विश्लेषणः लिवर्टी ईनर्जीको आईपीओ भर्नु कत्तिको उपयुक्त ? यस्तो छ कम्पनीको अवस्था

  २०७७ भदौ २ गते १५:५२     मञ्जरी पाैडेल

काठमाडाैं । नेपाली निजी क्षेत्रका उद्यमीहरु मिलेर कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना गरिएकाे कम्पनी हो, लिवर्टी ईनर्जी कम्पनी लिमिटेड । २०६६ साल मंसिर १५ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यस कम्पनी २०७२ साल चैत १५ गतेदेखि पब्लिक कम्पनीमा परिणत भई कारोबार सञ्चालन गर्दै आएको छ ।

कम्पनीको मुख्य उद्देश्य भनेको नेपालमा रहेको जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी संभाव्यता अध्ययन, निर्माण र संचालन गर्नु हो । जसको कारोबार गर्ने मुख्य स्थान लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिका वडा नं ६ मा रहेको छ ।

पब्लिक कम्पनीमा परिणत भएको ४ वर्षको दौरानमा कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणको लागि सेयर जारी गरेको छ । कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात ३७ लाख ५० हजार कित्ता सेयर स्थानीय बासिन्दा तथा सर्वसाधारणमा जारी गरेकाे हाे । जसमध्ये स्थानीय बासिन्दाका लागि १५ लाख किता सेयर निष्काशन गरी बाँकी रहेको १३ लाख १५ हजार ९ सय ३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेकाे हाे । जसमा सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुलाई छुट्याएको सेयर समेत सामावेश भएको कम्पनीले जनाएको छ ।

कम्पनीले भदौ ३ गतेदेखि ३५ करोड ६४ लाख रुपैयाँ बराबरको एक सय अंकित दरका ३५ लाख ६४ हजार कित्ता सेयरसाधारण सेयर(आईपीओ) सर्वसाधारणमा बिक्री गर्दै छ ।

सेयर जारी गर्नुको उद्देश्य

पहिलो, सर्वसाधारणमा सेयर जारी गरेर लगानीकर्ताहरुलाई लगानीको अवसर दिनु नै कम्पनीको मुख्य उद्देश्य रहेको छ । दोश्रो, कम्पनीबाट निर्माणका लागि अगाडी सारिएका आयोजना माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना निर्माण सम्पन्न हुने क्रममा रहेको छ । उक्त आयोजना यस कम्पनीको निर्माणाधिन मुख्य आयोजना भएकोले साेलाई सम्पन्न गर्न पुँजीको आवश्यकता भएकोले कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेको हो ।

यस बाहेक बडिगाड खोला जलविद्युत आयोजना र लोदो खोला साना जलविद्युत आयोजनाको सर्वेक्षण लगायतका सम्बन्धित निकायहरुबाट लिनुपर्ने अनुमतिहरु लिने कार्य भईरहेकोले सो आयोजनाहरुको लागि समेत कम्पनीबाट लगानी गर्न सकिने कम्पनीको उद्देश्य रहेको छ ।

कम्पनीले निष्काशन गर्न लागेको उक्त सेयरमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते(बैंकिङ समयसम्म) हुने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

हाल कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी एक अर्ब १२ करोड ५० लाख रूपैयाँ रहेको छ । उक्त आईपीओ बाँडफाँड पश्चात कम्पनीकाे चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । हाल यस कम्पनीमा ५५६ जना संस्थापक सेयरधनीहरु रहेका छन् । सबै संस्थापक सेयरधनीहरु विद्युत, बैंक/वित्तीय क्षेत्र,स्वास्थ्य, कृषि, पर्यटन, बीमा तथा शैक्षिक क्षेत्र एवं व्यापार/व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् ।

