सरकारले प्रतिबन्ध लगाएका स्यानिटाइजरमा ज्यानै जाने विषादी, कडा कारवाहीको तयारी

  २०७७ असोज १३ गते १७:३७     डोमी शेर्पा

काठमाडौं । औषधी व्यवस्था विभागले गत भदौ २७ गते स्यानिटाइजर उत्पादन गर्ने ५ कम्पनीलाई कारवाही गर्नेभन्दै सूचना जारी गर्यो । त्यसको लगतै अर्थात ३ दिनपछि भदौ ३१ गते पनि विभागले थप ४ स्यानिटाइजर कम्पनीलाई कारवाही गरिएको सूचना जारी गर्यो । फेरि विभागले थप ९ स्यानिटाइजर कम्पनीलाई कारवाही गरेको र सर्वसाधरणलाई यो स्यानिटाइजर प्रयोग नर्गन आग्रह समेत गर्यो ।

औषधी व्यवस्था विभागले यसरी विभिन्न समयमा १८ स्यानिटायजर कम्पनीको स्यानिटाइजरको प्रयोगमा प्रतिबन्ध लगायोे । यसरी विभागले १६ दिनको अवधिमा १८ वटा स्यानिटाइजर उत्पादक कम्पनीहरुलाई कारवाही गरेको छ ।

कारवाही हुने कम्पनीहरुमा भदौ २७ गते नेपाल कयाकल्पा उद्योगको इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर, हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ रहेको छ ।

यस्तै भदौ ३१ गते कारवाही हुने कम्पनिहरुमा सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको छ ।

साउन १२ गते कारवाही हुने कम्पनिहरुमा भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रबमा ६२ प्रतिशत मिथानेल, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेका पाइएको जनाइएको छ ।

यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौंको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेंँलो रङ्गको) र रङ्गबिनाका दुई स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाइएको हो ।

कारवाहीमा परेका १८ वटा स्यानिटाइजरमा ३ वटा विदेशी र बाँकी १५ वटा नेपाली कम्पनिको स्यानिटाइजर रहेका छन् । चीनको एउटा कम्पनी र भारतका दुई कम्पनी कारवाहीमा परेका हुन् । यी सबै १८ वटा कम्पनीलाई के कस्तो कारवाही गर्ने भन्ने तयारी भइहरेको विभागले जनाएको छ ।

बजारमा कसरी बिक्री भए यी मापदण्ड विपरितका स्यानिटाइजर ?

औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार कोभिड आउन अघि स्यानिटाइजर सामान्य रुपमा कुनै पनि मापदण्ड बिना बिक्री वितरण हुन्थ्यो ।

कोभिड १९ पछि विभागले चैत ९ गते सबै स्यानिटाइजरको मापदण्ड बनाई सबै कम्पनिहरुलाई विभागमा दर्ताको लागि आउन सुचना जारी गरेपनि तत्काल लकडाउन भएपछि असोज २२ सम्मको लागि मिति सारिएको केसीले बताए ।

के कारवाही गर्छ  विभागले ?

केसीका अनुसार १८ कम्पनीलाई कडा कारवाहीकाे तयारी भइहरेकाे छ । मानिसकाे ज्यानै जान सक्ने विषादी प्रयाेग भएका स्यानिटाइजर बिक्री गरेकाेले साेही अनुसारकाे कारवाहीकाे तयारी भइहरेकाे उनले बताए ।

औषधी व्यवस्था विभाग अहिले प्रारम्भिक अनुसन्धानमै रहेको छ । ‘हामी अहिले प्रारम्भिक अनुसन्धानमै छौं, सबै कुरा पुष्टि भइसकेपछि कारवाही अगाडि बढाउँछौं, त्यसमा कालाेबजारी, ठगेकाे लगायतका कसुर पर्न सक्छन्,’ उनले भने ।

ती स्यानिटाइजर उत्पादकहरुलाई औषधी एन अन्तर्गत, कालोबजारी, मिसावट तथा उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारवाही हुने उनले बताए ।

मिथानोल स्वास्थ्यमा कस्तो असर गर्छ ?

मिथानोल एउटा यस्तो विषाक्त रसायन हो जुन पेट भित्र जान बित्तिकै मानिस कोमामा नै जान सक्ने र बढि भएमा मृत्यु नै पनि हुने गर्दछ ।

यस्तै हामीले स्यानिटाइजरहरु समयसमय प्रयोग गर्ने भएकोले त्यसमा मिथानोल हुँदा हातहरु सुख्खा हुने, सुन्निने गर्दछ । यस्तै मिथानोलको प्रयोग हुँदा यसले कलेजोमा असर गर्नुको साथै लामो दीर्घ रोगहरु पनि निम्त्याउँने खतरा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.