पीसीआर परीक्षण सरकारकाे कालाेबजारी, निजी क्षेत्र प्रवेशसँगै ४० हजार पर्ने पीसीआर टेष्ट ४ हजारमा झर्याे

  २०७७ भदौ १८ गते ११:४२     डाेमी शेर्पा

काठमाडौं । पीसीआर अर्थात पोलिमिरेस चेन रियाक्सन अहिले बजारमा सबैभन्दा धेरै चर्चित शब्द हो । कोरोना भाइरस (कोभिड–१९) पत्ता लगाउन प्रयोग गरिने यस विधिलाई ३७ वर्ष अगाडि वैज्ञानिक क्यारी मुलसले पत्ता लगाएका थिए ।

कोरोनाभाइरस संक्रमण पत्ता लगाउनको लागि धेरै विश्वासिलो मानिएको यो प्रविधिमार्फत मासिनको शरीरमा भाइरसको जीन छ कि छैन भनेर पहिचान गर्न सकिन्छ ।

भाइरोलोजिष्ट विमलेस झाकाअनुसार पीसीआर परीक्षण गर्नको लागि सबैभन्दा पहिला मानिसको मुखबाट स्वाब संकलन गरी त्यसलाई भिटिएममा राखिन्छ र त्यहाँबाट आरएनएन निकालपछि पीसीआर किटमा राखेर त्यसलाई परीक्षण गरिन्छ ।

नेपालमा माघ १० गते बिहीबार कोभिड–१९ को पहिलो संक्रमित भेटिएको थियो । सरकारले नतिजा आएको एक दिनपछि माघ ११ गते पत्रकार सम्मलेन मार्फत नेपालमा कोरोनाको पहिलो संक्रमण पुष्टि भएको जनाएको थियो ।

नेपालमा त्यस समयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ वटाबाहेक धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय र केही प्राइभेट संस्थाहरुमा पीसीआर मेसिन थिए । तर ती सबै कोभिड परीक्षणको लागि नभएर अनुसन्धानको लागि राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी बताउँछन् ।

पहिलो परीक्षणको खर्च ३५ हजार

नेपालमा पहिलो पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा माघ ६ गते भएको सहप्रवक्ता अधिकारी बताउँछन् । नेपालमा प्रारम्भिक जाँच गरी थप निदानका लागि सो नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो । सेन्टरले माघ १० गते बिहीबार प्रयोगशाला परीक्षणको रिपोर्ट पठाएपछि स्वास्थ्य मन्त्रालयले माघ ११ गते शुक्रबार पत्रकार सम्मेलन गरी संक्रमण पुष्टी भएको जानकारी दिएको थियो ।

सो परीक्षणको लागि ३५ देखि ४० हजार खर्च भएको अधिकारीले बताए । उक्त परीक्षण गर्ने समयमा जाँच गर्ने व्यक्तिले लगाउने फुल पिपिई, प्रयोग हुने रिएजेन्ट, एक्स्ट्रयाक्सन मेसिनदेखि सबैको मुल्य आकाशिनुको साथसाथै एक जनाको मात्र परीक्षण भएको कारण पनि त्यस समयमा परीक्षण शुल्क निकै नै लागेको उनको भनाई छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाका अनुसार पनि एउटा मात्र व्यक्तिको पीसीआर परीक्षण गर्दा लाग्ने खर्चभन्दा धेरै जनाको एकैपटक गर्दा लाग्ने खर्च निकै सस्तो हुन्छ ।

पहिलो पटक तोकियो ६ हजार ५० रुपैैयाँ परीक्षण शुल्क

सरकारले पीसीआर परीक्षण शुल्कको विषयमा धेरै बहस भएपछि प्रथम पटक परीक्षण शुल्क ५ हजार ५ सय तोकेको थियो । त्यसमा १० प्रतिशत सेवा शुल्क जोडेर पीसीआर परीक्षण शुल्क ६ हजार ५० रुपैयाँ तोकेको थियो । सरकारले ६ हजार ५० रुपैयाँ शुल्क तोरिहँदा ६ लाख ६९ हजार ६ सय २६ पीसीआर परीक्षण गरेको थियो । यसरी हेर्दा सरकारले पीसीआर परीक्षणमा मात्र आइतबारसम्म ४ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।