यस कम्पनीले हाल निर्माण गरिरहेको २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भएको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८ प्रतिशत सम्पन्न भई आगामी कार्तिक मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । विश्वव्यापी रुपमा कोरोना भाईरस महामारीको कारणले गर्दा विदेशबाट समयमै बाँकी केहि उपकरणहरु तथा प्राविधिकहरु आयोजना निर्माण स्थलमा ल्याउन कठिनाई भएकोले यस आयोजनाको साविकको विद्युत उत्पादन गर्नुपर्ने मिति २०७६ चैत्र मसान्तमा विद्युत उत्पादन सम्भव नभई आयोजनाको व्यापारिक उत्पादन गर्नुपर्ने मिति आगामी कार्तिक मसान्तसम्म थप गरिने भएको छ ।

यस आयोजनाको पानीको श्राेत  दोर्दी खोला हिमनदी भएको र उपलब्ध पानी सिंचाई लगायत अन्य प्रयोजनमा प्रयोग नहुने भएकोले बहाव राम्रो रहेको कम्पनीले जनाएकाे छ । साथै आयोजनामा युरोपियन उत्पादकको इलेक्ट्रोमेकानिकल उपकरण प्रयोग तथा पावर हाउस सँगै रहेको सव-स्टेशनमा उत्पादित विद्युत जोडिने भएकोले प्रशारण नोक्सानी नहुने लगायतका कारणले यस आयोजना आकर्षक रहेको छ ।

यस कम्पनीले उल्लेखित आयोजना बाहेक बाग्लुङ जिल्लामा २४.६ मे.वा. क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङ जिल्लामै १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको समेत सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी आवश्यक सर्भेक्षण कार्य गरिरहेको छ ।

आर्थिक वर्ष २०७५/७६मा कम्पनीको प्रतिसेयर आम्दानी नरहेको कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ५.७४ रुपैयाँ रहने छ । जुन वार्षिक रुपमा बढेर आर्थिक वर्ष २०७८/७९मा १३.०५ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, सो अवधिमा प्रतिसेयर नेटवर्थ पनि बढेर एक सय २९ रुपैयाँ पुग्ने छ कम्पनीको प्रक्षेपण रहेको छ ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ८ करोड ६० लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरेको छ । जुन बढेर आगामी दुई आवमा ४३ करोड ६७ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको बुझाउँछ ।

सेयर पूर्णरुपमा बिक्री नभएमा

कम्पनीले आफ्नो विवरणपत्रबाट निष्काशित सेयरहरु स्थानिय बासिन्दाहरुबाट माग बमोजिम दरखास्त प्राप्त नभई बाँकी रहेको सेयर सर्वसाधारणमा थप गरी निष्काशन गरेको छ । त्यसैगरी सर्वसाधारणहरुबाट माग बमोजिम दरखास्त प्राप्त नभई सेयर बाँकी रहन गएमा निष्काशित रकम ३७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गर्न प्रत्याभूती गरि सकिएको छ ।

सेयर खरिद गर्न काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटललाई प्रत्याभूतीकर्तामा नियुक्त गरिएको छ । यस क्यापिटलबाट स्थानीय वासिन्दा तथा सर्वसाधारणहरु समेत गरी ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता सेयर प्रत्याभुती गरिएको छ ।
कुल प्रत्याभुती सेयरहरुको लागि प्रत्याभुति शुल्कको पचास प्रतिशतले हुन आउने १८ लाख ७५ हजार रुपैयाँ सम्झौता भएको ३० दिनभित्र भुक्तानी गरिएको छ । बाँकी रकम विवरणपत्र स्वीकृत भएको ७ दिन भित्र भुक्तानी गरिनेछ ।

आईपीओबाट उठेको रकम कम्पनीले कुन क्षेत्रमा कसरी प्रयोग गर्छ ?

कम्पनीले आईपीओबाट ३७ करोड ५० लाख रुपैयाँ उठाउने छ । जसमध्ये २० कराेड रूपैयाँ नेपाल इन्भेषटमेन्ट बैंकबाट लिएकाे लाेन भुक्तानी गर्ने छ भने बाँकी रहेकाे १७  कराेड ५० लाख रूपैयाँ माथिल्लाे दाेर्दी ए जलविद्युत आयाेजनाकाे लागि भएकाे निर्माण खर्च भुक्तानी गर्ने कम्पनीले जनाएकाे छ ।

