देशका विभिन्न स्थानमा रगतको अभावः रक्तदानको लागि अनुरोध

  २०७७ भदौ ६ गते १५:२१     विकासन्युज

काठमाडाैं । देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाे छ । बन्दाबन्दी र निषेधाज्ञाको कारण रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा रगतकाे अभाव भएकाे हाे ।

केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार आज शनिवारको लागि बुक गरिएका क्याम्पहरु सबै स्थगित भएका छन् । उनका अनुसार बिहिबार ३२ जना दाताहरुले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत गर्न सकिएको तर थप ६१ जना रित्तोहात फर्किनुपरेको थियो । हिजो शुक्रबार २६ जनालाई फर्काउनुपरेको थियो । दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेशन गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

केन्द्रमात्र होइन् धरान, विराटनगर, चितवन लगायतका स्थानमा पनि रगत अभाव भइरहेकोे नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । ती क्षेत्रका अधिकांश भागमा निशेधाज्ञा छ र वरिपरिका जिल्लाहरुबाट पहिलाजस्तो सहयोग हुनसक्ने परिस्थिति नरहेकाे तर नेपालगञ्जमा भने तुलनात्मक सहज देखिएको उनी बताउँछन् ।

रगत नपाए भक्तपुर जानु भन्ने अभियान सञ्चालन गरेको भक्तपुर केन्द्रले विगतको लकडाउनमा पर्याप्त रक्तसंकलन गरेपनि विगत १३ देखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँपनि अहिले रगतको स्टक समस्यामा परेको छ । तर स्थानीय प्रशासन र पालिकाको सहमति लिई आज शनिवार विहान सुडालमा क्याम्प आयोजना गरिएको र त्यहाँ २ महिला र २४ पुरुषले रक्तदान गरिसकेकाे र अर्को एक स्थानमा रक्तदान शिविर चलिरहेको शाखाका मन्त्री परशुराम पाण्डेले जानकारी दिएका छन् ।

रगतको माग भइरहेकोले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरुले सानो समूहमा भएपनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने निर्देशक पौडेलले बताए । उनले भने, ‘नियमित रक्तदाता तथा यूवाहरुले नजीकका केन्द्रहरुमा गई रक्तदान गर्नसक्दछन् । विरामीको रक्तसमूहसंग मिल्ने साथीभाई, इष्टमित्रहरुसँग पहिल्यै सोधखोज, उत्प्रेरणा तथा अनुरोध गरेमा कुरुवा र आफन्तजनलाई पनि सजिलो हुनेछ ।’

सुरक्षित तवरले रक्तदान गर्दा गराउदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संघले यस अघि नै स्पष्ट पारिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.