्पत्ति भएको भन्छन् नि ?

भाइरस (विषाणु) को उद्भव कसरी भयो ? यो बडो रोचक प्रश्न हो । जीव वैज्ञानिकहरू खासमा विषाणुविज्ञहरू यसको उत्तर खोज्न लागिपरेको सन् १८९२ देखि नै मान्नुपर्छ; जतिखेर उनीहरूले सुर्तीको पातमा देखापरेको एक प्रकारको छिर्के–बिर्के रोगको अनुसन्धान थाले । तर भाइरसको विकाससम्बन्धी एउटै र सरल उत्तर छैन ।भाइरसको विविधता अत्याधिक धेरै भएकाले यसको विकास चित्र कोर्न वैज्ञानिकहरूलाई पनि गाह्रो परिरहेको छ ।

भाइरसहरू पूर्णतः सजीव हैनन्, तर एउटा जीवबाट अर्कोमा सर्छन् र संख्यात्मक रुपले वृद्धि हुन्छन् । यो विशेषताका आधारमा भाइरसको विकासबारे तीनवटा तर्क अघि सारिएका छन् । पहिलो, भाइरसहरू जीवहरूबीच सर्न सक्ने विशेष वंशाणुगत वस्तुका रुपमा विकास भएको हुनुपर्छ । दोस्रो, यिनीहरू सुरुमा स्वतन्त्र जीवका रूपमा विकास भएर पछि परजीवीमा रूपान्तरण भएका हुन सक्छन् । तेस्रो, भाइरसहरू सम्पूर्ण जीवकै प्रारम्भ विन्दु पनि हुन सक्छन् किनभने यिनीहरूमा सजीव र निर्जीव बीचको गुण पाइन्छ । यी तीन वटा तर्कका आधारमा विषाणु विज्ञहरूले भाइरसको उत्पत्ति र विकास सम्बन्धमा तीनवटा सैद्धान्तिक परिकल्पनाहरू (हाइपोथेसिस) अगाडि सारेका छन्ः १) अग्रगामी विकासको परिकल्पना, २) प्रतिगामी विकासको परिकल्पना र ३) पहिलो भाइरसको परिकल्पना ।

अग्रगामी विकासको परिकल्पना अनुसार प्रकृतिमा निश्चित प्रकारका चलायमान वंशाणु (मोबाइल जिन) हुन्छन् जो वंशाणुगत त्यान्द्रो (जिनोम) भित्र पनि स्थानान्तरण भइरहन सक्छन् । ती चलायमान वंशाणुमा कुनै प्रकारले एउटा कोषदेखि अर्कोमा जाने क्षमताको विकास हुन जान्छ । यस्तो प्रक्रियाबाट भाइरसको उत्पत्ति भएको हुनुपर्छ । यसको राम्रो उदाहरण हो, रेट्रोभाइरस । यो परिवारभित्र एड्स रोगको कारक एचआइभी पनि पर्छ ।

प्रतिगामी विकासको परिकल्पनाले भने ठीक विपरति मान्यता राख्छ । यो परिकल्पना अनुसार, भाइरसहरू सुरुमा स्वतन्त्र बाँच्ने जीवहरू थिए । कालान्तरमा तिनमा वंशाणुगत गुण ह्रास हुन गयो र ती परजीवी भएर घुम्न थाले । यसको राम्रो उदाहरण हो, मिमिभाइरस, जुन भाइरस जगतमा सबभन्दा ठूलो आकारको हुन्छ । बिफरको भाइरस यसै समूहमा पर्छ ।

पहिलो भाइरसको परिकल्पना अनुसार भने पृथ्वीमा जीवनको विकास हुने क्रममा सबै भन्दा शुरुमा भाइरस देखापरेको हो । त्यसपछि मात्र अन्य जीवहरूको विकास भएको हो । उद्विकास विज्ञानमा भएका पछिल्ला खोजहरुले यो परिकल्पनालाई धेरै हदसम्म साथ दिन्छन् । पछिल्ला खोजहरुले देखाएका छन्, जीवनको विकासको क्रममा विभिन्न अणुहरुबाट जीवनका लागि आवश्यक पर्ने रसायनका ठूला अणुहरु बने । तीमध्ये पहिलो थियो, राइबोन्युक्लिक एसिड (आरएनए) । आरएनएबाटै डिअक्सिराइबोन्युक्लिक एसिड बनेको हो । यो सिद्धान्तलाई स्वीकार्दा सबैभन्दा पहिले भाइरस बनेको हो भन्ने निष्कर्षमा पुग्नुपर्छ । यो परिकल्पनालाई बल दिने जिवाणु हो, पोलियो भाइरस । किनभने यो भाइरसमा वंशाणुगत वस्तु आरएनए हुन्छ ।

कोभिड–१९ विश्वव्यापी महामारी बन्दै गर्दा कोरोना भाइरस प्रयोगशालामा उत्पत्ति भएको भन्ने ठान्नेहरु पनि छन् । तर त्यसो भन्नेहरू निश्चित खेमाका राजनीतिकर्मी वा षडयन्त्र–सिद्धान्त (कन्सपिरेसी थ्योरी) का पक्षपातीहरू हुन् । यस्तो आरोपलाई वैज्ञानिक जगतले आधारहिन भनेर नकारिसकेको छ । सन् १९८० को दशकमा एड्सको महामारी फैलिँदा पनि यस्तै अफवाह फैलिएको थियो ।

३. नोबल कोरोना भाइरस के हो ? भाइरसले कसरी संक्रमित बनाउँछ ?

अहिले चलनचल्तीमा कोरोना भनिने यो भाइरस कोरोनाभिरिडे परिवार अन्तर्गत पर्छ । कोरोना भाइरस मानवमा श्वासप्रश्वाससम्बन्धी रोगहरू निम्त्याउन जिम्मेवार भाइरस परिवार हो । यो जुन एक पोजिटिभ स्ट्यान्डको आरएनए जिनोमको साथ विकसित भाइरस हो । नोबल कोरोना भाइरस एक नयाँ प्रकारको भाइरस हो । सुरुमा यसलाई नोबल अर्थात् नयाँ कोरोना भाइरस भनिएको थियो । पछि विश्व स्वस्थ्य संगठनले यसलाई सार्स–कोभी–२ भाइरस भनेर नामाकरण गरेको छ । यसअघि मानवमा यो भाइरस पहिचान गरिएको थिएन ।

कोरोना भाइरस मानवमा श्वासप्रश्वाससम्बन्धी रोगहरू निम्त्याउन जिम्मेवार छ र एनकोभी त्यो भाइरसको एक नयाँ प्रकार हो ।

कोभिड–१९ मुख्यतः संक्रमित व्यक्तिले खोक्दा र हाच्छ्युँ गर्दा नाक अथवा मुखबाट निक्लिने पानीको छिटाबाट सर्छ । सार्स–कोभी–२ को संक्रमणको मुख्य मार्ग श्वासप्रश्वासको अंग र नजिकको सम्पर्क हो । जब कोही स्वस्थ व्यक्ति श्वासप्रश्वाससम्बन्धी रोगका लक्षण जस्तै रुघाखोकी लागेको अर्को व्यक्तिको नजिकै सम्पर्कमा (एक मीटर भित्र) आउँछ, तब संक्रमितले हाच्छ्यँु गर्दा वा खोक्दा निक्लिने थुकको छिटाको माध्यमबाट उसको मुख र नाक वा कन्जेक्टिवा (आँखा) बाट समेत संक्रमण फैलिने खतरा हुन्छ । थुकको छिटाको व्यास सामान्यतया ५–१० माइक्रो मिलिमीटरसम्म हुन्छ । आजभोलि फैलिरहेको कोरोना भाइरस संक्रमित व्यक्तिको वरपरको वातावरणमा फोमिटहरूमार्फत फैलिन सक्छ । सरसफाइमा ध्यान नदिए संक्रमितको सम्पर्कमा रहेका बस्तु जस्तै घरको ढोका, ह्यान्डल, बार, नगद पैसा, सिक्का र खाने कुरा (फलफूल तथा तरकारी) छुँदा वा प्रयोग गर्दा स्वस्थ व्यक्तिमा पनि संक्रमण फैलिने सम्भावना हुन्छ । यदि स्वस्थ व्यक्तिले साबुनद्वारा अफ्नो हात धुन्छ वा सेनिटाइटर प्रयोग गर्दछ भने संक्रमणको सम्भावना कम हुन्छ ।

४. कोरोना भाइरस कसरी र के के माध्यमबाट सर्छ ?

