बैंक तथा वित्तीय संस्थालाई गभर्नरले भनेः यतिबेला नाफामुखी नभई व्यवसाय टिकाउनेतर्फ केन्द्रित हुनुहाेस्

  २०७७ असोज १३ गते १८:५८     विकासन्युज


काठमाडाैं । गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थालाई यतिबेला नाफामुखी नभइ व्यवसाय टिकाउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षहरुको सहभागितामा गरेकाे वेबिनार कार्यक्रममा गभर्नर अधिकारीले उक्त आग्रह गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले असोज १३ गते बैंकबाट जारी एकीकृत निर्देशन, २०७७ मा उल्लेखित नीतिगत व्यवस्था र वित्तीय तथा बैंकिङ्ग क्षेत्रको समसामयिक विषयमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरुसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेकाे थियाे ।

सो अवसरमा गभर्नर अधिकारीले कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेको उल्लेख गर्दै उक्त नीतिको कार्यान्वयनमा सहयोग पुर्याउन बैंक तथा वित्तीय संस्थाका सञ्चाल समितिका अध्यक्षहरुसँग आग्रह गरे । साथै, कोभिडको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्बद्र्धनमा टेवा पुग्नेगरी वित्तीय सेवा प्रदान गर्न समेत उनले आग्रह गरेका छन् ।

वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्फ कर्जा प्रवाह हुनसक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसप्रति सजग रहन बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गरे । राष्ट्र बैंकले मर्जर/प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जर/प्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गरे । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए । उनले भने, “अब ई-कमर्शलाई प्रवद्र्धन गर्ने किसिमका वित्तीय सेवातर्फ बैंकहरु केन्द्रित हुनुपर्छ ।”

सो अवसरमा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान, नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी, हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिजाल, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधान, रिलायन्स फाइनान्सका अध्यक्ष कुशकुमार मालीलगायतले समसामयिक बैंकिङ्ग तथा वित्तीय क्षेत्रका सन्दर्भमा आ-आफ्नो धारणा राखेका थिए । वेबिनारमा डेपुटी गभर्नर शिबराज श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.