बैंककाे घरकर्जा स्कीममा ग्राहकले चासो देखाएनन्, तरलता अधिक भएपछि बैंकर तनावमा

  २०७७ भदौ १२ गते १४:२७     सन्ताेष राेकाया

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ शुरु भएसँगै विभिन्न वाणिज्य बैंकहरुबीच सस्तो ब्याजदरमा घरकर्जा स्कीम ल्याउने प्रतिस्पर्धा शुरु भयो । यसअघि १५ प्रतिशतसम्म ब्याजदर भएको घरकर्जामा ‘क’ बर्गका अधिकांश वाणिज्य बैंकहरुले अहिले त्यसको ब्याजदर एकल अंकसम्म झारिसकेका छन् ।

वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले एनआईसी एशिया बैंकले चमत्कारिक कर्जा भनेर ८.२५ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने स्कीम सार्वजनिक गर्यो । त्यसपछि अन्य वाणिज्य बैंकहरुबीच पनि सस्तो ब्याजदरमा घरकर्जा स्कीम ल्याउने प्रतिस्पर्धा निकै बढ्याे ।

साउन महिनाभर सबै वाणिज्य बैंकहरुले आवश्यक डकुमेन्टसहित आवेदन परेको ४८ घण्टाभित्रै कर्जाको निर्णय गरिसक्ने पनि बताएका थिए ।

सस्तो व्याजदरसँगै बैंकहरुले ग्राहकका लागि अर्को पनि फाइदा दियो । यस वर्ष कर्जामा बैंकहरुले कम सेवा शुल्क लिने पनि बताएका थिए ।

नेपाल राष्ट्र बैंकले ०७७/७८ को मौद्रिक नीतिमा वाणिज्य बैंकले ०.७५ प्रतिशत, विकास बैंकले १ प्रतिशत, वित्त कम्पनीले १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले १.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरेपछि बैंक्हरुले पनि त्यही अनुसार आफ्नो घरकर्जा स्कीम ल्याएका थिए । जसको प्रत्यक्ष लाभ उपभोक्तालाई हुने देखिन्थ्यो ।

यसअघि वाणिज्य बैंकहरुले नै एकदेखि दुई प्रतिशतसम्म सेवा शुल्क लिँदै आइरहेका थिए । विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाले १ देखि ४ प्रतिशतसम्म सेवा शुल्क लिने गरेका थिए । अब सेवा शुल्क पनि कम तिर्नु परेपछि उपभोक्ताहरु घरकर्जा स्कीममा आकर्षित तथा झुम्मिन्छन् भन्ने अनुमान तथा आँकलन धेरैले गरेका थिए र त्यही अनुसारको प्रतिस्पर्धा बैंकहरुबीच पनि भयो ।

तर, अहिले त्यो अनुमान र जसरी बैंकहरुले स्कीम बिक्री हुन्छ भनेर सोचेका थिए । त्यो अनुरुपको प्रतिक्रिया र माग ग्राहकबाट नआएको स्वयमं बैंकरहरु बताउँछन् । चैत ११ गतेदेखि देशव्यावापी रुपमा भएको लकडाउन र अहिले विभिन्न जिल्लामा भइरहेको निषेधाज्ञाले ग्राहकलाई नयाँ कामको सुरुवात र कुनै पनि निर्णय तत्काल गर्न नसक्ने बनाएको छ ।

मानिसहरु अहिले घरकर्जा तथा अन्य कर्जा लिने भन्दा पनि कसरी ज्यान बचाउने भन्ने कुरामा चिन्तित छन् । यही समयमा मालपोत कार्यालयहरु पनि बन्द भएकोले पनि कुनै काराेबार हुन नसकेको बैंकर बताउँछन् ।

नविल बैंकका डेपुटी जनरल म्यानेजर (डीजीएम) मनोज ज्ञवालीले घरकर्जामा सबैले फोकस गरेको भएपनि माग धेरै नभएको बताए । अहिले निषेधाज्ञा भएको र मालपोत कार्यालयहरु बन्द भएको र कारोबारजन्य कामहरू नभएकोले घरकर्जा नगएको उनको भनाई छ ।

‘अहिले सबै बैंकहरुमा घरकर्जाको माग एकदमै कम छ, मानिसलाई कर्जा भन्दा पनि ज्यान बचाउनेको चिन्ता छ, हामीले सोचे जति माग छैन,’ उनले भने ।

नविल बैंकले पनि ७.९९ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने बताएको थियो । ‘अहिले बैंकहरुको कर्जा घटेको छ, सबैमा समस्या नै छ, साउन यता नविल बैंककको रिटेलमा ९० करोडको कर्जा प्रवाह भएको छ, सामान्य अवस्था भएको भए अहिलेसम्म ४ अर्ब रुपैयाँ कर्जा गइसक्थ्यो,’ उनले भने ।

यस्तै, पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबै खालका कर्जाको ब्याजदर १० प्रतिशतभन्दा तल झारेको छ । उपभोक्तालाई कम भन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने प्रतिस्पर्धामा राष्ट्रिय वाणिज्य बैंक अग्रपंक्तिमा आएको छ । कर्जा विस्तारमा आक्रमक ढंगले उत्रिएको यस बैंकले पनि ७.२५ प्रतिशत ब्याजदरमै घरकर्जा योजना ल्याएको थियो ।