कोरोना भाइरस मुख्यतया संक्रमित व्यक्तिको थुक, नाकबाट निस्कने सिँगान र उसले खोक्दा, हाच्छ्युँ गर्दा छचल्किने थोपाहरूबाट वा छीँ गर्दा निस्कने सिंगानबाट सर्दछ । त्यस्ता संक्रमित व्यक्तिको सिँगान वा खकार परेको कुनै पनि वस्तु जस्तैः पैसा, नोट, गहना, तरकारी र अन्य खाने वस्तुहरू वा ठाउँ जस्तैः ढोकाको ह्यान्डल, चुकुल, बार आदिमा स्वस्थ मानिसको हातले छुन पुग्यो र त्यस्तो छोएको हातले आँखा, नाक र मुख छुन गएछ भने पनि उसको शरीरमा यी भाइरसहरू सर्न सक्छन् । वैज्ञानिकहरूका अनुसार धातुका सामानहरू जस्तै ढोकाको ह्यान्डल, चुकुल, बार, गहना र चाँदीका थाल, कचौरा आदिमा यो भाइरस पाँच दिनसम्म, काठका फर्निचरहरूमा चार दिनसम्म, प्लास्टिक र स्टिलमा दुईदेखि तीन दिनसम्म रहन सक्दछन् । त्यस्तै, बाक्लो कागजको गत्ता (कार्डबोर्ड) मा २४ घण्टा, तामामा चार घण्टा र आल्मोनियममा दुईदेखि आठ घण्टासम्म रहन सक्दछन् । हामीले अत्यधिक प्रयोग गर्ने ग्लास, सेरामिक्स र कागजमा यिनीहरू पाँच दिनसम्म रहनसक्ने बताइएको छ ।

५. कोरोना भाइरस चमेरा र सालकबाट मानिसमा सरेको भन्छन, के यो सत्य हो ?

वैज्ञानिकहरूका अनुसार हालसम्म मानव शरीरमा सातथरी कोरोना भाइरस पत्ता लागेका छन् । तीमध्ये चार प्रकारका कोरोना भाइरस. मानव स्वास्थ्यमा खासै असर नगर्ने खालका छन् भने बाँकी तीनले महामारी फैलाएका छन् । सन् २००२ मा सुरु भएको सार्स, सन् २०१२ को मर्स र सन् २०१९ डिसेम्बरदेखि फैलिएको हालको सार्स–कोभी–२ सबै कोरोना भाइरस परिवारका सदस्य हुन् । यी सबै कोरोना भाइरसहरूलाई प्राणीजन्य रोग (जूनोटिक डिजिज) मानिन्छ । सन् २०१९ डिसेम्बरमा चीनको वुहानमा यो महामारी शुरू भएपछि वैज्ञानिकहरूले बिरामीका रगत र स्वाबका नमुना संकलन गरी कोरोना भाइरसको आनुवांशिक अध्ययन गरेका थिए । नमुना संकलित सात बिरामीमध्ये छ जना वुहानको जीवित जनावरसमेत बेचबिखन हुने मासुबजार (वेट मार्केट) का व्यापारी थिए । परीक्षणको परिणाममा पाँचजना बिरामीमा कोरोना पोजेटिभ पाइएको थियो । त्यस्तै अर्को एक अध्ययनमा ४२५ वटा कोभिड–१९ का बिरामीका नमुनाहरूको आनुवांशिक अध्ययन गरी बिरामीहरूको पूर्वगतिविधि समेत सर्वेक्षण गरिएको थियो, जसमा करिब ५९ प्रतिशतको गतिविधि वुहानका सामुहिक मासु बजारसँग जोडिएको थियो । यिनै प्रारम्भिक अनुसन्धानका आधारमा कोरोना भाइरस (जसलाई हाल सार्स–कोभी–२) जनावरबाट मानिसमा सरेको भन्ने अनुमान लगाइयो ।

कुन जनावरबाट आएको हो भन्ने यकिन भने भएको छैन । कहिले सर्प, कहिले सालक भनियो सायद उक्त बजारमा यी जनावरहरू बेच्न रखिएको थियो । अनुसन्धानहरूले सार्स जस्ता भाइरसहरूको स्रोत चमेरा, मुसा या अन्य जंगली जनावरहरू हुन् भन्दै आएका थिए । सन् २००३ सालमा सार्सको पहिलो महामारी दक्षिण चीनको क्वाब्चाउ सहरमा फैलिएपछि अस्ट्रेलिया, अमेरिका र चीनका वैज्ञानिकहरूको समूहले चमेराका कतिपय प्रजातिमा कोरोना भाइरसहरू पाइएको तथ्य प्रकाशन गरेको थियो । तिनै पूर्वअध्ययनसँग जोडेर वुहानमा कोरोना भाइरसको मुहान पनि चमेराहरू भएको र चमेराबाट सालक हुँदै मानव शरीर आइपुगेको भन्ने अनुमान गरियो । सार्स–कोभी–२ को आनुवंशिक अध्ययनले यो भाइरस २००२ मा चीनमा फैलिएको सार्ससँग निकै नजिक र २०१२ मा मध्यपूर्वमा फैलिएको मर्ससँग निकै कम सम्बन्ध रहेको देखाएको छ । सार्ससँग यसको ९६ प्रतिशत समानता छ । मध्यपूर्वमा सन् २०१२ मा फैलिएको मर्सका समयमा पनि भाइरसहरू चमेराबाट ऊँट हुँदै मानिसमा आएको भन्ने गरिएको छ । तर चमेरा वा सालकबाट नै कोभिड–१९ को महामारी फैलिएको हो भन्ने पुष्टि गर्ने तथ्य छैन । चमेराबाट भाइरस पहिला मध्यस्थ जनावरमा पुग्ने र त्यहाँ भाइरसको उत्परिवर्तन (म्युटेसन) भएर मात्र मानिसमा आउने हुँदा नयाँ र शक्तिशाली रुपको भाइरस नियन्त्रण गर्न कठीन भएको हो भन्ने बुझाइ रहेको छ । साथै, चमेराबाट भाइरस कस्तो अवस्थामा, कुन माध्यमबाट मध्यस्थ जीवजस्तो सालकमा आउँछ भन्ने प्रश्न पनि अनुत्तरित नै छ । यसको पुष्टि गर्न थप अनुसन्धान आवश्यक पर्ने देखिन्छ ।

नयाँ भाइरसहरू उत्परिवर्तन भई शक्तिशाली परिवर्तन गरिरहेको भने साँचो हो । तसर्थ, सार्स २००३ र मर्स २०१२ मा सफल एन्टिभाइरल औषधिहरूले हालको महामारीमा प्रभावकारी भूमिका खेल्न नसकेकाले कोभिड–१९ ले महाव्याधीको रुप लिएको हो । यसरी पशुपक्षीबाट मानिसमा कोरोना भाइरस सरेकै अवस्थामा पनि त्यो ती अबोध पशुपक्षीबाट होइन, बरु मानिसहरूकै गलत क्रियाकलापले गर्दा हो भन्ने चाहिँ बिर्सनु हुँदैन । कुनै पनि पशुपक्षीप्रति घृणाभाव फैलिने काम गर्नु सभ्य मानिसलाई सुहाउँदैन ।

६. संसारमा कोरोना भाइरसको अस्तित्व कहिलेदेखि छ ?

सदियौं पहिलेदेखि कोरोना जातिको भाइरसले मानिसलगायत अन्य जनावरमा संक्रमण गर्दै आइरहेको हुनुपर्दछ । तर यसको पहिचान र नामाकरण टाइलर भन्ने वैज्ञानिकको समूहले सन् १९६० मा गरेको पाइन्छ । उक्त वैज्ञानिकको समूहले बनावटका आधारमा उक्त भाइरस नयाँ जातिको हो भन्ने पहिचानका साथ कोरोना भनी नामकरण गरे ।

त्यसपछि यसका अन्य प्रजातिहरू पत्ता लाग्दै आए । थुप्रै कोरोना भाइरसहरू पत्ता लागिसकेपछि वैज्ञाकिनहरूले जनावर र मानिसमा पाउने कोरोना भाइरसलाई तीन समूहमा विभाजन गरे; पहिलो समूहमा 229E र अन्य दोस्रो समूहमा OC43 र अन्य तथा तेस्रो समूहमा चरा वर्गमा पाइने भाइरस ।

भाइरसहरूमा उत्परिवर्तन भई आनुवांशिक बनावटमा परिवर्तनसँगै नयाँ प्रजातिमा विकास हुन सक्छन् भन्ने प्रमाणित भइसकेको छ । उत्परिवर्तनकै क्रममा सन् २००२–२००३ मा नयाँ प्रजातिको भाइरसले चीनमा तहल्का मच्चायो र विश्वका २९ वटा राष्ट्रलाई आफ्नो चपेटामा लियो । उक्त भाइरसलाई सार्स कोरोना भाइरस  भनी नामाकरण गरियो । त्यसको करिब एक दशकपछि सन् २०१२ मा कोरोना परिवारकै अर्कै प्रजातिको भाइरसले साउदी अरेबियामा संक्रमण ग¥यो । त्यसलाई मर्स कोरोन भाइरस भनी नामकरण गर्यो र हालै २०१९ मा फेरि नयाँ प्रजातिको भाइरसले विश्वलाई नै ठप्प बनाइदियो । उक्त भाइरसलाई सार्स–कोभी–२ भनी नामकरण गरियो । यो जातिको भाइरस चीनमा पाइने एउटा जातिको चमेरोबाट मानिसमा सरेको अनुमान गरिएको छ । यसको अर्थ चमेरोलगायत अन्य जनावरमा यसका आफन्तहरू धेरै पहिलेदेखि नै रहेको हुनुपर्छ । उनीहरूले बिस्तार आफ्नो आनुवांशिक बनावटमा परिवर्तन ल्याउदै मानिसको कोषभित्र बस्न योग्य बनाई सन् २०१९ मा मानिसमा संक्रमणको सुरुवात गरेको हुनुपर्छ ।

सार्स–कोभी–२ सहित जम्मा तीन प्रकारका कोरोना भाइरसहरु जूनोटिक महत्वका अर्थात जन्तु–जनावरसित सम्बन्धित कोरोना भाइरसमा गनिन्छ ।

७. कोरोना भाइरसले किन मानिसलाई मात्र संक्रमण गरिरहेको छ ?

