घरजग्गा बेच्ने भेटिन्छन् ग्राहक भेटिँदैनन्, बैंकले लगानी पनि घटाए

  २०७७ भदौ ९ गते १३:१४     सन्ताेष राेकाया

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न विभिन्न समयको लकडाउनले घरजग्गा कारोबारलाई पनि असर गरेको छ । वर्षभरी उलेख्य मात्रामा हुने घर जग्गा कारोबार गत वर्ष र चालु आवको पहिलो महिनामा भने कमै देखिएकाे हाे ।

आजभोलि घरजग्गा बिक्री गर्न खोज्नेहरु भेटिए पनि खरिद गर्न चाहनेको संख्या भने न्यून देखिएकाे छ । अहिले सामाजिक सञ्जालमा घरजग्गा सम्बन्धि कारोबारका लागि विभिन्न पेजहरु तयार गरेर घरजग्गा कारोबार गराउन खोज्नेको संख्या बढेको छ । तर, ग्राहक भने खासै नभएको घरजग्गा कारोबार तथा किनबेच गराउने गर्ने व्यवसायीहरू बताउँछन्र ।

चालु आर्थिक वर्ष ०७७/७८ को पहिलो महिना साउनमा देशभर घरजग्गाको किनबेच २२ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

विभागका अनुसार साउन महिनाभरी देशभर ३७ हजार ९ सय ७० घरजग्गा किनबेच भएका छन् जबकी गत वर्षको सोही महिनामा ४८ हजार ६ सय ११ घरजग्गा किनबेच भएका थिए ।

विभागको तथ्यांकले चालु आर्थिक वर्षमा पनि यही हिसावले घरजग्गा किनबेच न्यून हुने संकेत देखाउँछ । साउन महिनामा मात्रै काठमाडौं उपत्यकामा ४ हजार ४ सय ७२ घरजग्गा किनबेच भएका छन् । गत वर्षको साउनमा काठमाडौं उपत्यकामा ७ हजार ३ सय ३९ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ ।

बैंकको लगानीमा पनि कमि

घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा पनि कमि आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक प्रतिवेदनका अनुसार गत वर्ष घरजग्गामा बैंकको लगानी न्यून देखिएको हो ।

राष्ट्र बैंकको तथ्यांक् अनुसार गत आर्थिक वर्ष ०७६/ ७७ मा घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरुको लगानी २५ प्रतिशतले घटेको छ ।
गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गामा ३१ अर्ब ७ करोड रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७५/७६ र्मा बैंकहरुको घरजग्गामा ४१ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा घरजग्गामा बैंकको लगानी १० अर्ब ३१ करोड रुपैयाँले कमी आएको हो ।

गत वर्ष प्रवाह भएको कर्जामध्ये व्यक्तिगत आवासीय कर्जातर्फ १४ अर्ब ५८ करोड रुपैयाँ र रियलस्टेट कर्जातर्फ १६ करोड ४९ करोड रुपैयाँ प्रवाह भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको कारण घरजग्गा लगानीमा संकुचन आएकाे राष्ट्र बैंकले बताएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कोरोना भाइरसको कारण सबै क्षेत्रमा कर्जा प्रवाह कम भएको बताएका छन् । नयाँ ऋणी बैंकमा नआएको र घरजग्गा मात्र नभई समग्र क्षेत्रमा कर्जा लगानी कम देखिएको उनको भनाई छ ।

‘कोरोनाको कारण ग्राहक पयिन घरभित्र्रै रहे, धेरै ठाउँमा मालपोत कार्यालय पनि बन्द भए, त्यसैले लगानी कम देखिएको हो,’ उनले भने ।

चालु आर्थिक वर्षको पहिलो महिनामा बैक तथा वित्तीय संस्थाहरुको घर कर्जा लगानी पनि न्यून देखिएकाे छ ।  सम्पूर्ण मालपोत कार्यालयहरु बन्द भएपछि बैंकहरुले घर कर्जा लगायतका कर्जा प्रवाह गर्न पाएका छैनन् भने ग्राहकले पनि उपभोग गर्न पाएका छैनन् ।

बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षमा ६५.७  प्रतिशत लगानी घर जग्गामा गरेका छन् । नेपाल राष्ट्र बैंकले सोबमबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७६/७७ मा ६५.७ प्रतिशत कर्जा प्रवाह घर जग्गामा गरेका हुन् ।

२०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७६ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.५ प्रतिशत रहेको थियो ।

नयाँ कर्जा माग नआएको र प्रवाह भएको केही कर्जा असुली भएपछि लगानीमा रहेको कर्जा पनि घटेको राष्ट्र बैंकले जनाएकाे छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तमा बैंकहरूको कुल लगानीमा रहेको कर्जा २८ खर्ब ७८ अर्ब रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.