आर्थिक तनावमा निम्न व्यापारी, भन्छन्ः बच्चा पालौं कि कोठा भाडा तिरौं

  २०७७ साउन २६ गते १६:१९     सन्ताेष राेकाया

काठमाडौं । नेपालमा कोरोना प्रवेश गरेको ७ महिना बितिसकेको छ । कोरोना संक्रमण दर बढेको भन्दै नेपाल सरकारले करिब ४ महिना देशव्यापी लकडाउन गर्यो । लकडाउनको बीचमा कोरोना संक्रमण दर केही मात्रामा कम भएको जस्तो भएपनि पुनः त्यसले आफ्नो रफ्तार लिइरहेको छ ।

दिनप्रतिदिन कोरोना संक्रमण दर बढ्दा सरकारले आम सर्वसाधारण मानिसहरुलाई हिडडुलमा कडाई गर्ने र सरकारी निकायले प्रदान गर्ने सुविधामा पनि व्यापक कटौती गरिरहेको छ । अझै बजार ठप्प हुने अवस्था आउन सक्ने धेरैले अनुमान गरिरहेका छन् । यसको ठूलाे मारमा निम्न व्यापारीहरु पनि परेका छन् ।

काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा अर्थात महानगरपालिकाले तय गरेको ठाउँमा बसेर सानो तिनो व्यापार/व्यवसाय गर्दै आएका उनीहरु अहिले ठूलो आर्थिक तनावमा परेका छन् । लामो समयदेखि गर्दै आएको व्यापार व्यवसाय बन्द गर्नु परेपछि उनीहरुले अहिले घर परिवार कसरी पाल्ने र आफु बसेको कोठाको भाडा कसरी तिर्ने भन्ने समस्यामा छन् ।

विगत ५/६ महिनादेखि बन्द गर्नु परेको व्यवसायबाट एक पैसा पनि आम्दानी नभएपछि अब घर भाडा कसरी तिर्ने भन्ने चिन्ता उनीहरुलाई पर्दै गएको छ । यो तनावले मानसिक समस्या पो उत्पन्न गर्नेे होकि भन्ने चिन्ता पनि उनीहरुमा छ ।

यस्तै, दिनप्रतिदिन समस्या थपिँदै गएकाे छ काठमाडौंको नयाँ बसपार्क नजिकै महानगरपालिकाले दिएको जग्गामा व्यापार गर्दै आएका घनश्याम सुवेदीलाई ।

सुवेदी स्वयमं उपत्यका निम्न व्यापारी संघका अध्यक्ष हुन् । तर, तिनै अध्यक्ष सुवेदीलाई अहिले ठूलो आर्थिक समस्या भएको छ । अहिले उनलाई बच्चाहरुलाई कसरी पाल्ने र आफु बस्दै आको कोठाको भाडा कसरी तिर्ने भन्ने चिन्ताले पिरोली रहेकाे छ ।

उनी भन्छन्, ‘सानो तिनो व्यापार गरेरै घर परिवार पाल्ने र कोठा भाडा तिर्न ठीक्क हुन्थ्यो, अहिले व्यापार बन्द हुँदा समस्या दिनप्रतिदिन थुप्रिँदै गएका छन्, अब के गर्ने, कसरी बाँच्ने ?’

सरकारले छुट दिनु भनेको भाडा छुट पनि घरवेटीले नदिएको उनको भनाई छ । ठूला उद्योगी व्यापारीको त पैसा जम्मा पनि होला, त्यति समस्या हुन्नँ होला, हामी निम्न व्यापारीलाई अहिले ठूलो समस्या छ, हाम्रा कुरा कसले सुनिदिने, कसलाई गुहार्ने उनी प्रश्न गर्छन् ।

‘पहिले सामान्य अवस्थामा न्यूनतम मासिक ३० हजार रुपैयाँको आम्दानी हुन्थ्यो, अहिले आम्दानी पनि छैन, निम्न व्यापारीहरुलाई दिनप्रतिदिन समस्याको चाङ भइरहेको छ,’ उनले भने ।

अहिले धेरै निम्न व्यापारीहरु काठमाडौंमा कोठा भाडा तिर्न नसकेर आफ्नो घर फर्किसकेका उनको भनाई छ । नगरपालिलकालाई पैसा तिर्नु पर्ने हुन्छ, घरवेटीलाई भाडा तिर्नु पर्छ, अहिले नै समस्या माथि समस्या थुप्रिरहेको निम्न व्यापारीहरुको भनाई छ ।

यस्तै, संघका महासचिव पुष्पलाल आचार्यले पनि धेरै व्यापारीहरु काठमाडौंमा कोठा भाडा लिएर बसेको हुनाले उनीहरुलाई भाडा तिर्ने कि परिवार पाल्ने भन्ने चिन्ता बढिरहेको बताए ।

‘धेरैले आफ्नो पसलमा कर्मचारी पनि राखेका हुन्छन्, पसलमा काम गर्ने कर्मचारीको तलबको विषय पनि त्यस्तै अवस्था छ, पसलमा भएको सामान पनि कुहिने अवस्था भइसक्यो, कसरी आफु बाँच्ने, कसरी परिवार पाल्ने ?’ उनी प्रश्न गर्छन् ।

‘घरधनीले घरभाडा चाहियो भनेर फोन गरिसकेका छन्, भाडा पनि मासिक तिर्नु पर्ने,  व्यापार भएको भए केही समस्या हुने थिएन’, आचार्य भने ।

यही समयमा घरवेटीहरुले भाडा चाहियो भनेर फोन गर्ने, दिनको ३/४ पटक कोठामा आउने गरेको उनीहरुले गुनासो गरेका छन् । लकडाउनपछि उनीहरुले केही दिन बजार खोले पनि ग्राहक नआएपछि पुनः बन्द गरेका छन् ।

उनीहरुले हाल कोरोना भाइरसको संक्रमण दर तीव्र फैलिएको भन्दै उपत्यका निम्न व्यापारी संघले अर्को सूचना जारी नभएसम्मका लागि बजार बन्द गरिएको जानकारी गराएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.