भाइरस एक निर्जीव र जीवित कोषको परिवर्तन कालको अवस्था हो । यसको बनावट अन्य जीवको जस्तो जटिल हुँदैन । प्रोटिनको खोलभित्र हुने न्युक्लिक एसिड (आरएनए वा डिएनए) समेटिएर भाइरस बनेको हुन्छ । न्युक्लिक एसिड आफैंमा सजीव होइन । जीवनको एउटा आधारभूत अंश मात्र हो । हाम्रो शरीरका कोषहरुमा पनि डिएनए र आरएनए नामका न्युक्लिक एसिड हुन्छन् ।

भाइरसमा भएको न्युक्लिक एसिडले आफूलाई चाहिने प्रोटिन बनाउन र रासायनिक प्रतिक्रियामा सहभागी हुने क्षमता हासिल गरेपछि मात्रै त्यो सजीवको रुप धारण गर्छ । यसरी सक्रिय हुन उसले आफूलाई अनुकुल हुने वातावरण पाउनुपर्छ । त्यो अनुकुल वातावरण अन्य जीवको निश्चित कोष हुनसक्छ । त्यो कोषमा नपुगुन्जेल भाइरस निर्जिवसरह निस्क्रिय हुन्छ । तिन, चार दिनमा त्यस्तो अनुकुल वातावरण पाएमा त्यो सक्रिय हुनसक्छ । यसैले पनि भाइरसलाई निर्जीवबाट जिवित कोषबीचको परिवर्तन कालको एक अवस्थाको रुपमा लिइएको हो । अर्थात्, निर्जिवबाट सजिवको निर्माण भएको हो भन्ने प्रमाण पनि हो, भाइरस ।

कुन भाइरस कुन कोषमा पुगेपछि सक्रिय बन्छ भन्ने चाहिँ यसमा भएको विशेष तत्व लिग्यान्डले निर्धारण गर्छ । त्यो लिग्यान्ड अन्य जीवको कोषमा रहेको रिसेप्टरसँग गएर टाँसिएपछि भाइरसमा रहेको न्युक्लिक एसिड थप प्रतिक्रियामा भाग लिनसक्छ । हरेक भाइरसको लिग्यान्ड फरक–फरक आकारका हुन्छन् । कोषका रिसेप्टरको आकार पनि फरक–फरक आकारका हुन्छन् । त्यसैले एउटा कोषको रिसेप्टरमा टाँसिन सक्ने लिग्यान्ड अर्को कोषको रिसेप्टरमा टाँसिन सक्दैन । सजिलो भाषामा भन्ने हो भने, भाइरसको लिग्यान्ड साँचो हो भने कोषमा भएको रिसेप्टर ताल्चा ।

जसरी निश्चित साँचोले निश्चित ताल्चामात्र खोल्नसक्छ त्यसैगरी निश्चित भाइरस निश्चित कोषमा मात्र सक्रिय हुनसक्छ । त्यसैले निश्चित भाइरसले ब्याक्टेरिया, वनस्पति, पशुपक्षी र मानिसको कोषभित्र पसेर विभिन्न किसिमले संक्रमण गर्न सक्छ ।

भाइरस मानिसको शरीरभित्र पाँच किसिमका माध्यमबाट प्रवेश गर्न सक्छ । यी हुन्ः १. छाला, २. श्वास नली, ३. खाने नली, ४. मुत्र नली, र ५. रगत ।

शरीरको निश्चित कोषमा मात्रै निश्चित भाइरस सक्रिय हुने भएकाले कुनै एक भाइरसले निश्चित प्रणालीलाई मात्र असर गर्छ । जस्तै कुकुरबाट सर्ने रेबिज भाइरसले मस्तिष्कलाई, मुसाबाट सर्ने हान्टा भाइरसले श्वासप्रश्वास प्रणालीलाई, रोटा भाइरसले पेटलाई र कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीलाई । कोरोना भाइरसको सतहमा हुने काँडा जस्तो स्पाइक प्रोटिन फोक्सोको कोषिकाको रिसेप्टरबाट भित्र छिर्छ ।

कोरोना भाइरसले मानिसमा मात्र नभई जनावरमा पनि संक्रमण गरिराखेको हुन्छ । यसले जूनोटिक रोग गराउछ । यो उत्परिवर्तन भएर मानिसमा भएको ACE1 (Angiotensin Converting Enzyme) नामक प्रापकलाई आक्रमण गरी संक्रमण गर्छ । त्यसैले कोरोना भाइरसले मनिस र जनावर दुवैलाई संक्रमण गर्छ ।

८. कोरोना भाइरस मानिसबाट अरू जनावरमा र अरू जनावरबाट मानिसमा सर्छ कि सर्दैन ?

अहिले देखापरेको नयाँ कोरोना भाइरससहित जम्मा सात प्रकारका  कोरोना भाइरसले मानिसमा संक्रमण गर्न सक्छ भन्ने पुष्टि भइसकेको छ । यीमध्ये पहिलो चार किसिमका कोरोना भाइरसले मानिसबाहेक अन्य जनावरहरूलाई संक्रमण गर्दैन । यद्यपि कोरोना भाइरस जसले साधारण रुघाखोकी लगाउँछ यिनीहरूको आनुवशिक बनावट कुकुरमा लाग्ने कोरोना भाइरस र गाईभैंसीमा लाग्ने कोरोना भाइरससँग नजिक भए पनि मानिस र जनावरबीचमा सरेको पाइएको छैन । तर बाँकी तीन वटा कोरोना भाइरसले सार्ने रोगलाई जूनोटिक रोगमा गणना गरेको छ । यसको अर्थ ती रोगहरू मानिसबाट जनावर र जनावरबाट मानिसमा सर्न सक्छ ।

जहाँसम्म सार्स–कोभी–२ को सवाल छ, अहिलेसम्मको बुझाइमा सुरुवाती चरणमा यो भाइरस चमेरोबाट मानिसमा सर्यो । त्यसपछि मानिसबाट मानिसमा तीव्र गतिमा सर्दै गयो र प्यान्डेमिकको रुप लियो । यस बाहेक यस भाइरसको आनुवांशिक बनावट सालकसँग ८५–९२ प्रतिशत मेल खाने देखिएकोले सालकले यस भाइरसको संक्रमणमा भण्डारणको आश्रयदाताको रुपमा काम गरेको अनुमान गरेको छ ।

यो भाइरस घरपालुवा तथा अन्य जनावरमा पनि सरेको प्रमाण आइरहेका छन् ।तर ती जनावरबाट मानिसमा सरेको प्रमाणहरू अहिलेसम्म आएका छैनन् । यसको अर्थ यो रोग जनावरबाट मानिसमा सर्दैन भन्ने होइन । त्यो सम्भावनालाई नकार्न पनि सकिँदैन ।

यो भाइरस घरपालुवा तथा अन्य जनावरमा पनि सरेको प्रमाण आइरहेका छन् । सन् २०२० कै मार्चमा हबकबको घरपालुवा कुकुरमा र बेल्जियमको घर पालुवा बिरालोमा तथा अप्रिलमा अमेरिकाको बिरालोमा यो भाइरस पत्ता लगाइ सकिएको छ । ती जनावरहरूमा यो रोग उनीहरूकै मालिकबाट सरेको हो भन्ने पनि प्रमाणित भइसकेको छ । यसरी नै अमेरिकाकै चिडियाखानाका बाघ र सिंहमा पनि कोरोना भाइरसले संक्रमण गरेको प्रमाणहरू आइसकेका छन् । तर ती जनावरबाट मानिसमा सरेको प्रमाणहरू अहिलेसम्म आएका छैनन् । यसको अर्थ यो रोग जनावरबाट मानिसमा सर्दैन भन्ने होइन । त्यो सम्भावनालाई नकार्न पनि सकिँदैन ।

९. कोरोना भाइरस झिंगा/माखाबाट सर्छ कि सर्दैन ? के कोरोना भाइरस दिसाबाट फैलिन सक्छ ?

