सासु कोषमा आवद्ध नभएका कम्पनी नविकरण भएनन्, विभाग भन्छः योगदान गर्नुस् अनि काम हुन्छ

  २०७७ असोज १३ गते १४:४२     विकासन्युज

काठमाडौं । श्रम विभागले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका १ सयभन्दा बढी आउटसोर्सिङ कम्पनीहरुलाई नविकरण नगरेको जनाएको छ ।

सरकारले सरकारी तथा निजी कम्पनीहरुलाई सामाजिक सुरक्षा कोषमा लैजाने नीति ल्याए पनि धेरै कम्पनीहरु त्यसमा आवद्ध हुन इच्छुक नभएपछि त्यस्ता कम्पनीहरुको नविकरण नै नगर्ने व्यवस्था सरकारले गरेको हो ।

श्रम विभाग अन्तर्गत रहेका ११ वटै श्रम कार्यालयहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका त्यस्ता कम्पनीहरुको नविकरण पनि पनि नगरेको विभागका प्रवक्ता मनिनाथ गोपेले बताए । उनका अनुसार अहिले १ सयभन्दा बढी आउटसोर्सिङ कम्पनीहरु नविकरण भएका छैनन् ।

‘अहिले धेरै कम्पनीहरुले अन्य कम्पनीहरुको श्रमिक आपुर्तिमा भूमिका खेल्ने, तालिम प्रदान गर्ने, काम गर्दै आएका छन्, त्यस्ता कम्पनीहरु पनि सामाजिक सुरक्षा कोषमा आउन् भन्ने हाम्रो चाहना हो, तर ती कम्पनीहरुले सासु कोषमा आवद्ध हुुन चाहनेनन्, त्यसैले हामीले पनि उनीहरुको नविकरण नगरेका हौं,’ उनले विकासन्युजसँग भने ।

सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कुनै पनि कम्पनीहरुको नविकरण नभएको उनले जाकारी दिए । ‘सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका सबै कम्पीहरुको नविकरण गरिएको छैन, सबैको दर्ता प्रक्रिया रोकिएको छ, सासु कोषमा आवद्ध भइसकेपछि मात्र नविकरण गर्न आउन हामीले सुझाएका छौं,’उनले भने ।

उनले अहिले ५०÷६० वटा मात्र आउटसोर्सिङका कम्पनीहरु नविकरण भएको पनि जानकारी दिए । २ सय ५० भन्दा बढी कम्पनीले नविकरणका लागि निवेदन दिएपनि सासु कोषमा आवद्ध नभएकोले सबैको रोकिएको उनले बताए ।

उनका अनुसार अहिले आउटसोर्सिङमा काम गर्दै आएका सेक्युरिटी गार्ड, सरसफाई, लोड अनलोड र प्राविधिक सहयोग जस्ता कम्पनीहरु रहेका छन् । हाल नेपालमा ७ सयभन्दा बढी कम्पनी आउटसोर्सिङको काम गर्दै आएको उनले जानकारी दिए ।

यस्तै, सामाजिक सुरक्षा कोषका प्रवक्ता बिबेक पन्थीले सासु कोषमा आवद्ध नभएका संस्थाहरुको नविकरण नगर्ने व्यवस्था कानुनमै उल्लेख भएको हुनाले यसको पालना गर्न सबैको जिम्मेवारी रहेको बताए । ‘नेपालमा आउट सार्सिङमा काम गने मानिसहरुको संख्या धेरै छ, ती कम्पनीहरु सासु कोषमा आवद्ध हुँदा धेरै राम्रो नै हुन्छ, त्यसैले पनि यो व्यवस्था गरिएको हो,’ उनले भने ।

उनले अझै पनि सासु कोषमा कम्पनीहरुलाई आवद्ध गराउनका लागि सम्बन्धि नियामक निकायहरुसँग पनि छलफल तथा सहकार्य भइरहेको उनले बताए ।

सामाजिक सुरक्षा कोषका अनुसार हालसम्म १२ हजार ७ सय ७५ जना रोजगारदाता यो कोषमा आवद्ध भएका छन् भने १ लाख ७५ हजार ५ सय २९ जना योगदानकर्ता रहेका छन् ।

अहिलेसम्म प्रदेश १ मा १ हजार ८ सय ६०, प्रदेश २ मा ५ सय ५, बागमती प्रदेशमा ८ हजार ६ सय ११, गण्डकी प्रदेशमा ५ सय ८९, प्रदेश ५ मा ९ सय २०, कर्णाली प्रदेशमा १ सय २९ र सुदुर पश्चिम प्रदेशमा १ सय ४३ गरी १२ हजार ७ सय ५७ रोजगारदाता कोषमा आवद्ध छन् ।

कोषमा आवद्ध योगदानकर्ताको नाममा अहिलेसम्म २ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.