कोरोना विजेता भन्छन्ः निको भइसक्दा पनि समाजले अझै स्वीकार्न सकेको छैन

  २०७७ भदौ २८ गते १३:३२     प्रकाश मिश्र

धनगढी । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन् । सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा कोरोना ठीक भइसकेकालाई पनि पुनः देखिन सक्ने भएको भन्दै आफूहरू सामाजिक अपहेलनामा परेको कोरोना विजेताहरूको दुःखेसो छ ।

आफूहरु मात्र नभई नजिकका छिमेकी र आफन्तले समेत अपहेलित हुनु परेको बताउँछन् कैलालीको घोडाघोडी नगरपालिका-३ का एक कोरोना विजेता । “हामीलाई कोरोना छैन, हामीले कोरोना जितेका छौं तर समाजसँग हार्यौं, हाम्रा कारण वरपरका व्यक्तिलाई समेत समुदायमा अप्ठ्यारो भएको छ” उनले भने । उनी सुनाउँछन्, “मेरो छिमेकी सामुदायिक वनको समितिमा हुनुहुन्थ्यो, छलफल गर्दा उहाँलाई सधैँ बोलाउँथे तर अहिले मेरै कारण उहाँलाई बैठकमा बोलाउन छाडिएको छ ।”

त्यस्तै घोडाघोडी नगरपालिका-३ कै अर्का कोरोना विजेताले प्रधानमन्त्री कृषि रोजगार कार्यक्रमअन्तर्गत काम गर्न जाने गरेका छिमेकीलाई आफ्नो घरमा आएको भन्दै काम गर्नबाट वञ्चित गरिएको गुनासो गरे । आफ्नो स्वास्थ्य अवस्था सामान्य भइसक्दा पनि अझै समाजले घृणा गरेको देख्दा उहाँलाई निकै पीडाबोध हुने गर्दछ । “हामी पूर्णरूपमा निको भैसकेका छौँ”, घोडाघोडी नगरपालिका-८ का कोरोना विजेताले भने “तर अझै पनि हाम्रो घर नजिक कोही आउँदैनन् ।”

कोरोना जित्नु भएका घोडाघोडी नगरपालिका-१० का रमेश पाण्डे भन्छन्, “हामीलाई आफ्नै गाउँ समाजले त साथ दिँदैन भने अरू कोसँग सहयोगको अपेक्षा गर्ने ? एकअर्कालाई परेको खण्डमा काँधमा काँध मिलाउने हामी नेपालीको स्वाभिमान कहाँ गयो होला ? मर्दापर्दा एकजुट हुने नेपाली संस्कार कहाँ हरायो ?” कोरोना महामारीले सामाजिक सद्भाव र मानवतामा अनेक प्रश्न उब्जाएको उनको भनाइ छ ।
“भारतबाट आएका मान्छे भन्नेबित्तिकै घृणा गर्छन्, झन् आफू त सङ्क्रमित भइसकेकाले समाजले गरेको व्यवहार निकै पीडादायी रहेको बताउनुहुन्छ, घोडाघोडी नगरपालिका-६ का अर्का कोरोना विजेता ।

“अहिले त निको भइसक्यो तर अझै पनि हामीलाई सङ्क्रमित नै छ भन्ने दृष्टिले हेरिन्छ । शुरुमा आफूमा कुनै लक्षण थिएन, नगरपालिकाबाट सङ्क्रमित भयो भनेर खबर आउँदा पत्यार नै लागेन । सङ्क्रमित भएको सुन्नेबित्तिकै टाढा बसेँ तर अब निको भइसक्दा पनि समाजले अझै स्वीकार्न सकेको छैन”, उनी भन्छन् ।

सबै सखाप बनायो, सबैलाई रोग सारेर गयो भनेर अनेकौँ लाञ्छनायुक्त प्रहार समाजबाट खेपिरहनु परेको बताउँछन् घोडाघोडी नगरपालिका-११ का अर्का कोरोना विजेता । उनलाई सङ्क्रमित भएको पुष्टि हुनुअघि नै परिवारका सबै सदस्य क्वारेन्टिनमा थिए । सङ्क्रमित भएको पुष्टि हुनासाथ समाजले परिवारका सदस्यलार्ई हेर्ने नजर नै बदलिएको सुनाउनुहुन्छ उनी । उनी भन्छन्, “उनीहरूमाथि अपराधीको जस्तो व्यवहार गरियो ।”

गाउँ समाजले रोग लिएर आयो, गाउँभरि सारेर गयो भनेर आरोप लगाए पनि कोरोना जितिसक्दा आफूले विशेष सतर्कता अपनाएको उनी बताउँछन् । आफूले पूर्ण स्वास्थ्य सतर्कता अपनाएकै कारण परिवार, आफन्त तथा सम्पर्कमा आएका कसैमा पनि सङ्क्रमण सर्न नपाएको उनको भनाइ छ । उनी भन्छन्, “हामी पनि रोग सर्न दिनुहुन्न भन्ने कुरामा सचेत छौँ तर त्यो रोगलाई पराजित गरिसक्दा पनि समाजमा स्थापित हुन निकै समस्या भइरहेको छ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.