आजको मितिसम्म कोरोना भाइरस संक्रमित व्यक्तिबाट माखा अर्थात् झिंगाले अन्य व्यक्तिमा सारेको पुष्टि भएको छैन । यो मिथक हो र अहिलेसम्म वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छैन । यद्यपि झिंगा दूषित सतहमा बस्ने भएकाले संक्रमणको प्रसारको लागि एक मेकानिकल भेक्टर हुन सक्ने आकलन केही वैज्ञानिकले गरेका छन् । अहिलेसम्म कोरोना भाइरससम्बन्धी प्राप्त वैज्ञानिक तथ्यांकअनुसार यसले मुख्य रूपमा हाम्रो श्वासप्रश्वास प्रणालीलाई असर गर्छ, जुन संक्रमित व्यक्तिबाट अर्कोमा नाक र मुखबाट निक्लेका छिटामार्फत सर्ने गर्दछ । यो वायुजनित संक्रमण होइन ।

कोरोना भाइरस प्लास्टिक, कागज, धातु वा काठ सतहमा अवतरण गर्नुअघि केही मिनेटसम्म मात्र हावामा रहन्छ तर अवतरणपश्चात् भने त्यस सतहमा लामो समयसम्म बस्न सक्छ । विश्व स्वस्थ संगठनबाट प्राप्त जानकारीअनुसार कोरोना मुख्य रूपले संक्रमित व्यक्तिको खोकी, छींक वा बोल्दा उत्पन्न हुने स–साना पानीका थोपामार्फत फैलिन्छ । त्यस्तै भाइरस दूषित सतहहरू छोएपछि राम्रोसँग हात नधोई आफ्नो आँखा, नाक वा मुख छोएको अवस्थामा पनि संक्रमण हुन सक्छ । त्यसैले आफूलाई भाइरसबाट जोगाउन कम्तीमा अरूबाट एक मीटर दूरी राख्नुहोस् र अक्सर छुने सतहहरूलाई कीटाणुरहित गर्नुहोस् । आफ्ना हातहरू साबुनपानीले राम्ररी धुनुहोस र तपाईंको आँखा, मुख र नाकलाई नछुनुहोस् ।

कोभिड–१९ संक्रमणले आन्द्रा संक्रमण हुन सक्छ भन्ने केही प्रमाण छन् र भाइरस दिसामा पनि पाइन्छ । यद्यपि आजसम्म एउटा अध्ययनले मात्र एउटा दिसाको नमुनाबाट कोभिड–१९ भाइरस कल्चर गरेको पाइएको छ । अहिलेसम्म कोरोना भाइरस मानिसको मुख–मलद्वार मार्गबाट सरेको प्रतिवेदन आएको छैन । तसर्थ कोरोना भाइरस दिसामा भेटिए तापनि भाइरल लोड निक्कै कम पाइएको हुँदा आजसम्म दिसाबाट कोरोना सरेको देखिएको छैन ।

१०. के नोबेल कोरोना भाइरस कमजोर भएको छ ?

सार्स–कोभी–२ भाइरसमा तीव्र गतिमा उत्परिवर्तन हुने सम्भावना छ । उत्परिवर्तन भनेको कुनै पनि जीवनको आनुवंशिक संरचनामा (वंशाणु शृंखलामा) हुने हठात् परिवर्तन हो । यस्तो उत्परिवर्तनले सार्स–कोभी–२ कमजोर भएको छ वा थप बलियो भन्नेबारे वैज्ञानिकहरुले संसारैभरी अध्ययन गरिरहेका छन् ।

कुनै पनि जीवको वंशाणुमा उत्परिवर्तन भयो/भएन भनेर थाहा पाउन संसारको विभिन्न स्थान र फरक–फरक समयको सम्पूर्ण जिन (होल जिनोम सिक्वेन्स) को तुलनात्मक अध्ययन गरिन्छ । सन २०२० को ५ जुनसम्म ४८ देशमा ५ हजार ४६२ वटा सार्स–कोभी–२ भाइरसको होल जिनोम सिक्वेन्स प्रकाशित भएको छ । यी होल जिनोम सिक्वेन्सको विश्लेषणले सार्स–कोभी–२ भाइरस र सन् २००३ को सार्स कोरोना भाइरस बीचमा ९६ प्रतिशत समानता रहेको तथ्य स्थापित गरेको छ ।

हालसम्म प्रकाशित होल जिनोम सिक्वेन्सहरूको वंशाणुगत विश्लेषण गर्दा मुख्यतः तीन प्रकारका सार्स–कोभी–२ पाइएका छन् । जसको नामकरण ए, बी, र सी भनी गरिएको छ । ए र सी प्रकारको सार्स–कोभी–२ भाइरस युरोप र अमेरिकामा फैलिएको छ भने एसिया र पूर्वीएसियामा बी प्रकारको भाइरस फैलिएको छ ।

होल जिनोम सिक्वेन्सका न्युक्लियोटाइडहरूको स्थानलाई संख्याका आधारमा छुट्याएर संरचनामा के कति परिवर्तन भयो भनी अमेरिकी वैज्ञानिक डा. फोस्टर र उनको टिमले अध्ययन गरेको छ । उनीहरूको अध्ययनअनुसार प्रकार ‘ए‘को T29095C  मा उत्परिवर्तन भई ‘टी एलील’ र ‘सी एलील’ बनेको देखिन्छ । यी एलील उपसमूह विशेषतः अमेरिकाका संक्रमितहरूमा देखिएको छ । त्यस्तै थोरै संख्यामा चीनको वुहानमा पुनः संक्रमण भएकाहरूमा देखिएको छ । प्रकार–बी भने वुहानमा लामो समयसम्म रहेको देखिन्छ । यसको T8782C / C28144T मा परिवर्तन भई ल्युसिन एमिनो एसिड र सिरिन एमिनो एसिडमा उत्परिवर्तन भई चीनबाट युरोपको जर्मनी, फ्रान्स, इटली, अमेरिका, क्यानडा र मेक्सिकोमा संक्रमण फैलिएको देखिन्छ ।

यसरी नै प्रकार–बीको G26144T मा उत्परिवर्तन भई ग्लाइसिन एमिनो एसिड ‘भालिन एमिनो एसिड’ मा परिवर्तन भएको पाइएको छ । यसरी उत्परिवर्तित भाइरस चीनको वुहानबाट सिंगापुर हुँदै युरोपका सबै देशहरूमा फैलिएको छ । यो उत्परिवर्तनले सार्स–कोभी–२ भाइरसमा संक्रमण गर्ने क्षमता अझ बढेको पाइएको थियो । उत्परिवर्तनको क्रम अध्ययन गर्ने केही अनुसन्धानकर्मी भाइरसमा भएको परिवर्तनको आधारमा मुख्य दुई किसिम र त्यसमध्ये प्रकार ‘ए’ बाट पुन प्रकार ‘सी’ मा उत्परिवर्तन भएको ठान्छन् ।

यी तीन प्रकारभित्र पनि देश र स्थानअनुसार थप उप–प्रकारहरूका समूह देखिएका छन् । हालसम्म प्रकाशित होल जिनोम सिक्वेन्सहरूको विश्लेषणले सार्स–कोभी–२ भाइरसमा अन्यको तुलनामा उत्परिवर्तनको दर निकै ढिलो रहेको देखिएको छ । यो ढीलो उत्परिवर्तनले भ्याक्सिनको अनुसन्धानलाई फाइदा नै पुर्याइरहेछ ।

उत्परिवर्तनले भाइरस कमजोर भयो होला ? इटलीको जेनोआस्थित सान मार्तिनो हस्पिटलका डा. मातिओ बासितीका अनुसार गत फेबु्रअरीमा कोभिड–१९ संक्रमितहरूलाई तीन र चार दिनभित्र अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने हुन्थ्यो तर, मे महिनादेखि यस्तो अवस्थामा परिवर्तन आएको छ । ज्येष्ठ नागरिकमा पनि भाइरसको असर कम भएको देखिएको छ । यो तर्कसँग इटलीकै पाभिया विश्वविद्यालयका डा. जिआन वातिस्ता पारिजी पनि सहमत छन् । तर, विश्व स्वास्थ संगठनले यस तर्कलाई विश्वास गरेको देखिँदैन । विश्व स्वास्थ्य संगठनले भाइरस आफैं परिवर्तन भएको भन्ने नदेखिएको साथै थप जटिलता उत्पन्न हुने गरी संक्रमण फैलाउन सक्ने गरी विकास पनि नभएको बताएको छ । त्यसैले अझ पनि लकडाउन, भौतिक दूरीजस्ता नियमलाई कडाइका साथ पालना गर्दै सबैले संयम अपनाउनुपर्नेमा जोड दिएको छ ।