यस्ता छन् जोखिमहरूः

वित्तीय साधनको अभावबाट सञ्चालन एवं नियमित भुक्तानीमा असर पर्न सक्ने, कच्चा पदार्थको अभावबाट जलश्रोतको मुहानमा वातावरणको कारण अप्रत्याशित रुपमा परिवर्तन भई पानीको श्रोत घट्न गएमा उत्पादन क्षमता घट्न सक्ने जोखिम रहेको छ। अनुमति वा इजाजत प्राप्त गर्दा ढिलाई हुन गएमा नयाँ आयोजना निर्माण कार्यमा ढिलाई हुन सक्ने, अन्तर्राष्ट्रिय बजारमा हुने आर्थिक मन्दीबाट सेयर बजारमा असर परेमा सेयर मूल्यमा असर पर्न सक्ने छ ।

नेपाल सरकारको जलविद्युत सम्बन्धी आर्थिक तथा वित्तीय नीति नियममा हुने परिवर्तनबाट र कर, भन्सार आदि सम्बन्धी व्यवस्थामा परिर्वतन भएमा जोखिम श्रृजना हुन सक्ने छ । जलविद्युत आयोजना निर्माणको लागी आवश्यक टर्वाइन,पेनस्टक, जेनेरेटर लगायतका विभिन्न उपकरणमा आउने परिवर्तन तथा नयाँ प्रविधिबाट विद्युत उपकरणहरु फेजआउट भएमा जोखिम रहने छ ।

दैबि प्रकोप तथा काबु बाहिरको परिस्थीति उत्पन्न भै आयोजनामा कुनै प्राकृतिक क्षति भएमा आयोजनाको लागत बढ्न सक्ने जोखिम रहेको छ । देशको राजनैतिक अस्थिरताबाट, पुँजी बजारको अवस्थामा आउने उतार चढावबाट र बैंक ब्याजदरमा हुने परिवर्तनका कारणले हुन सक्ने सम्भावित बित्तिय जोखिम हुन सक्ने छ ।

हालसम्म आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको तथा नेपाल विद्युत प्राधिकरणले उत्पादित विद्युत प्रशारण गर्न आवश्यक सब-स्टेशन तथा प्रशारण लाइन निर्माण गरिरहेकोले मूल्य अभिवृद्धि(कष्ट ओभररन) को जोखिम नरहेको कम्पनीले जनाएको छ ।

सम्भावित जोखिमलाई व्यवस्थापनले कसरी न्यूनीकरण गर्छ ?

उर्जाका लागि जलविद्युतको आवश्यकता र महत्व कहिल्यै कम नहुने हुँदा जलविद्युतको लगानीमा न्यून जोखिम रहको व्यवस्थापनको धारणा रहेको छ । साथै उर्जा विभिन्न श्रोतबाट प्राप्त गर्न सकिन्छ । जस्तैः सौर्य शक्ति, डिजेल, कोइला, जलश्रोत इत्यादी । यस मध्ये पानीबाट उत्पादन हुने जलविद्युत नविकरणीय उर्जा भएकोले जलविद्युत आयोजनाहरुले वातावरणमा नकारात्मक प्रभाव पार्दैन । त्यसकारण उर्जाका अन्य श्रोतहरु भन्दा पानीबाट उत्पादन हुने जलविद्युतले वातावरणीय हानी नहुने र यसको लागत अन्य उर्जा भन्दा तुलनात्मक रुपमा कम रहने हुँदा अन्य श्रोतबाट उत्पादन हुने बिद्युत भन्दा पानीबाट उत्पादन हुने जलविद्युत आयोजनाहरुमा जोखिम नरहेको व्यवस्थापनले जनाएकाे छ ।

साथै, सम्भावित जोखिमहरुलाई न्यूनीकरण गर्न उपकरणहरुको ह्रास खर्चको व्यवस्थाको साथै केन्द्र र आयोजनाका आवश्यक संरचना, मेसिन, औजार र उपकरणहरुको जोखिमलाई न्यूनीकरण गर्नका लागि आयोजनाको आवश्यक संरचनाको हकमा विभिन्न इन्स्योरेन्स कम्पनीहरुबाट माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना अन्तर्गत सम्भावित जोखिमहरुलाई न्यूनिकरण गर्न यस कम्पनीले बीमा गरेको छ । केही जाेखिम भएमा कम्पनीले उक्त बीमाबाट बेहाेर्ने छ ।

सञ्चालक समितिमा को को छन् ?

