महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

  २०७७ कार्तिक ५ गते १५:५५     विकासन्युज

काठमाडाैं ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन् ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

गत वर्षको मंसिरमा गृह जिल्ला बागलुङ्गमा आयोजित बागलुङ्ग महोत्सवमा बागलुङ्ग उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवार प्रस्ताव गरेको थियो । पछि फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रममार्फत ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । त्यस्तै यही असारमा ढकालसहित सबै उपाध्यक्षहरुले सामुहिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

उम्मेदवारी दर्तापछि बोल्दै ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए ।

उनले अहिलेको जटिल परिस्थिथिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने दावी गरे ।

“देश कोभिड–१९ को महामारीको चपेटामा परेको छ । अर्थतन्त्रका सबैजसो अवयवहरु क्षतविक्षत भएका छन् । व्यवसाय र व्यवसायी दुवै संकटमा परेका छन् । यो अहिलेको जटिल परिस्थितिमा व्यवसाय र व्यवसायीलाई जोगाउन सकिएन भने यसले मुलुकको अर्थतन्त्र र विकासमा समेत दीर्घकालिनरुपमा प्रभाव पर्छ । व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उम्मेदवारी दिएका छौं,” उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.