समुदायमा निरन्तर प्रसार भएको भाइरसले आफूलाई नियमित परिवर्तन र उत्परिवर्तन गर्दै जान्छ । यो भाइरसको सामान्य नियम हो । भाइरस सक्रिय हुन जीवित कोष (होस्ट कोष) चाहिन्छ । तर, उसले आफू सक्रिय हुने क्रममा जीवित कोषलाई नै नष्ट गर्छ । जीवित कोष मरेसँगै भाइरस पनि निस्क्रिय हुन्छ । केस वेस्टर्न विश्वविद्यालयका भाइरस विशेषज्ञ डा. क्यामरूनका अनुसार भाइरस सक्रिय भइरहन होस्ट कोष पनि जीवित भइराख्नुपर्छ । यही सिद्धान्त मान्ने हो भने भाइरसले आफ्नो होस्ट जीवितै राखेर आफ्नो रेप्लिकेसन गर्ने क्षमता बढाउन उत्परिवर्तन गरिरहन्छ ।

समुदायमा भाइरस प्रसार भएसँगै भाइरसमा हुने उत्परिवर्तनले त्यसमा रहेको प्राणघातक संक्रमणको क्षमतामा कमी आउँछ । तर, ‘सार्स–कोभी–२’ भाइरसमा यस्तै उत्परिवर्तन हुन्छ भन्न कठीन छ, यसको प्राकृतिक प्रणाली अझ खोजको विषय छ । अहिलेलाई यथार्थ यही हो, हामी र भाइरस सँगसँगै बाँच्नुपर्छ । सार्स–कोभी–२ भाइरसको उपस्थिति स्वीकारेर नव–यथाक्रमको जीवन स्वीकारेर बढ्नुको विकल्प छैन ।

११. कोरोना भाइरसको संक्रमणको संख्या वा प्रवृत्तिको भविष्यवाणी गर्न सकिन्छ ?

कोरोना भाइरसको हालको अवस्थालाई हेर्ने हो भने संसारभरमै कोरोनाको संक्रमण दर एकै किसिमको देखिँदैन । चीन, न्यूजिल्यान्ड तथा रुवान्डाजस्ता देशहरूमा संक्रमण दर निकै घटिसकेको छ भने अमेरिका, भारत तथा नेपाल जस्ता देशहरूमा बढिरहेको छ । कोरोनाको संक्रमण दर बढ्नु र घट्नुमा हरेक देशहरूले अपनाएको नीतिसँग प्रत्यक्ष सम्बन्धित देखिन्छ, जस्तैः लकडाउनको पूर्णपालन, आइसोलेसन तथा क्वारेन्टाइनको राम्रो व्यवस्था, कन्ट्याक्ट ट्रेसिब तथा आम मानिसले अपनाउनु पर्ने सावधानीहरु तर भविष्यमा यसै विधिको आधारमा संक्रमणको दर बढ्ने या घट्ने तथा कोरोनाको प्रवृत्तिमा परिवर्तन आउनेचाँहि हुँदैन ।

यो रोग पूर्णरूपमा निर्मुल हुन त गाह्रो छ । तर भविष्यमा यस रोगले कस्तो रूप लिन्छ भन्ने चाहिँ कति जना मानिसले यस रोगविरुद्ध लड्ने क्षमता विकास गरे र उक्त क्षमता कति समयसम्म रहन्छ भन्नेमा भर पर्छ । मानिसमा रोगविरुद्ध लड्ने क्षमता दुई तरिकाले विकास हुन्छ । पहिलो हो, प्राकृतिक प्रक्रिया । मानव शरीरमा ब्याक्टेरिया, भाइरसजस्ता बाह्य जीवहरु प्रवेश गर्नासाथ त्यसको प्रतिक्रियामा हाम्रो रोग प्रतिरोधात्मक क्षमता सक्रिय हुन्छ । त्यस क्रममा शरीरले एन्टीबडी नामक रसायन उत्पादन गर्छ । त्यो एन्टीबडीले उक्त बाह्य जीवलाई नष्ट गर्छ । सार्स–कोभी–२ नयाँ भाइरस भएकाले मानव शरीरले यसको प्रवेश हुनासाथ चिन्न र एन्टीबडी उत्पादन गर्न समय लाग्छ । त्यसैले सबै मानिसमा रोगप्रतिरोधात्मक क्षमताले पूर्णतः काम गर्न सक्दैन । फलस्वरुप स्वास्थ्यमा जटिलता उत्पन्न हुने र मृत्युसम्म हुने सम्भावना रहन्छ । निको नै भइसके पनि यो क्षमता मानव शरीरमा कति समय कायम रहन्छ भन्ने निर्क्याेल भइसकेको छैन । दोस्रो हो, खोपको माध्यमबाट रोगप्रतिरोधात्मक क्षमताको विकास । तर अहिले खोप पनि बनिनसकेको तथा निको भइसकेकाहरूमा कति समयसम्म बचाउन सक्छ, यकिन पनि नभएकाले भविष्यमा यसको संक्रमण दर तथा प्रवृत्ति यस्तै हुन्छ भन्न सकिँदैन ।

रोगविरुद्ध लड्ने क्षमता सामान्य रुघाखोकी लगाउने कोरोना भाइरसको जस्तै ४० हप्ताभन्दा कम भएको खण्डमा हरेक जाडो याममा यसको संक्रमण दर बढ्ने हुनसक्छ । जाडो मौसममा सुख्खा हावाका कणहरूमा भाइरसहरू बाँच्ने र संक्रमण दर तीव्र बनाउने सम्भावना बढी हुन्छ । त्यस्तैजाडो मौसमको सुक्खा हावाले श्वासप्रश्वास नलीको रोगविरुद्ध लड्ने क्षमतामा पनि परिवर्तन ल्याउँछ । प्राकृतिक वा खोप जुनसुकै प्रक्रियाबाट भए पनि विकसित भएको रोगविरुद्ध लड्ने क्षमता सय हप्ता भन्दा बढी समयसम्म सक्रिय भयो भने भविष्यमा यो रोगको संक्रमण दर निकै घट्न सक्छ ।

त्यो अवधि दुई तीन वर्षसम्म रह्यो भने भविष्यमा ठूलो समस्या नहुन पनि सक्छ ।

१२. के कोरोना भाइरस र इन्फ्लुएन्जा भाइरस समान छन् ? कसरी ?

मानिसलाई साधारण रुघाखोकीदेखि कडाखालको श्वास प्रश्वासका रोगहरु (जस्तै, मर्स, सार्स) निम्त्याउने फरक–फरक भाइरसहरु हुन्छन् । तीमध्ये एक प्रकारको भाइरस हो, इन्फ्युएन्जा । इन्फ्युएन्जा भाइरस ४ किसिमका हुन्छन्, ए, बी, सी र डी । ती मध्ये इन्फ्युएन्जा–ए र बीले मौसमी रुघाखोकी, इन्फ्युएन्जा सीले साधारण बिमारी मात्र गराउँछ भने इइन्फ्युएन्जा–डी गाईवस्तुलाई मात्र लाग्ने भाइरस हो । तरइन्फ्युएन्जा–ए भाइरसमा आनुवांशिक रूपमा परिवर्तन आउँदा यसले महामारीको स्वरुप पनि धारण गर्दछ ।

कोरोना र इन्फ्युएन्जा भाइरस दुवै श्वासप्रश्वास प्रणालीमा लाग्ने रोग भएकोले यी रोगमा देखिने लक्षणमा समानता पाइन्छ । दुवैमा लक्षण नै नदेखिनेदेखि साधारण लक्षण मात्र देखिने, अस्पताल नै भर्ना गर्नुपर्ने र मृत्यु हुन सक्नेसम्मका अवस्था हुन्छन् । श्वासप्रश्वासमा समस्या देखिने, खोकी लाग्ने, न्युमोनिया हुने र अन्त्यमा मृत्युसमेत हुने यी दुवै रोगका लक्षणहरू हुन् । यी दुवै संक्रमण विशेष गरी जनावरबाट मानिसमा सर्छ । इन्फ्युएन्जा प्रथम पटक चराबाट सरेको मानिन्छ भने कोरोना चमेरो र सालकजस्ता जनावरहरूबाट सरेको पाइन्छ । योबाहेक दुवैको मिल्ने लक्षण हो– यो रोग लागिसकेपछि यसले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ जसका कारणले बिरामीको मृत्युसम्म हुने सम्भावना हुन्छ ।

