नेटवर्किङ धन्दाः ठगिनेको चाङ लागेपछि वाणिज्य विभाग तात्यो, होला त गिरोहको पर्दाफास ?

  २०७७ असोज ४ गते १३:५९     सन्ताेष राेकाया

काठमाडौं । पछिल्लो समय नेटवर्किङ धन्दा गर्नेहरुको सञ्जाल तीव्र रुपमा बढिरहेको छ । नेपाल सरकारले नेटवर्किङ व्यवसायलाई प्रतिबन्ध लगाए पनि गैर कानुनी रुपमा व्यवसाय गर्ने मात्र हाेइन  र अरुलाई ठग्नेहरुको सञ्जाल पनि निकै बढेको हो ।

यसलाई प्रतिबन्ध लगाइएपनि भित्रभित्रै नेटवर्किङ व्यवसायकै कारण धेरै नेपाली ठगिने क्रम बढेको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । यो नेटवर्किङ धन्दामा स्वदेशी मात्र होइन विदेशी गिरोहहरु पनि सक्रिय रहेको विभागले जनाएको छ ।

विभिन्न समयमा यो नेटवर्किङ व्यवसायका बारेमा वहस पैरवी तथा छलफल हुने गरेको भएपनि सर्वसाधारण ठगिने क्रम भने रोकिएको छैन । पछिल्लो समय झन यसबाट ठगिनेहरुको संख्या बढ्दै गएको र आफु ठगिएकाे भनेर गुनासो गर्नेहरुको संख्या दिनप्रतिदिन बढेको विभागले बताएको छ ।

पहिले नेटवर्किङ धन्दाबाट ठगिनेहरुका गुनासोहरु कमै आउने गरेका भएपनि पछिल्लो समय धेरै आएको वाणिज्य विभाग अन्तर्गतको वैदेशिक व्यापार नियमन शाखा प्रमुख शिवराज सेँढाईले बताए । उनका अनुसार नेटवर्किङबाट ठगेकाहरुका गुनासो दिनप्रतिदिन बढ्दै गएका छन् । उनका अनुसार विभागमा पछिल्लाे सयममा नै ३ दर्जनभन्दा बढी गुनासोहरु आएका छन् ।

विभिन्न ठाउँहरुबाट विभिन्न माध्यमहरुबाट विभागमा ठगिएको गुनासोहरु आउने गरेको उनले बताए ।
‘पछिल्लो समय अवैध नेटवर्किङ धन्दाबाट ठगीमा परेको भन्दै विभागमा ३ दर्जनभन्दा बढी संस्था र व्यक्तिविरुद्ध गुनासो गर्नेहरुको संख्या बढेको छ, विभागले पनि त्यसलाई कडा निगरानी गरेर हेरिरहेको छ,’ उनले भने ।

उनका अनुसार काठमाडौं उपत्यका र बाहिरका जिल्लाहरुबाट समेत गुनासोहरु आउने गरेका छन् तर नेटवर्किङ गर्नेको ठेगाना र व्यवसाय गरेको ठेगाना धेरै फरक पर्ने उनले बताए ।

‘नेटवर्किङ गर्नेहरुको ठेगाना अनुसार गयो भने उनीहरुको व्यवसाय अर्कै ठाउँमा भेटिन्छ, ठेगाना पूर्व छ भने व्यवसाय पश्चिममा गरेको देखिएको छ, त्यसलाई हामीले गम्भीर रुपमा हेरिरहेका छौं,’ उनले भने ।

अहिले विभागले प्रहरीको सहयोगमा उजुरी परेको व्यक्ति र संस्थाहरुलाई खोज्ने काम गरिररहेको उनको भनाई छ केही व्यक्ति र संस्थालाई विभागले छानबिनको दायरामा ल्याइसकेको र विस्तृत अनुसन्धान चलिरहेको उनले बताए ।

‘उपत्यकाभित्रै पनि विभिन्न ठाउँमा गिरोह सक्रिय रहेको हामीले सूचना पाएका छौं, यसमा हामीले भिन्नै किसिमले निगरानी गरिरहेका छौं ,’ उनले भने ।

सर्वसाधारणबाट धेरै गुनासाहरु आएपनि उनीहरु कति ठगेको भने यकिन आउन नसकेको उनले बताए । ‘अहिले धेरैलाई पक्राउ गरेका छौं, धेरैलाई धरौटीमा छोडेको र धेरैलाई सुझाव सल्लाह दिएर पठाएका छौं,’ उनले भने ।

नेटवर्किङ व्यवसायीहरुले कानुनको पालना गरेको तर इजाजत नलिई व्यवासाय गदै आएको उनले बताए ।
विभागले गत बिहीबार एक सार्वजनिक सूचना नै जारी गर्दै अवैध नेटवर्किङ धन्दाबारे उजुरी आउन थालेको र यस्तो व्यवसाय प्रचलित कानुनविपरीत भएकाले त्यस्ता कार्य नगर्न नराउनसमेत सचेत गराई सकेको छ ।

विभागले सूचना मार्फत नै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको र गुनासो तथा उजुरीका आधारमा केही व्यक्ति तथा कम्पनीहरु माथि अनुसन्धान, जाँचबुझ तथा छानबिन पनि भइरहेको जनाएको छ ।

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ ले पिरामिडमा आधारित संजालयुक्त (नेटवर्किङ) गर्न नपाईने स्पष्ट व्यवस्था गरेको छ। यस्तो गैरकानुनी काम गरेको भेटिए मौजुदा कानुनी व्यवस्थाअनुसार १० लाख रुपैयाँ सम्म जरिवाना वा ५ वर्ष जेल सजाय वा दुवै सजाय हुन सक्ने पनि विभागले जनाएको छ

कसरी हुन्छ नेटवर्किङ ठगी ?

सुरुमा यस्तो ठगी गर्न चाहनेहरु योजना बनाउँछन् । उनीहरुले बनाएकाे योजना अनुसार विभिन्न प्रविधिको माध्यमको प्रयोग गरी आफुले चिनेजानेका तथा आफन्तहरुलाई त्यसमा समेट्छ ।

त्यसबाट विस्तारै एउटा सञ्जाल गठन हुन्छ । सञ्जाल विस्तारै विस्तार हुँदै जान्छ । यस्तो व्यवसायमा तोकिएको निश्चित पैसा तिरेर सदस्य बन्छन् । ती सदस्यले पनि पुनः नयाँ सदस्य बनाउँछन् । त्यसबापत पुरानोलाई सीमित कमिशन आँउछ । जति सदस्य थपिए तयति नै पूराना सदस्यलाई केही फाइदा हुन्छ ।

यसरी सदस्य बनाउँदै जाँदा माथिल्लो तहका पूराना सदस्यहरुले नयााँ सदस्यहरुलाई ठग्दै जान्छन् । यसबाट सीमित व्यक्ति मालामाल हुन्छन भने धेरैजसो व्यक्ति ठगिन्छन् । यही वयवसाय अहिले नेपालमा पनि तीव्र रुपमा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.