यसमा निजी ल्याबहरुले हालसम्म गरेको पीसीआर परीक्षणको संख्या ५० हजारभन्दा केही बढि रहेको छ, जुन कुल परीक्षणको ०.७ प्रतिशत छ । निजी अस्पताल र ल्याबहरुले हालसम्म पीसीआर परीक्षणबाट मात्रै करिब ३० करोड रुपैयाँ आम्दानी गरेको देखिन्छ ।

भदौ १४ गतेदेखि परीक्षण शुल्क ४ हजार

सरकारले गएको आइतबार अर्थात भदौ १४ गतेदेखि लागू हुने गरी पीसीआरको नयाँ शुल्क तोकेको छ । सरकारले सेवा शुल्कसहित ४ हजार रुपैयाँभन्दा बढि लिन नपाउने र यदि आफ्नोमा परीक्षण नभएको र स्वाब संकलन गरेर पठाउनु परेको अवस्थामा ४ हजार ४ सय शुल्क तोकेको छ ।

यसरी हेर्दा पीसीआर परीक्षण शुल्क अहिले आएर २ हजार ५० रुपैंयाले कम भएको देखिन्छ ।

कसरी घट्यो शुल्क ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले महामारीको सुरुवात चरणमा आकाशिएको मूल्यहरु सबै बिस्तारै सामान्य हुँदै गएपछि शुल्कहरु घट्दै गएको बताए ।

‘बजारमा विस्तारै सामानहरु सजिलैसँग र सस्तो मूल्यमा उपलब्ध हुन थाले र हामीले पनि त्यसै अनुसार सबै खर्चको औषत निकालेर परीक्षणको मुल्य तोकेका हौं,’ उनले भने ।

‘पहिला २० हजार पर्ने पीपीई अहिले ८ हजार र अझै सस्तोमा पनि आउँछ, सबै शुल्कहरु यसरी कम भएकै कारण हामीले पनि शुल्कलाई कम गर्दै लगेका हौं,’ उनले थपे ।

तर, स्टार हस्पिटलका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन पीसीआरको मुल्य घट्नुको पछाडि निजी ल्याबहरुको हात भएको बताउँछन् ।

‘सरकारले सामानहरु मुल्य घटेर गएको कारण मुल्य घटाएका हौं भन्दै गर्दा यसमा निजी ल्याबको संलग्नता भएको हामीलाई लागेको छ । प्राइभेट ल्याबहरु कर्पोरेट व्यक्तिहरुलाई तार्गेट गर्ने नाममा शुल्कहरु कम गरे, ती कर्पोरेट क्लाइन्टहरु निजी अस्पतालमै मात्र सिमित भए । यसरी उनीहरुले कर्पोरेट क्लाइन्टहरु तान्न नसक्दा सरकार तर्फ उनीहरुको शुल्क कम गर्ने एक किसिमको सन्देश गयो जसकारण अन्तत सरकारले पीसीआर शुल्क घटाएर लगेको हो,’ महर्जनले भने ।

यसरी घटाएको शुल्कले आफुहरु जस्ता ठूलो लगानी गरेर ल्याब संचालनमा ल्याएका अस्पतालहरुको लागि भने त्यति राम्रो समाचार नभएको महर्जन बताउँछन् ।

‘एउटा घर लिएर ल्याब संचालन गर्ने ल्याबहरुको दाँजोमा हामीहरुलाई धेरै गाह्रो छ । परीक्षण विश्वासनीय बनाउनको लागि हामीले एउटा नमुनाको लागि एउटा मात्रै रिएजेन्ट प्रयोग गर्छौं, जसको मुल्य १५ सय देखि १८ सम्म रहेको छ । यहाँ यस्ता ल्याबहरु पनि छन्, जसले एउटै रिएजेन्टले ५ देखि ६ वटा परीक्षण गरिरहेका छन्, जसले गर्दा उनीहरुले कम शुल्कमा पीसीआर गराइरहेका छन्,’ महर्जनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.