इन्फ्युएन्जामा देखिने लक्षणको तीव्रता १–२ दिन हो भने कोरोनाको ५–६ दिन हो । अतः इन्फ्युएन्जा कोरोनाभन्दा छिटो सर्ने गर्दछ । त्यसैले इन्फ्युएन्जा अझ धेरै खतरनाक देखिन्छ। यस बाहेक इन्फ्युएन्जाबाट सबै उमेर समूहका मानिसमा संक्रमण देखिएको थियो भने मृत्यु हुनेको संख्या २०–४० उमेर समूहका मानिसमा धेरै देखिएको थियो । तर कोभिड–१९ को अहिलेसम्मको तथ्यांक हेर्दा खास गरी उमेरका हिसाबले ज्येष्ठ र कमजोर नागरिकको मृत्यु भएको देखिन्छ । कोभिड–१९ मा खास गरी जटिल प्रकारको न्युमोनिया हुने गर्दछ । दुवै भाइरसहरू एक अर्कामा सर्ने माध्यम बिरामीसँग सीधा सम्पर्कमा आएमा, श्वास प्रश्वासको कणीय थोपाहरूबाट र बिरामीले प्रयोग गरेका वस्तुहरू नै हुन् । तसर्थ यी भाइरसहरूबाट बच्न र बचाउन भौतिक दूरी बनाई राख्ने हातहरूलाई सधैं कहींकतै प्रयोग गरिसकेपछि साबुनपानीले धोएर सफा राखी राख्ने, सेनिटाइजर प्रयोग गर्ने, मुखमा मास्क प्रयोग गर्ने र खोक्दा/हाच्छ्युँ गर्दा कुइनोले छोप्ने आदि महत्वपूर्ण बानी बसाल्नुपर्छ ।

१३. मानिसमा कोरोना भाइरस कसरी सर्छ ? के यो जाडोमा धेरै र गर्मीमा कम सक्रिय हुने भाइरस हो ?

कोरोना भाइरस मुख्य दुई अवस्थामा सर्ने गर्दछ भन्ने विज्ञहरूको भनाइ छ । १. मानिस–मानिसबीच दूरी कायम नगरी सामाजिक निकटता भएमा । २. संक्रमित व्यक्तिले खोक्दा/हाच्छ्युँ गर्दा निस्कने थुक/सिँगानका थोपाहरू हावाको कणमा र कुनै नजिकको वरिपरिको वस्तुको सतहमा अड्कन/रहन सक्छ र त्यस्ता वस्तुलाई संक्रमण नभएको व्यक्तिले छुन या समाउन गएमा ।

मौसम तथा जलवायुसँग कोरोना भाइरसको रोगको कुनै सम्बन्ध नरहेको र यससम्बन्धी विशेष अनुसन्धान आजसम्म भइसकेको छैन । मौसम –वायुमण्डलको अवस्था समयसँग छिटो छिटो परिवर्तन हुने) र जलवायु (स्थान विशेषको लामो अवधिको औसत मौसम) सँग सार्स–कोभी–२ र यसबाट उत्पन्न भएको कोभिड–१९ संक्रमण रोगसँग खास सम्बन्ध भएको पाइँदैन ।

नयाँ कोरोना भाइरस (सार्स–कोभी–२) बाट उत्पन्न कोभिड–१९ संक्रमण रोग मौसम तथा जलवायुले निर्धारण गर्ने तथा फैलने कुरामा आजसम्म कुनै ठोस प्रमाण भएको छैन । सबै प्रकारका जलवायु अर्थात् चिसो तथा सुक्खा  जलवायु र तातो तथा आद्रता जलवायु भएका सबै देशमा यो रोग फैलिएको छ भने जुनसुकै मौसमी अवस्थामा तथा समयमा पनि (बिहान/दिउँसो/बेलुका) यो रोग नफैलिएको कुनै प्रमाण देखिएको छैन ।

हावाको कणमा अर्थात् मानिसको शरीरभन्दा बाहिर भाइरस के कति समयसम्म रहन सक्छ भन्ने चाहिँ त्यस ठाउँको/स्थानको तापक्रम र आद्रतामा भर पर्छ । अवश्य पनि हावाको तापक्रम र आद्रताले हावामा भाइरस रहने कुरामा प्रभाव रहेता पनि यसको असर मानिस–मानिसको सम्पर्कबाट हुने प्रभावभन्दा तुलनात्मक रुपले कम हन्छ । तसर्थ भौतिक दूरी कायम गर्ने र बाहिरको वस्तु छोइसकेपछि साबुनपानीले मिचीमिची हात धुने गरे संक्रमणको जाललाई तोड्न सकिन्छ र जुनसुकै मौसम (बिहान/दिउँसो/बेलुका) र कुनै पनि मौसममा संक्रमणबाट बच्न/बचाउन सकिन्छ ।

के कोरोना भाइरस खानेपानीमा जीवित रहन सक्छ ?

कोरोना भाइरस खानेपानीमा जीवित रहेको तथ्य अहिलेसम्म प्रमाणित भएको छैन । पानीको स्रोतमा परम्परागत ढंगले प्रशोधन गरिने विधिहरू जस्तै फिल्ट्रेसन र क्लोरिनेसन गरी घरहरूमा वितरण गर्ने गरिएको कारण पनि खानेपानीमा कोरोना भाइरस नपाइएको हुन सक्छ । कोरोना भाइरसको संरचनात्मक बनावट अनुसार आरएनएलाई एक प्रकारको आवरणले घेरेको हुने र यस्तो आवरण क्लोरिनयुक्त कीटाणुनाशकबाट नष्ट हुने भएकोले पनि क्लोरिनेसन गरी शुद्धीकरण भई वितरण गरिएको धाराबाट आउने खाने पानीमा कोरोना भाइरस जीवित रहँदैन ।

हालसम्मका वैज्ञानिक तथ्यअनुसार कोरोना भाइरस खानेपानीका माध्यमबाट सर्ने सम्भावना नरहेको देखिन्छ । यही जानकारी संयुक्त राज्य अमेरिकाको वातावरण संरक्षण एजेन्सीले पनि उल्लेख गरेको छ । कोरोना भाइरस मुख्यतया एक व्यक्तिबाट अर्कोमा सम्पर्कको माध्यमबाट फैलिन्छ ।

हालसम्म कोरोना भाइरसलाई पानीजन्य रोग मानिएको छैन । तर अन्य पानीजन्य सरूवा रोगबाट बर्सेनि विकसित तथा विकासशील देशका धेरै मानिसहरूले अकालमा ज्यान गुमाउने गर्छन् । त्यसैले धाराबाट आउने पानी वा भूमिगत स्रोत जस्तै इनार, बोरिब, ट्युववेलका पानीलाई शुद्धीकरण गरेर मात्र प्रयोग गर्नुपर्छ । पानीका स्रोतहरू प्रदूषित हुनबाट रोक्ने विभिन्न उपायहरू हुन्छन् । जस्तै, जथाभावी रूपमा ठोस फोहोर नफाल्ने, त्यसैगरी समुदाय तथा कलाकार खानाबाट निष्कासित फोहर पानीलाई प्रशोधन गरेर मात्र खोला नालामा निष्कासन गर्ने, पानीका स्रोतहरू नजिक सफा राख्ने, अत्याधिक मात्रामा रासायनिक मल तथा कीटनासक औषधिहरूको प्रयोग नगर्ने । तर संक्रमित व्यक्तिको दिसापिसाब वा अन्य निष्कासित पदार्थबाट नयाँ कोरोना भाइरस वातावरणमा उत्सर्जित हुने हुँदा ढलको फोहोरपानीमा भने यो भाइरसको आरएनए भेटिएको कुरा धेरै अनुसन्धानमा उल्लेख भएको छ । यसको आरएनए फोहोर पानीमा तीन दिनसम्म रहिरहन सक्ने तथ्य पत्ता लागेको छ । तर पनि फोहोर पानीका माध्यमबाट समेत यो भाइरस मानिसमा सरेको तथ्य प्रमाणित भएको छैन ।

१५. के कोरोना भाइरस धारामा आउने पानी, पोखरी वा स्विमिब पुलको पानी, स्पा आदिबाट पनि सर्न सक्छ ?

अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र  र वातावरण संरक्षण एजेन्सीका अनुसार हालसम्म धारामा वितरित पानी, स्वीमिब पुलको पानी, स्पा आदिबाट नयाँ कोरोना भाइरस मानिसहरूमा सर्ने कुनै किसिमका वैज्ञानिक प्रमाणहरू फेला परेका छैनन् । विश्व स्वास्थ्य संगठनले पनि यही तथ्य उल्लेख गरेको छ । सामान्यतया धारामा आउने पानी, स्वीमिब पुलको पानीमा नियमित रुपले क्लोरिनेसन गर्ने गरिएको कारणले गर्दा ती पानीहरूमा कोरोना भाइरस नष्ट हुने विश्वास गरिन्छ । क्लोरिनेसन नगरिएका पोखरीको पानीको हकमा भने कोरोना भाइरस संक्रमित व्यक्तिको दिसा, पिसाब मिसिन गई दूषित भएको अवस्थामा त्यस्ता पोखरी वा नदीको पानीमा सो भाइरसको आरएनए भेटिन सक्छ । तर पनि कोरोना भाइरस स्वासप्रश्वासको माध्यमबाट एक आपसमा सर्ने भएकोले पानीको माध्यमबाट सर्ने सम्भावना न्यून हुन्छ । स्पा र पौडी खेल्दा पानीका कारणले नभई सो स्थानमा अन्य संक्रमित व्यक्ति छ र उसको नजिक गएमा वा सम्पर्कमा आएमा भने संक्रमणको सम्भावना हुन सक्छ । कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने तरल पदार्थ सहितको हावाको माध्यमवाट नजिकै रहेको व्यक्तिमा सर्ने ठूलो जोखिम हुन्छ । कुनै लक्षण नदेखिएको तर कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिले पनि संक्रमण सार्न सक्ने भएकोले अहिलेको अवस्थामा जुनसुकै मानिसको नजिक जानबाट बच्नु पर्दछ । कोभिड–१९ को जोखिमबाट बच्न आफ्नो बानी व्यवहार सरसफाइमैत्री बनाउनुपर्ने हुन्छ । साथै तपाईं बिरामी हुनुहुन्छ भने घरमा नै बस्नु उपयुक्त हुन्छ ।

स्विमिब पुलमा पौडी खेल्दा कम्तीमा पनि एक आपसमा पनि भित्र र बाहिर छ फीटको दूरी कायम गर्नुपर्ने हुन्छ । पौडी खेलेर बाहिर निस्कने बित्तिकै मास्क प्रयोग गर्नुपर्छ । तर पौडी खेल्दा भने मास्कको प्रयोग गर्नु हुँदैन किनभने भिजेको मास्कको प्रयोगले श्वास प्रश्वासमा समस्या आउन सक्छ । साथै नियमित रूपमा साबुनपानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्नु पर्दछ । आफूले उपभोग गर्ने सामग्रीहरू जस्तै तौलिया, चश्मा, धुपबाट जोगिन प्रयोग हुने क्रिम आदि सामग्रीको साटासाट गरी प्रयोग गर्नु हुँदैन । स्विमिब पुलको वातावरण स्वच्छ र स्वस्थ राख्न नियमित सरसफाई गरी राख्नु पर्दछ ।

१६. कोरोना भाइरसको संक्रमण मानिसको जाति वा भूगोल जस्तै चिनियाँ, भारतीय, यूरोपेली अनुसार फरक–फरक देखिएको हो ?

अध्ययनले पत्ता लगाए अनुसार जुन कोरोना भाइरस यूरोपमा देखा पर्यो र विश्वको धेरै भागमा फैलियो उक्त भाइरस चीनमा उत्पत्ति भएको भन्दा फरक छ । अध्ययनका अनुसार भाइरसको हजारौं आनुवंशिक रूप र भिन्न प्रकारहरू पत्ता लागिसकेका छन् । मानवसँग कोरोना भाइरसको अन्तरक्रियामा धेरै मापदण्डहरू छन् । उनीहरूको मात्रात्मक मानहरूले “पूर्वी एशियाली ” र “यूरोपेली” सुपरटाइपबीच स्पष्ट भिन्नता पहिचान गर्न मद्दत गर्दछ । हालको महामारी “पूर्वी एशियाली” कोरोना भाइरसको प्रकारबाट शुरू भयो । त्यसै गरी महामारीको भौगोलिक केन्द्र पूर्वी एशियाबाट यूरोपमा सर्यो । स्वाभाविक रूपमा, कोरोना भाइरस संक्रमण एशियाली क्षेत्रमा पनि बढेको छ, तर यूरोपेली देशहरूमा नाटकीय रूपमा बढेको देखियो । अध्ययन अनुसार, एक नयाँ प्रकारको कोरोना भाइरस युरोप प्रवेश गर्यो जसलाई यूरोपेली सुपर टाइप भनिएको छ । यस प्रकारको कोरोना भाइरस धेरै परिमाणात्मक विशेषताहरूमा यसको पुरानो नातेदार भन्दा उल्लेखनीय रूपमा भिन्न देखिन्छ । जसले प्रसार, घटना, मृत्युदर, र प्राणघातक दरमा असर पर्दछ ।

त्यसपछि यो यूरोपेली सुपर टाइप कोरोना भाइरस यूरोपबाट विश्वका अन्य केही क्षेत्रमा फैलियो । कोरोना भाइरसका दुई सुपर टाइपहरूको व्यवहार संसारको दुई ठूला भागहरूमा संक्रमणको प्रसारमा देख्न सकिन्छ । पूर्वी एसियामा र बाँकी विश्वमा । यी देशहरूको प्रत्येक समूह भिन्न छन् । किनकी तिनीहरूको विभिन्न भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक सूचकहरू छन् । साथमा तिनीहरूको जनसंख्या आनुवांशिक, जैविक, र चिकित्सा विशेषताहरूको भिन्नता, र स्पष्ट रूपमा महामारीको लागि विभिन्न सरकारी प्रतिक्रियाहरू ।

देशहरूबीच यति महत्वपूर्ण परिमाणात्मक भिन्नता र संक्रमणको स्वभावले नै कोरोना भाइरसको दुई भिन्न सुपरटाइपहरूको अस्तित्व दवर्णन गर्न सकिन्छ । यद्यपि दुवै सुपरटाइपहरू घातक छन् । हालसम्म निश्चित जाति वा समुदायमा कोरोना भाइरसविरुद्ध बलियो वा कमजोर प्रतिरोध क्षमता हुन्छ भनेर प्रमाणित गर्ने वैज्ञानिक तथ्यांक उपलब्ध भइसकेको छैन । तथापी समाजमा विद्यमान सामाजिक र आर्थिक असमानताका कारण जातीय अल्पसंख्यक समूहहरू कोरोन भाइरसबाट बिरामी हुने र मर्ने खतरामा छन् । जातीय र जातीय अल्पसंख्यक समूहहरू कोभिड–१९ संक्रमणद्वारा असान्दर्भिक रूपमा प्रभावित भइरहेका प्रमाणहरू बढ्दैछन् ।

१७. के कोरोना भाइरसमा गन्ध हुन्छ? सुनिनमा आएनुसार कुकुरहरुले कोरोना भाइरस पत्ता लगाउन सक्छ रे, के यो कुरा साँचो हो ?

कुकुरहरुले कोरोना भाइरस पत्ता लगाउन सक्छ, यो कुरा साँचो हो । तर कोरोना भाइरसमा कस्तो गन्ध हुन्छ जसलाई सुँघेर कुकुरले पत्ता लगाउन सक्छ भन्ने कुरा चाँहि ठ्या्क्कै भन्न गाह्रो छ, किनभने त्यस्तो गन्ध मानिसले चाल पाउन सक्दैन । कुकुरले कोरोना भाइरसबाट लाग्ने कोभिड–१९ मात्र हैन अरु पनि रोगहरु जस्तै स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, डायेबेटिज, मलेरिया, आदि पनि पत्ता लाउन सक्ने कुरा प्रकाशमा आएको छ । यो वैज्ञानिक खोजको विषय हो ।

कुकुरलाई प्रयोग गरेर कोरोना भाइरस पत्ता लगाउने विधि फिनल्यान्डको हेल्सिन्कि विमानस्थलमा प्रयोगमा आइसकेको कुरा हो । यो छिटो र प्रभावकारी पनि देखिएको छ । तालिम प्राप्त कुकुरले मानिसको जीउ वा उसको पसिना, पिसाब, आदि सुँघेर तिनमा कोरोना भाइरस भएरनभएको पत्ता लगाउँछ । यसको लागि १० सेकेन्ड मात्र समय लाग्छ । प्रयोगशालाहरुमा गरिएको परीक्षण अनुसार यसको नतिजा ९४ प्रतिशत सही भेट्टिएको छ । कुकुरहरुमा सुँघ्नसक्ने उच्च शक्ति हुन्छ । यसको कारण उनीहरुमा पाइने घ्राण–ग्रन्थीहरु (Olfactory glands) हुन् । यो उनीहरुको नाकको भित्री भागमा पाईन्छ । कुकुरमा करिब ३० करोडको संख्यामा घ्राण–ग्रन्थीहरु पाइन्छन्, जबकि मानिसमा त्यस्तो ग्रन्थी ६० लाख मात्रै हुन्छ ।

१८. कोरोना भाइरस सर्वप्रथम कहिले र कहाँ देखा परेको थियो ?