तर यति सस्तोमा घरकर्जा ब्याजदर पाएर पनि उपभोक्ताहरुले त्यति चासो दिएका छैनन् । राष्ट्रिय वाणिज्य बैंकका नावय प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले अहिले विभिन्न शाखाहरुबाट कति घरकर्जा प्रवाह भयो भनेर यकिन तथ्यांक नआएको भएपनि बैंकिङ क्षेत्रमा कर्जाको माग कम भएको बताए ।

उनले राष्ट्रिय वाणिज्य बैंकले ल्याएको घरकर्जा स्कीममा ग्राहकको चासो भएपनि माग भने कम भएको बताए । उनका अनुसार दैनिक १० जनासम्म ग्राहक बैंकमा बुझ्न आउँछन् ।

‘राष्ट्रिय वाणिज्य बैंकमा ग्राहकबाट रेस्पोन्स राम्रै आइरहेको छ, अहिले मालपोत पनि बन्द नै छ, सबै काम ठप्प नै छन्, त्यसले पनि कर्जा प्रवाह हुन सकेन,’ उनले भने । अहिले सबैभन्दा कम बेसरेट राष्ट्रिय बाणिज्य बैंकको रहेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोभिड–१९ को संक्रमणबाट जोगिन सरकारले ११ चैतदेखि लकडाउन गरेसँगै कर्जाको माग सुस्ताएको थियो । अतिआवश्यक बाहेकका सेवाहरु सञ्चालन र हिँडडुलमा रोक लगाएपछि बैंकमा कर्जाको माग नभएपछि लगानीयोग्य रकम थुप्रिएको छ ।

सरकारले ११५ दिनपछि लकडाउन खोलेपछि बैंक तथा वित्तीय संस्थाहरु नयाँ रणनीति अपनाएर ग्राहकलाई कर्जा दिन प्रतिस्पर्धामा उत्रिएका थिए । त्यस लगत्तै बैंकहरुबीच कर्जाको स्कीमममा प्रतिस्पर्धा पनि चल्यो । तर, त्यसपछि पुनः काठमाडौ उपत्यका लगायतका धेरै जिल्लाहरुमा निषेधाज्ञा भएपछि पुनः बैंकबाट प्रवाह हुने कर्जा घटेको छ ।

कुनै समय लगानी गर्ने रकम नभएर छटपटाइरहेका बैंकहरु अहिले अधिक तरलता भएपछि कसरी लगानी गर्ने भन्ने चिन्तामा छन् । निक्षेप अनुसार ऋण लगानी नभएमा बैंकहरुको आम्दानी घट्दै जाने, सञ्चालन खर्च बढ्दै जाने र नाफामा प्रतिकुल असर पर्दै जाने गर्छ । राष्ट्र बैंकको अनुसार हाल बैंकिङ प्रणालीमा २ खर्ब २ अर्ब रुपैयाँ अधिक तरलता छ ।

असार मसान्तमा उठ्न नसकेको पैसा साउन लागेपछि बिस्तारै उठिरहेको थियो। तर, बिचमा अर्थात भदौ पहिलो सातादेखि निषेधाज्ञा भएपछि पुनः बैंकरहरु चिन्तामा परेका छन् । धेरै बैंकहरुले धेरै ठाउँमा बैंकका शाखाहरु पनि खोल्न पाएका छैनन् । अहिले बैंकरहरुलाई नै काेरोनाको जोखिम बढ्दै गएको छ ।

अहिले संक्रमित बढ्न थालेपछि मालपोत र यातायात कार्यालय बन्द भएर बैंकको ऋणको कारोबार पनि रोकिएको छ । नयाँ आर्थिक वर्ष लागेपछि वाणिज्य बैंकहरुको निक्षेप र ऋण दुवै घटेको छ। वाणिज्य बैंकको ऋण २५ अर्ब र निक्षेप ८ अर्ब रुपैयाँले घटेको छ ।

नेपाल बैंकर्स संघका अनुसार असार मसान्तमा बैंकहरुको कुल निक्षेप ३४ खर्ब ८७ अर्ब रुपैयाँ थियो। साउन ३० गते आउँदा निक्षेप ३४ खर्ब ७९ अर्बमा झरेको छ । यस्तै, ऋण पनि २९ खर्ब ३ अर्बबाट घटेर २८ खर्ब ७८ अर्बमा सीमित भएको छ । यसले पनि बैंकको कारोबार घट्दै गएको बुझ्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको घरजग्गामा कुल लगानी ४ खर्ब १६ अर्ब २ करोड २८ लाख रहेको छ । जसमध्ये व्यक्तिगत आवासीय कर्जातर्फ २ खर्ब ५२ अर्ब ५४ करोड रुपैयाँ र रियलस्टेटतर्फ १ खर्ब ६३ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गामा ३१ अर्ब ७ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् जबकी अघिल्लो वर्ष बैंकहरुको घरजग्गामा लगानी ४१ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा घरजग्गामा बैंकको लगानी १० अर्ब ३१ करोड ६८ लाख रुपैयाँले कमी आएको छ ।

यस वर्ष भने बैंकले घर कर्जाको ब्याजदर घटाएका छन् । बैंकरले पनि धेरै कर्जाको माग हुने अपेक्षा गरेका थिए । तर, अझै कोरोनाको यस्तै प्रभाव रहे बैंक तथा वित्तीय संस्थाको लगानी घरकर्जामा मात्र होइन सबै क्षेत्रमा संकुचन आउने बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.