हाल कम्पनीको सञ्चालक समितिमा ५ जना रहेका छन् । अध्यक्षमा कुशकुमार जोशी, प्रबन्ध सञ्चालकमा आत्माराम घिमिरे, सञ्चालकमा शुसिल थापा, राम बहादुर पाण्डे र राजेन्द्र वस्ती रहेका छन् ।

बिई अध्ययन गरेका अध्यक्ष जोशी उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष हुन् । संखुवासभाका उनी हिमालयन बेम्बो प्रा.लि, भेरी इनर्जी कम्पनी र इनर्जी इन्जिनियरिङ्ग कम्पनीका अध्यक्ष र नेपाल इकरात इन्जिनियरिङका प्रवन्ध संचालक समेत हुन् ।

व्यवस्थापकीय टीम

हाल कम्पनीको म्यानेजमेन्ट (व्यवस्थापकीय) टीममा प्रबन्ध संचालक डां आत्माराम घिमिरे, प्रमुख कार्यकारी इन्जिनियर विष्णु बहादुर सिंह र उप महाप्रबन्धक ध्रुव कुमार श्रेष्ठ गरी तीन जना रहेका छन् ।

प्रबन्ध संचालक डां घिमिरेले कम्पनी सञ्चालनको सम्पूर्ण प्रशासनिक कार्य तथा आयोजना निर्माण सम्बन्धि सम्पूर्ण जिम्मेवारी सम्हालेका छन् । प्रमुख कार्यकारी इन्जिनियर सिंहले आयोजनाको सम्पूर्ण प्राविधिक विषय तथा आयोजना निर्माण संयोजन गर्ने जिम्मेवारी पाएका छन् । त्यस्तै, कम्पनीको सम्पूर्ण वित्तीय कारोबारको लेखा उप महाप्रबन्ध श्रेष्ठले राख्ने छन् ।

कसको सेयर स्वामित्व कति ?

कम्पनीमा व्यवस्थापकीय टीमको कूल ८ लाख ७० हजार ८ सय कित्ता सेयर स्वामित्व रहेको छ । जसमा प्रबन्ध संचालकको ८ लाख, प्रमुख कार्यकारी इन्जिनियर सिंहको २० हजार र उप महाप्रबन्ध श्रेष्ठको ५० हजार ८ सय कित्ता सेयर रहेको छ ।

त्यस्तै, संचालक समितितर्फ अध्यक्ष जोशीको ४ लाख ८७ हजार ३ सय ७५ कित्ता सेयर स्वामित्व रहेको छ । संचालक शुसिल थापाको ४ लाख ३९ हजार कित्ता, रामबहादुर पाण्डेको ३ लाख र राजेन्द्र वस्तीको २ लाख २५ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

त्यस्तै, संस्थापक कुमार केशर विष्टको ४ लाख ७० हजार, सिता पाण्डेको २ लाख, शोभा देवी पराजुलीको २ लाख ३५ हजार, ईश्वरी प्रसाद रिमालको एक लाख ८८ हजार, संस्थापक आईक्यापिटलको एक लाख ६० हजार, टंक प्रसाद गैरेको एक लाख ५५ हजार ८ सय, हरि प्रसाद भट्टको २ लाख ९ हजार ५ सय ४५ कित्ता, जीवन कुमारी अर्यालको एक लाख ५० हजार कित्ता, सञ्जय प्यारा श्रेष्ठ र पंकज चन्द्र श्रेष्ठको एक लाख ५५ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

One comment on "विश्लेषणः लिवर्टी ईनर्जीको आईपीओ भर्नु कत्तिको उपयुक्त ? यस्तो छ कम्पनीको अवस्था"

  • share says:

    कुश कुमार जोशी यानी पुर्बाधार बिकास कम्पनी को अध्यक्ष । जनता को पैसा सबै खाने ब्याक्ती।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.