कोरोना भाइरस आरएनए भाइरसको एउटा समूह हो । यसको उत्पत्तिकै कुरा गर्ने हो भने यिनिहरु ५ करोड ५० लाख वर्ष पहिले भएको अनुमान गर्न सकिन्छ, किनभने कोरोना भाइरस र चमेरो सँगसँगै विकास भएको हो भन्ने एकथरी वैज्ञानिकहरुको भनाई छ । जहाँसम्म मानिसमा पाइने कोरोना भाइरसको कुरा छ यो सन् १९६० को दशकमा संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका वैज्ञानिकहरुले छुट्टाछुट्टै विधि प्रयोग गरेर पत्ता लगएका थिए ।

मानिसमा पाइने कोरोना भाइरस एउटा उप–समूह समेत गरेर अहिलेसम्म सात प्रकारका छन् । त्यसमध्ये सार्स भनिने कोरोना भाइरस दुइ प्रकारका छन् । पहिलो प्रकारको सार्स कोरोना भाइरस सन् २००३ मा पत्ता लागेको थियो । दोश्रो प्रकारको सार्स कोरोना भाइरस जसलाई नयाँ कोरोना भाइरस वा सार्स कोभी–२ भनिन्छ सर्वप्रथम चीनको वुहानमा देखापरेको थियो । यो सन् २०१९ डिसेम्बर ३१ को कुरा हो । साथै, एउटा अर्को प्रतिवेदन के पनि छ भने फ्रान्सको राजधानी पेरिसमा उही वर्ष (सन् २०१९) डिसेम्बर २७ मा नै एकजना मानिसमा यो प्रकृतिको रोग देखा परेको थियो । यो कुरा International Journal of Antimicrobial Agents नामक जर्नलमा प्रकाशित छ ।

पछिल्लो समय कोरोना भाइरसको कुरालाई लिएर धेरै नै राजनीति भैरहेको छ । खास गरेर चीन र संयुक्त राज्य अमेरिकावीच यस विषयमा वाक युद्ध भैरहेको देखिन्छ । यसकारण कोरोना भाइरसको उत्पत्ति सर्वप्रथम कहिले र कहाँ देखा परेको थियो भन्ने कुरा झनझन जटील बनेर गैरहेको छ । हामीले बुझ्नु पर्ने कुरा यही हो कि यो भाइरस जुनसुकै देश वा जुन सुकै प्राणीबाट आएको भएपनि यसबाट संपूर्ण मानव जाती प्रभावित भएको छ । वैज्ञानिक वोध, सहकार्य र मानव एकताबाट मात्र यसको समाधान हुन सक्छ ।

१९. प्रकृतिबाट कोरोना भाइरस मानिसहरुसम्म कसरी पुग्यो ?

हाल फैलिरहेको सार्स–कोभी–२ कोरोना भाइरस परिवारको नयाँ सदस्य हो, त्यसैले यसलाई नोबल कोरोना भाइरस भनिएको हो । कोरोना भाइरस आफैं भाइरस जगतको ठूलो परिवार हो जसले श्वासप्रश्वाससम्बन्धी अनेकन् रोग निम्त्याउँछ । हालसम्म यस परिवारमा ६ सयभन्दा बढी प्रकारका भाइरसहरु रहेको विज्ञानले फेला पारेको छ । तर यी सबैले मानिसलाई हानि पु¥याउन सक्दैनन् । कोरोना भाइरस परिवारका ७ प्रजाति मात्रै मानिसबाट मानिसमा सर्ने थाहा भएको छ । यी भाइरस पशुपक्षीबाट मानिसमा आएका हुन् । यसरी पशुपक्षीबाट मानिसमा आउने रोगलाई ।।।जूनोटिक रोग’ भनिन्छ ।

पहिलो पटक जनावरबाट मानिसमा भाइरस सर्ने प्रक्रियालाई ‘स्पिल ओभर’ भनिन्छ । पशुपक्षीबाट कोरोना भाइरस मानिसमा सरेर महामारी सिर्जना भएको यो पहिलो पटक भने होइन । सन् २००३ र २०१२ मा महामारी निम्त्याउने सार्स र मर्स भाइरस पनि यही परिवारका सदस्य थिए । संसारमा नयाँ भाइरस पत्ता लाग्नासाथ त्यसको उत्पत्ति र प्रसारबारे गहिरो अध्ययनबिना यसबाट हुने संक्रमण रोक्न र रोगको निदान गर्न सकिँदैन । भाइरसको उत्पत्तिबारे थाहा पाउने सबैभन्दा भरपर्दो विधि यसको आनुवांशिक (जेनेटिक) अध्ययन हो। यस्तो अध्ययनले भाइरसको उत्पत्ति कुन जीव र कहाँबाट भएको हो भन्ने जानकारी दिन्छ ।

सार्स–कोभी–२ को आनुवांशिक अध्ययनले यो भाइरस २००२ मा चीनमा फैलिएको सार्ससँग निकै नजिक र २०१२ मा मध्यपूर्वमा फैलिएको मर्ससँग निकै कम सम्बन्ध रहेको देखाएको छ । सार्ससँग यसको ९६ प्रतिशत समानता छ । अन्य कोरोना भाइरसजस्तै यसको स्रोत पनि चमेरा हुन सक्ने अनुमान गरिएको छ । तर, चमेरामा भएको कोरोना भाइरस सीधै मानिसमा सर्दैन । त्यसका लागि अर्को कुनै जीवित जनावरको माध्यम चाहिन्छ । त्यस्तै मानिसमा आइसकेको भाइरस जतिसुकै महामारी भए पनि उत्परिवर्तन नहुँदासम्म अर्को जीवमा सर्दैन । कुनै पनि सजीवको वंशाणुमा आउने हठात् परिवर्तन उत्परिवर्तन हो जसले नयाँ प्रजाति निर्माण गर्छ ।

अहिलेसम्मको खोजबाट चमेरामा रहेको सार्स–कोभी–२ सुरुमा सालकमा सरेको विश्वास गरिएको छ । सालकमा पुगेको यो भाइरसमा उत्परिवर्तन भएपछि मात्र मानिसमा सर्ने क्षमता विकास भएको हो । भाइरस कसरी निससम्म आइपुग्यो भन्ने पूर्ण निष्कर्षमा वैज्ञानिकहरू पुगिसकेका छैनन् ।

२०. कोरोना भाइरस मानिसहरुमा चमेरोबाट सरेको भन्ने कथन छ । तर कोरोना भाइरस नै बोकेको चमेरो चाँहि यो रोगबाट किन संक्रमित हुँदैनन् ?

चमेरो संसारमै एक त्यस्तो स्तनधारी प्राणी हो जुन उड्न सक्छ । यिनिहरु दिनमा अग्ला–अग्ला रुखहरुमा झुन्डिएर बसेका हुन्छ्न् र रातीमा शिकार गर्न उड्छन् । धेरैजसो चमेराहरु कीरा खान्छन्, फलफूल खाने चमेराहरु पनि छ्न् । संसारमा १ हजार भन्दा बढी प्रजातीका चमेराहरु छन् र अन्टार्कटिटका बाहेक सबै महादेशहरुमा पाइन्छन् । चमेरालाई भाइरसहरुको खानी पनि भनिन्छ, अर्थात् यिनीहरुमा थुप्रै प्रकारका भाइरस पाइन्छन् । विषेशज्ञहरुका अनुसार चमेराहरुमा कमसेकम १३० प्रकारका भाइरस पाइन्छ्न् । अहिले संसारभर फैलिरहेको कोरोना भाइरस पनि यिनै चमेराहरुमा रहेको अनुमान गरिन्छ । किनभने चमेरामा पाइएको कोरोना भाइरस र मानिसमा पाइएको कोरोना भाइरसको वंशाणुगत रचना ९६ प्रतिशतसम्म मिलेको देखिन्छ ।

प्रश्न उठ्छ कि यति धेरै भाइरस बोकेका चमेराहरु आफै चाहिं किन संक्रमित हुँदैन ?  वैज्ञानिकहरुका अनुसार यसको कारण चमेरा उड्दा निस्कने उच्च मात्राको ताप उर्जा हो । यसरी ताप निस्कंदा तिनको शरीर तातिन्छ, जसको तापक्रम ३८ डिग्रीदेखि ४१ डिग्री सेल्सियस अर्थात् १००.४ डिग्रीदेखि १०५.८ डिग्री फरेनहाइटसम्म पुग्दछ । हामीलाई थाहा छ कि यो तापक्रम भनेको हाम्रो लागि हन–हनि ज्वरो हो ।

त्यतिमात्र हैन, उड्दा तिनको मुटुको धड्कन पनि प्रति मिनेट १ हजारसम्म पुग्छ । वैज्ञानिकहरुका अनुसार तिनको शरीरमा आइपर्ने यस्तो विषम अवस्थासित तालमेल मिलाउन, चमेरामा एक विशिष्ट प्रकारको प्रतिरोधात्मक क्षमता विकास भएको हुन्छ । यही क्षमताले गर्दा तिनिहरु परजीवि भाइरसबाट संक्रमित नभएको हुनु पर्दछ ।

(वैज्ञानिक नेपालको लागि रिसोर्सेस् हिमालय फाउन्डेसनले तयार गरेको ‘कोरोनाका सय सवाल’बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.